ताजा अपडेट »

हुम्लामा लोडसेडिङले कक्षा १२ को वार्षिक परीक्षा आधा घन्टा ढिलो सञ्चालन

शुक्रबार, ०१ असोज २०७८, ०९ : ४५
10 Shares

हुम्ला । जिल्ला सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माध्यामिक विद्यालयको परीक्षा केन्द्रमा विद्युत अवरुद्ध हुँदा आधा घन्टा ढिलो गरी कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन भएको छ ।बुधबार रातिदेखि विद्युत सेवा बन्द हुँदा समयमै प्रश्नपत्र इमेलमार्फत डाउनलोड गरी प्रिन्ट गर्न नसकेर केही ढिला भएको मानसरोवर माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिए ।

यो वर्ष कक्षा १२ को परीक्षार्थीका लागि प्रश्न पत्र परीक्षाभन्दा आधा घन्टा अगाडि मात्रै आउने भएका कारण सिमकोटमा लोडसेडिङले परीक्षार्थीलाई थप समस्या बनाएको छ । कर्णाली माध्यामिक विद्यालय र मालिका माध्यामिक विद्यालयको परीक्षा केन्द्रका परीक्षार्थीले पनि मानसरोवर माध्यामिक विद्यालयबाट परीक्षा दिइरहेका छन् ।

मानसरोवरसहित तीनवटै परीक्षा केन्द्रका परीक्षार्थीले विद्युत, इन्टरनेटलगायतका समस्याका कारण एउटै विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिनुपर्ने बाध्यता रहेको छ ।मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष शाहीले राष्ट्रिय परीक्षा बोर्डबाट प्रश्नपत्र ढिलोगरी मेलमा आउनु र विद्यालयमा पावरको समस्याले बजारमा मेल चेक र प्रिन्ट गर्नुपर्ने भएपछि परीक्षा निर्धारित समयभन्दा ढिलो भएको बताए । परीक्षाको पहिलो र दोस्रो दिनको परीक्षा आधा घण्टा ढिलो सञ्चालन भएको उनको भनाइ छ ।

परीक्षा ११ बजेबाट सञ्चालन गर्ने कार्यतालिका भए पनि हुम्लामा साढे ११ बजेबाट सुरु भएको थियो । यस्तै गाउँघरबाट कक्षा १२ को परीक्षा दिन सदरमुकाम सिमकोटमा पुगेका परीक्षार्थीलाई विद्युत नहुँदा रातीको समयमा अध्ययन गर्न समस्या भएको छ । परीक्षा दिएर राम्रो नम्बर ल्याउनका लागि सहभागी भए पनि विद्युत नहुँदा थप समस्या बनाएको उनीहरुले गुनासो गरेका छन् ।

हिल्दुम वितरण केन्द्रले मर्मत कार्य जारी भएकाले अझै केही दिन मर्मत नहुँदा सम्म राति १० बजेदेखि विहान ५ बजेसम्म विद्युत आपुर्ति नहुने भएको जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।