ताजा अपडेट »

गुल्मी कांग्रेस सभापतिमा पहिलोपटक महिला उमेद्वार

आइतबार, २० भदौ २०७८, २० : १७
4 Shares

गुल्मी । १४ औं महाधिवेशनमा आईपुग्दा नेपाली कांग्रेस गुल्मीमा पहिलो पटक एक महिलाले जिल्ला पार्टीको सभापति पदको दाबी गरेकी छन् । पार्टी सचिव बिष्णुकुमारी सापकोटाले यस्तो दाबी गरेकी हुन् । 'सभापति पदको दाब गर्ने लिष्टमा पुरुषहरुले पुरुषहरुकै मात्र लिष्ट टिपाउँछन र सञ्चार माध्यममा दिन्छन् तर सचिव जस्तो पदाधिकारीमा रहेकी म महिलालाई पछाडी पार्न खोज्छन्।' नेतृ सापकोटाले भनिन् - 'पाटीमा मेरो सक्रियता, योग्या र क्षमतामा के कमी छ ? सभापति पदमा मैले किन दाबी नगर्ने ?'

गत स्थानीय तहको निर्वाचनमा मुसिकोट नगरपालिकाबाट मेयरको उमेद्वार पाउने जिल्ला पार्टी सचिवको हैसियतकी सापकोटालाई नबनाएर वडा कार्य समितका सभापति कृष्णहरि सापकोटालाई मेयरको उमेदबार बनाईएको र उनलाई उप–मेयरमा थँचारिएको अन्याय पनि बिर्सन नसकेको बताउँछिन् ।

बाल्यपन देखि कै क्रान्तिकारी स्वभाव भएकी सापकोटा हालको मुसिकोट नगरपालिका- ७ वामीमा बाल्यअवस्था हुँदाहुँदै पनि २०३६ सालको बहुदल निर्दलको जनमत संग्रह देखि नै आफुमा क्रान्तिको ज्वाराभाटले छोई सकेको बताउँछिन ।

वि.सं. २०४२ साल देखि विद्यार्थी आन्दोलनबाट नेपाली कांग्रेसको राजनीति यात्रा सुरु गरेकी सापकोटा २०४६ सालको जनआन्दोलनमा अग्रमोर्चामा रहेर खट्दै प्रहरी हिरासद् र याताना भोगेको उनका सहयात्रीहरु बताउँछन् । वि.सं. २०४८ सालमा क्रियाशिल सदस्यता पाएकी उनी नेपाल विद्यार्थी संघ गुल्मीको जिल्ला सदस्य भएकी थिईन् । त्यसपछि अध्यानको शिलशिलामा राजधानी पुगिन् । त्यहाँ पुगे देखि निरन्तर १० बर्ष सम्म केन्द्रीय राजनीतिमा सक्रिय उनी २०५२ देखि २०५४ सम्म पाटन क्याम्सको ईकाई सभापतिको जिम्मेवारी सम्हालिन् ।

वि.सं. २०५४ सालमा पाटन क्याम्पसकै निर्वाचित सदस्य सापकोटा २०५८ सालमा नेविसंघ, छात्रा विभागको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेकी थिईन् । २०६३ सालदेखि २०७४ सालसम्म नेपाल महिला संघ गुल्मीको सभापति रहेकी उनले त्यस अवधीमा नेपाली कांग्रेसले उठान गर्ने मुद्धा र आन्दोलनहरुमा ब्यापक महिला उतार्न सफल भईन् ।

गत १३ औं महाधिवेशनबाट जिल्ला पार्टी सचिवमा निर्वाचित उनी पूर्णकालिन कार्यकर्ताका रुपमा पार्टीमा खट्दै आएको दाबी गर्छिन् । 'पार्टीको पहिलो सिढी चढ्दै यहाँ सम्म आएकी हुँ, म अब जिल्ला पार्टीको छानो–धुरी बन्ने दावा किन नराख्ने ? उनले यस्तो प्रति प्रश्न गर्दै भनिन– 'यहाँ पुरुषहरु तिमलतामल गरेर पनि चर्चा पाउँ छन र पद्को दावा गरिरहन्छन् तर हामी महिलाले पार्टीमा जति दुख र संघर्ष गरे पनि माथी लैजाने भन्दा पनि पछाडी पार्ने चलखेल हुन्छ ।' उनी थप्छिन् -'महिलाहरुले आधा आकाश ओगटेका छन् , हरेक आन्दोलन सफल बनाउने पनि महिलाहरु नै हो , मैले नेतृत्व पाएँ भने उनीहरुमा हौसला जाग्छ । युद्ध र आन्दोलनमा महिलाहरुलाई बन्दुक बोकाईन्छ । तर जिम्मेवारी दिने बेलामा कार्यकारी अधिकारवाला जिम्मेवारी दिईदैन् ।'

गुल्मीका राजनैतिक दलहरुका नेतृहरु मध्ये सापकोटा खरो स्वभाव र स्पष्ट बक्ता भएकी नेतृका रुपमा चिनिन्छिन् । कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठसँग यस अघि गुल्मी कांग्रेसमा महिलाहरु कसैले जिल्ला पार्टी सभापतिको दाबी गरेका थिए कि थिएनन् ? भनेर प्रश्नमा श्रेष्ठले अहिले सम्म महिलाले पार्टी सभापतिमा दावा गरेको आफुले थाहा नपाएको बताए ।

श्रेष्ठ आफै पनि पुनः सभापतिको उमेदवारी घोषणाको तयारीमा छन्- 'पहिलो पटक महिला बिष्णुकुमारी सापकोटाले सभापतिमा दावी गर्नु भएको छ' नि ? भन्ने प्रश्नमा श्रेष्ठले भने- 'धेरै राम्रो ।' श्रेष्ठ, सापकोटा, अर्का उपसभापति बिष्णुप्रसाद बलाल, सचिव खिलध्वज पन्थी, महासमित सदस्यहरु शालिक पन्थी, श्रीप्रसाल भलामी, वेद थापा मगर, महेन्द्र भण्डारी लगायतका नेताहरुले पार्टी सभापतिमा दावी गर्दै आएका छन् ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार