ताजा अपडेट »

माधवका कार्यकर्ता: सूर्य चिन्हमा मोह, ओलीप्रति विद्रोह

सोमबार, १४ भदौ २०७८, १३ : १०
4 Shares

गुल्मी । नेकपा एमाले पार्टी नफुट्ने बेलासम्म औपचारिक कार्यक्रमदेखि सामाजिक सञ्जालसम्म पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध तथानाम विरोधमा उत्रिएका माधव समूहका जिल्ला स्तरका नेता–कार्यकर्ता अहिले भने तै चुप मै चुप छन् ।

फोनमा प्रतिक्रिया माग्दा अध्यक्ष ओलीप्रति आक्रोश राख्छन् । विगतमा माधवमा रहेका र अहिले ओलीमा समाहित भएका तेश्रो धारका नेताहरुलाई चरम अवसरवादी भनेर आरोप पनि लगाउँछन् । यहि कुरा तपाइको प्रतिकृया राखी दिउँ ? भनेर सोध्यो भने भन्छन् –‘अँह, अहिले नराख्नुस पछि राखौंला।’ नाम नबताउने सर्तमा नेकपा एमाले जिल्ला कमिटी सदस्य रहेका र माधव नेपाल समुहका खम्बा नेता ठानिएका उनी भन्छन्–‘ केपी ओलीमा कम्युनिष्ट बिचार–सिद्धान्त पटक्कै छैन । माधव नेपालले अर्को पार्टी खोलेर जे गरे, त्यो ठिक गरे तर एमालेको लोकप्रिय सूर्य चुनाव चिन्ह छाड्न मन छैन ।’

तर, अर्घाखाँची स्थित माधव नेपाल समूहका नेता रामबहादुर चौहान चुनाव चिन्ह नै ठुलो कुरा नभएको स्पष्ट पार्छन् । उनी भन्छन्–‘सूर्य चिन्हले चुनाव जित्ने भए, २०६४ सालमा पनि जित्थ्यो होला,किन माओवादीको हसिया हतौडाले जित्यो ? पछिल्लो उदाहरण नै काफी छ कि राष्ट्रिय सभाको चुनावमा सूर्य चिन्ह पराजित भयो, कलम चिन्ह लिएर उठेका स्वतन्त्र उमेदवार खिमलाल देवकोटा जित्नु भयो, यसर्थ चुनाव चिन्ह ठूलो होइन, विचार र सिद्धान्त सबैभन्दा ठूलो कुरा हो ।’

उनले विगतमा ओली समूहले समानान्तर कमिटि बनाएपछि आफूहरुले पनि माधव नेपाल समूहको ७० सदस्यीय जिल्ला कमिटी निर्माण गरेको र अब छिटै नेकपा (एकिकृत समाजवादी) पार्टीमा समाहित गर्न लागिएको बताए।

‘त्यसमा एक जना पनि डगमगाएका छैनन् बरु बढेर करिब डेढ सय जना हुँदैछौं। २ सय २१ सदस्यीय युवाहरुको कमिटी बनाएका थियौं, त्यो अहिले बढेर ३ सय जनाको भएको छ । हामी अहिले जनप्रतिनिधिहरुको कसले कुन दल रोज्छन् भन्ने मै लागेका छौं । एमाले ठूलो चङ्गुलमा फँसेको छ । टोपबहादुर रायमाझी पनि यहि आएर खुरी खेलेका छन तर हाम्रा साथीहरु अडिग छन्, हाम्रो पार्टी कमजोर हुन्न अर्घाखाँचीमा’–उनले भने ।

त्यस जिल्ला कमिटीका उनी अध्यक्ष हुन् । उता रुपन्देहीमा पनि विगतमा निर्माण भएको समानन्तर जिल्ला कमिटीलाई पनि नेकपा (एकिकृत समाजवादीमा) मा समाहित गर्न लागिएको त्ययस कमिटीका अध्यक्ष राजु गुरुङ्गले जानकारी दिए । उनले पनि तलका कार्यकताहरुमा सूर्य चुनाव चिन्हप्रतिको मोह पुरातनवादी साँेचको उपज भएको प्रतिकृया दिए ।

‘चुनाव जित्ने चिन्हले होइन विचार र सिद्धान्तले हो, नेता गुरुङ्गले भने–‘चरम अवसरवादीहरुको पछाडि लागेर चुनाव चिन्हको भ्रममा पर्नु गलत हो ।’अध्यक्ष गुरुङ्गले गत शुक्रबार भब्य सहभागितासहित विगतको समानन्तर कमिटीलाई नेकपा (एकिकृत समाजवादी) रुपन्देही जिल्ला कमिटिमा समाहित गरेका छन् । जिल्ला कमिटी १ सय २५ सदस्यीय रहेको र अब छिट्टै पिपुल्स भोलिन्टियर्स र अखिल फोर्स गठन गर्न लागिएको नेता गुरुङ्गले बताए ।

तर अन्य विभिन्न जिल्लामा हिजो माधव समुहमा लागेर अध्यक्ष ओली बिरुद्ध खरो उत्रिएका नेता कार्यकर्ताहरु भित्रि मनमा अध्यक्ष ओली प्रति बिद्रोह पाले पनि सुर्य चुनाव चिन्हको मोह पालेर कतै खुल्न नसकेको पाईएको छ ।
गुल्मीको हकमा रामकुमारी झाँक्री बाहेक कुनै एक जना पनि खुलेर माधव नेपालको नयाँ पार्टीमा लागेका छैनन् । तर उनीहरु भन्छन् –‘ढिलो चाँडो माधव नेपालतिरै लागिन्छ , केही समय मात्रै मौन बसेका हौं। ’

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार