ताजा अपडेट »

माओवादीको विधान सर्वसम्मतिले पारित, १५ पदाधिकारीसहित २९९ सदस्यीय समिति

शनिबार, १७ पुस २०७८, १३ : ३६
8 Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विधान पारित भएको छ । शनिबार स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएलगत्तै पार्टी विधान पारित भएको हो ।   कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको आजको बन्द सत्रमा गुरुङले विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिइसकेका छन् ।

अनुमोदित विधानअनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ भने १५ जना पदाधिकारी रहने छन् । विधान अनुसार पदाधिकारीमा  एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ ।

पदाधिकारीलाई समावेशी बनाउने उल्लेख गरिएको छ । यस्तै केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी मिलाइने व्यवस्था रहेको छ । १५ प्रतिशत सदस्य मनोनीत गरिने छ । यसअघि १० प्रतिशतमात्रै मनोनीत हुने व्यवस्था थियो ।

महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ । ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ । केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।