ताजा अपडेट »

लोकल कुखुरा र कालिजको स्वादसहित तिनाउमा ‘पानस वाइल्ड लाइफ एण्ड रिसोर्ट’

सोमबार, १९ पुस २०७८, १८ : ३३
32 Shares

बुटवल । पश्चिम पाल्पाको पर्यटकीय स्थल तिनाउ–१ झिगामारामा आन्तरिक पर्यटक लक्षित पानस वाइल्ड लाइफ एण्ड रिसोर्ट सञ्चालनमा आएको छ । रुपन्देहीका युवा व्यवसायी कृष्ण गौतमले काजिल फार्मसँगै रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।

विगत १० वर्षदेखि कृषि क्षेत्रमा काम गर्दै आएका उनले कृषिलाई व्यवसायीकरण गर्ने उद्देश्यले आफ्नो उत्पादन आफैले खपत गरी आर्थिक समृद्धिमा लाग्ने सोचका साथ रिसोर्ट सञ्चालनमा ल्याएको बताए । गाउँमै २ हजार बढी कालिज पालेर बसेका उनले ७ बेडका फरक–फरक रुमसहित ५० जना क्षमताको मिनिहल, रेष्टुरेण्ट तथा बारसहितको रिसोर्ट सञ्चालनमा ल्याएका छन् । २ करोड बढीको लगानीमा सञ्चालनमा ल्याइएको रिसोर्टमा गाउँघरमै उत्पादन भएका परिकारहरु, कालिज तथा लोकल कुखुराका परिकारहरु पउपब्ध हुने उनले बताए ।

करिब ७० रोपनी क्षेत्रफलमा कालिज फार्मसहित रिसोर्ट सञ्चालनामा ल्याएका गौतमले शहरको कोलाहलबाट शान्त तथा स्वच्छ वातावरणमा बस्न चाहने पर्यटकहरुलाई यसले आकर्षण गर्ने विश्वास व्यक्त गरे । पुर्व–पश्चिम लोकमार्ग अन्तरगत रुपन्देर्हको सैनामैना–२ रानिबगियाबाट उत्तरतर्फ ९ किलोमिटर उकालो चढेपछि हरियाली जँगलको बीचमा तराईको मनोरम वातावरण नाङ्गो आखाले अवलोकन गर्न आउने पर्यटकहरुलाई मिठो आतिथ्यताका लागि रिसोर्ट तयार पारिएको उनले बताउँछन् ।

छोटो दुरीमै चुरे पहाडमा अवस्थित यस ठाउँबाट मौसम सफा रहेको समयमा दक्षिणतर्फ विश्वको शान्ति केन्द्र लुम्बिनीसम्मको दृश्य तथा उत्तरतर्फ अग्ला पहाडी महाभारत अवलोकन गर्न पाइने भएकाले एक पटक आउनै पर्ने ठाउँ रहेको उनको सुझाब छ । रुपन्देहीको सैनामैनामा विगत १० वर्षदेखि कुखुरा पालन तथा कृषि फर्म सञ्चालन गर्दै आएका उनले भर्जिन ल्याण्ड र मनोरम वातावरणको खोजि गर्दै जाँदा पाल्पाको झिगामारा उत्तम लागेपछि सोही ठाउँमा यसअघि नै कुखुरा फार्म सञ्चालनमा ल्याई अण्डा तथा चल्ला उत्पादन गर्दै आएका छन् । रुपन्देहीमा रहेर सुरुमा करिब २० लाख ऋणबाट कृषिमा लगानी गरेका उनले हाल करोडौंको रिसोर्ट सञ्चालन गर्न सफल भएको उदाहरण पेस गर्दै कृषिमा सम्भावना रहेको उल्लेख गर्छन् ।

गौतमसँगै उनका मामा मोति न्यौपानेले पनि रिसोर्ट सञ्चालनमा साथ दिएका छन् । दुई जनाको लगानी रहेको रिसोर्टलाई पर्यटक तथा ग्राहकको माग र आवश्यकता अनुसार थप सुविधा सम्पन्न र स्तरोन्नती गरेर लैजाने योजना बनाएका छन् । राजमार्गबाट छोटोर दुरीमा भएपनि कच्चि सडकका कारण पर्यटकहरुलाई रिसोर्टसम्म पुग्न समस्या हुने भएका कारण वर्षा याममा समस्या हुने उनीहरुको चिन्ता छ । सडकको स्तरोन्नती भएको अवस्थामा पर्यटकहरुको मागलाई उक्त रिसोर्टले ठेग्न नसक्नेहुँदा थप रिसोर्टहरु सञ्चालन गर्नु पर्ने अवस्था आउने उनको आँकलन छ ।

हाल ३ जना कर्मचारी राखेर सञ्चालन गरिएको रिसोर्ट आगामी माघ ८ गते औपचारिक रुपमा सुरुवात भएपछि भने एक दर्जन बढीले प्रत्येक्ष रोजगारी पाउने गौतमले बताए । गाउँका उत्पादनहरुले समेत रिसार्ट सञ्चालनसँगै बजार पाउने उनले उल्लेख गरे । रिसोर्टको औपचारिक शुभारम्भका लागि गार्डेन सजावट, पार्किङ निर्माण, फिल्ड सजावट, लाइटिङ लगायतका काम भैरहेको सञ्चालक गौतमले बताए ।

‘व्यवसायीक व्यस्तता तथा कार्यालयको कामले थकित भएका कर्मचारीहरुलाई शान्त र स्वच्छ वातावरणमा बसेर रिफ्रेस हुने चाहनालाई यो रिसोर्टले पूरा गर्ने छ ।’–गौतमले भने, पारिवारीक बसाई तथा साथीभाईसँग तराई छोडेर छोटो दुरीमै पहाडको मजा लिन आउनेहरुका लागि आधुनिक परिकार मात्रै होइन परम्परागत र साँस्कृतिक खानाका परिकारहरुको स्वादमा सेवा उपलब्ध गराइने उनले बताए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।