ताजा अपडेट »

बुटवल पहिरो : विद्यालयमा लेदो, पठन-पाठन अन्यौलमा

मंगलबार, ०५ असोज २०७८, २० : ०४
22 Shares

बुटवल । बुटवल उपमहानगरपालिका–३ मा अवस्थित जनज्योति आधारभूत विद्यालयका शिक्षकहरुको दिन पहिरो नियाल्दै बित्न थालेका छन् । चुरेको शिरबाट आएको पहिरोले विद्यालय पुरिएपछि विद्यालयमा कार्यरत शिक्षकहरुको दैनिकी विद्यालय आउने र पहिरो हेरेर घर फर्किने भएको छ ।

दैनिक सरसफाई गरिरहने विद्यालयकी कार्यालय सहयोगी उमा आचार्यले झाडु–पोछा गरेर साध्य नलाग्नेगरी भरिएको पहिरो कहिले पन्छिने हो पर्खाईमा छिन् । पहिरोले थुपारेका ढुङ्गा माथि उभिएर विद्यालय नियाल्ने बाहेक अरु विकल्प नभएपछि उमाको दैनिकी पनि फेरिएको हो । उनीसँगै विद्यालयमा बालबिकासकी सुनिता खड्गी र शिक्षिका बिजुकुमारी जिसी कार्कीको दैनिकी पनि पहिरो नियाल्नेमै बित्ने गरेका छन् ।

गत भदौ १३ गते आएको पहिरोले विद्यालय पुरिएपछि शैक्षिक गतिविधि ठप्प भएका छन् । ‘कुन बेला आएर पहिरोले च्याप्ने हो, त्रासका बीच विद्यालय सञ्चालन गर्न पनि सम्भव भएन ।’–विद्यालयकी प्रधानाध्यापक कमलादत्त श्रेष्ठले ग्लोबल आवाजसँग कुरा गर्दै भनिन्, ‘हरेक दिन विद्यालय आउने, यताउता हेरेर घर फर्किने बाहेक केही भएको छैन ।’ विद्यालय परिसरमा पहिरोसँगै झरेका ठूला–ठूला ढुङ्गासहितको लेदोले भरिएका छन् । विद्यालयको कार्यालय र पुस्तकालय भएको २ कोठे भवनमा सामान्य क्षति पुगे पनि ११ कोठाको दुइतले भवनमा भने बढी नै क्षति पुर्याएको छ । कक्षा कोठा भित्र पहिरोको लेदोले हिलाम्य भएका छन्, विद्यालयको स्टोर कक्ष भित्किने गरी नै पहिरो भरिएको छ ।

कोरोना महामारीले लामो समय बन्द भएका शैक्षिक संस्थाहरु खुले पनि जनज्योति विद्यालय भने पहिरोले पुँरिदा सञ्चालनमा आउने बारे अन्यौलमा छ । दैनिक ज्यालादारी गर्ने अति विपन्न परिवारका बालबालिकाहरुले अध्ययन गरिहेको यस विद्यालयमा हाल २० जना मात्रै विद्यार्थी सम्पर्कमा रहेको विद्यालयकी प्रधानाध्यापक श्रेष्ठले बताइन् । गुल्मी, पाल्पा, अर्घाखाँची लगायतका पहाडी जिल्लाबाट आएका दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने परिवारका बालबालिकाहरु विद्यालयमा आउने गरेको उनले बताइन् । कोरोना महामारीअघि विद्यार्थीको संख्या केही बढी भए पनि महामारीका कारण दैनिक ज्यालादारी गर्नेहरु विस्थापित भएसँगै विद्यालय आउने बालबालिकाको संख्या पनि घटेको हो ।

वि.स. २०३६ सालमा स्थापना भएको यस विद्यालयमा विद्यार्थी संख्या थोरै भएपछि बुटवलकै कान्ति माविसँग मिलान गर्ने भने पनि स्थानीय सहमत नभएपछि रोकिएको थियो । बुटवल उपमहानगरले विद्यालयमा मापदण्ड अनुसार विद्यार्थी संख्या नपुगेको भन्दै मिलान गर्ने पहल गरेपनि स्थानीयले सहमती दिएका थिएनन् । चुरेको कोखमा रहेको यो विद्यालय भौगोकि हिसाबले पनि जोखिममा छ ।

बुटवल उपमहानगरका शिक्षा तथा जनस्वास्थ्य महाशाखाका टिकाराम पन्थीका अनुसार पहिरोले विद्यालय पुरिएपछि त्यहाँ विद्यार्थीहरुलाई कसरी व्यवस्थाप गर्ने भन्ने बारेमा अन्यौल रहेको बताए । वडा नम्बर ३ का कार्यवहाक अध्यक्ष लिलाप्रसाद श्रेष्ठ पनि विद्यार्थीको व्यवस्थापनका लागि विकल्प सोच्नुपर्ने अवस्था आएको बताए । सुक्दै गएपछि पहिरो हटाउने योजना रहेपनि सोमबार विहान परेको वर्षाले विद्यालयमा थप लेदो भरिएको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।