May 31, 2023
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभामा उपस्थित १०० सांसदमध्ये ७७ जना सांसदले मुख्यमन्त्री राउतको पक्षमा मत जाहेर गरेका छन् भने २३ जना सांसदले विपक्षमा मत दिएका थिए ।
मुख्यमन्त्री राउतलाई आफ्नो पार्टी जनता समाजवादी (जसपा)सहित कांग्रेस, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी, नेकपा (माओवादी केन्द्र) र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका सांसदहरूले विश्वासको मत दिएका हुन् ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमालेले विपक्षमा मत जाहेर गरेका थिए ।
संविधानको धारा १८८ को उपधारा २ अनुसार सत्तारुढ दल विभाजन भएकामा वा सत्ता साझेदार दलहरूमध्ये कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्रमा सरकारले विश्वासको मत लिनुपर्ने उल्लेख छ । सोही संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिएको जसपाका सांसद अशोक यादवले बताए ।
यसैबीच मुख्यमन्त्री राउतले विश्वासको मत लिनुअघि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरूको नाराबाजीका कारण प्रदेश २ सभाको बैठक १० मिनेट अवरुद्ध भएको थियो ।
साइकल खरिदमा अनियमितता भएकाले र अख्यितार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले मुख्यमन्त्री राउतले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग गर्दै लोसपाले बैठकमा नाराबाजी गरेपछि सभामुख सरोजकुमार यादवले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
प्रतिकृया दिनुहोस्