ताजा अपडेट »

दानापुर तालमा आइल्याण्ड, भ्यू टावर र होम स्टे सुविधा

आइतबार, २९ भदौ २०७६, १८ : २८
34 Shares

कञ्चन । रुपन्देहीको पर्यटकीय तथा सिमसार क्षेत्रमा सूचिकृत दानापुरतालको विकासका लागि लागि १० वर्षे विस्तृत गुरुयोजना सार्वजनिक भएको छ । समयमायी सामुदायिक वनउपभोक्ता समूह, कञ्चन-१, गजेडी र जयन्द्र एण्ड पार्टनर्स प्रा.लि.को सहकार्यमा तयार गरिएको दानापुर तालको बिस्तृत गुरुयोजना प्रदेश सांसद भुमिश्वर ढकालले सार्वजनिक गरे ।

गुरुयोजनामा दानापुर तालको पर्यटकिय आकर्षणलाई सौन्दर्य बनाउन दानापुर तालमा प्रवेश गर्ने मुख्य प्रवेशद्वारसँगै स-साना चमेना तथा चिया पसलको निर्माण गरिनेछ भने तालको बिचमा आइल्याण्ड जलभूमी निर्माण गरी ५३ मिटरको उचाईमा दृश्यावलोकन गर्न मिल्ने गरी ६० मिटर उचाइको दृश्यावलोकन टावर बनाइने छ । अब दानापुर तालमा गुरुयोजना बिपरीत कसैले पनि भौतिक संरचना निर्माण गर्न पाइनेछैन । यसैगरी सो गुरुयोजनामा तालको वरीपरी हरियाली वातावरणलाई यथावत राख्न बृक्षारोपण पनि गरिनेछ भने प्रर्यटक तथा स्थानीयहरुका लागि मर्निङवाक तथा जगिङ गर्न मिल्नेगरी तालको वरीपरी पक्की पिच समेत निर्माण हुने योजनामा उल्लेख छ । ताल सहित ९२ दशमलव शून्य २ हेक्टर क्षेत्रफलमा फैलिएको समयमायी सामुदायिक बन उपभोक्ता समूहको उक्त गुरुयोजना अनुसार दानापुर तालको भौतिक संरचना निर्माण गर्न करिब ४८ करोड रुपैया खर्च हुने अनुमान गरिएको छ । यसैगरी दानापुर तालको सौन्दर्यता र आन्तरिक तथा बाह्य प्रर्यटकहरुको आकर्षण बढाई स्थानीयहरुको आय आर्जनलाई बृद्धि गर्न स्थानीयहरुकै लगानीमा ताल नजिकका बस्तीहरुमा होम स्टे सञ्चालन गरिने गुरुयोजनामा उल्लेख छ ।

गूरुयोजनामा दानापुर तालमा निर्माण हुने भौतिक संरचनाहरुबारे जानकारी दिनका लागि तयार पारिएको चार्ट

ताल विकासका लागि एक दशकको गुरुयोजना सार्वजनिकगर्दै सांसद ढकालले कुनै पनि कार्यहरु गर्दा निश्चित कार्ययोजना तयार गर्न सके सहज हुने बताउँदै बाह्य प्रर्यटकहरु भन्दा आन्तरिक प्रर्यटकहरुको आगमनलाई प्रथमिकता दिनसके दानापुर तालको गरीमा अझ वृद्धि हुने बताए । कञ्चनको समृद्धिको आधार स्तम्भ दानपुर ताल पनि भएकोले तालको पूर्वाधार विकास गर्न आफु निरन्तर खटिरहेको र यस वर्ष पनि प्रदेश सरकारबाट २ करोड बजेट ब्यबस्थापन भएको समेत जानकारी गराए । सरकारको मेहनत र बलले मात्र यस क्षेत्रको बिकास नहुने त्यसको लागि स्थानिय तहबाट पनि जुटेर काम गर्नु पर्नेमा उनको जोड थियो । कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले तालको विकासको लागि कञ्चनबासीको मुख्य जिम्मेवारी हुने भन्दै यस क्षेत्रका जनताहरुको आर्थिक आर्जनमा समेत सहयोग पुर्याउने बताए ।

यस्तो बन्ने छ १० वर्षपछि दानापुर ताल

यस्तै सामुदायिक वन उपभोक्ता महासंघ, रुपन्देही जिल्ला समितिका अध्यक्ष दीननाथ आचार्यले दानापुर तालको पर्यटकिय विकासले कञ्चनको गरिमा बढाएको र पहिचान पनि दिएको बताए । कञ्चन एक मात्र प्रर्यटकिय ताल भएकोले यसको विकासको लागि सबै तह र क्षेत्रसँग सहकार्य गरी अघि बढ्नु पर्नेमा उनको जोड छ । समयमायी सामुदायिक वन उपभोक्ता समूह कञ्चन-१,गजेडीको आयोजनामा भएको कार्यक्रममा समूहका अध्यक्ष मिनबहादुर थापाको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष राजेन्द्र घर्ति मगरको स्वागत तथा सुरज थापा मगरले सञ्चालन गरेका थिए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।