ताजा अपडेट »

आरन सञ्चालनमा कच्चापदार्थ र कामदार अभाव

मंगलबार, ३० कार्तिक २०७८, १३ : २४
6 Shares

पाल्पा । पाल्पाको ग्रामीण तथा सहरी क्षेत्रमा आरन व्यवसाय सञ्चालनमा समस्या देखिएको छ । दक्ष कामदार, कोइला र बजार समस्याले परम्परागत आरन व्यवसाय सञ्चालनमा समस्या देखिएको हो । जिल्लामा अधिकांश वन क्षेत्र समुदायमा हस्तान्तरण गरेपछि कोइला निकाल्न समस्या भएको हो । युवाको विदेश पलायनका कारण पनि आरन व्यवसायमा युवा पुस्ताको आकर्षण हुन सकेको छैन । अधिकांश कृषि औजार जिल्ला बाहिरबाट आर्यात हुन थालेसँग आरनबाट उत्पादित सामग्रीहरुको किनबेचमा समस्या भएको व्यवसायी खुमबहादुर विश्वकर्माले बताए।

पाल्पा बगनासकाली गाउँँपालिका–६ टोक्सेका खुमबहादुर विश्वकर्माले १० वर्ष पहिला चिलादीमा आरन व्यवसाय सञ्चालन गरे । गाउँपालिकाभित्रका किसानलाई पायक पर्ने गरी खोलिएको आरनमा मागअनुसार कृषि औजार पुर्याउन समस्या थिएन । पछिल्ला वर्षमा व्यावसायिक उत्पादन गर्न थालेसँगै दक्ष कामदार, कोइला र बजारको समस्याले सताइरहेको विश्वकर्माले बताए । आरनमा हँसिया, कोदालो, फाली, ओदान, खुकुरी, लगायतका औजार उत्पादन हुँदै आएको थियो ।

आरन व्यवसायमा कडा श्रम गर्नुपर्ने हुन्छ । त्यसैले युवा पुस्ताको आकर्षण हुन नसकेको व्यवसायी भोजबहादुर विश्वकर्माले बताए । युवाहरुको आकर्षण बढाउन सरकारी अनुदान तथा प्रोत्साहनका कार्यक्रम आवश्यक छ । अनुदान प्राप्तिमा दलित समुदायका व्यवसायी भने वञ्चित छन् । दलित समुदायका परम्परागत सीपलाई आधुनिकीकरण गर्न सरकारले प्रोत्साहनको कार्यक्रम ल्याउन आवश्यक रहेको विश्वकर्माले बताए ।

मल्लकालीन समयमा विश्वकर्मा जाति कृषि उत्पादनका क्षेत्रमा प्रयोग हुने फलामका औजार तथा हातहतियारहरु उत्पादन गर्दै आएका थिए । यसले स्वदेशमा फलामको उचित रुपमा प्रयोग हुने र रकम विदेशीनबाट रोकिएको थियो । तर स्वदेशमा रहेका आरन व्यावसायिक बनाउन नसक्दा त्यस्ता सामग्री आयात गर्नुपर्ने बाध्यता छ ।

बगनासकाली गाउँपालिकाले स्थानीय स्रोत साधनको प्रयोग गरी कृषि उत्पादन गर्ने रणनीति लिएको छ । यसले स्थानीय स्तरमा रहेका आरन व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्नेछ । गाउँपालिकाले परम्परागत रुपमा सञ्चालित आरनलाई व्यवस्थित गर्न सहयोग गरिरहेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए। -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।