ताजा अपडेट »

गरिबीले बाबुलाई मुग्लान पठायो, आमालाई चट्याङले चुड्यो

शुक्रबार, २९ साउन २०७८, १७ : २८
2 Shares

गुल्मी । गुल्मीको गाउँका तीन बालबालिकाहरु बिचल्लीमा परेका छन्। बुधबार राति मालिका गाउँपालिका–२ , पाटाखर्क गाउँकी २८ वर्षिया कमला पर्तेलको चट्याङ्गले हानेर मृत्यु भएपछि उनका तीन नाबालक छोराछोरीहरु विचल्लीमा परेका हुन्। पर्तेल दलित समुदायका विपन्न परिवार हुन्। दिनभरी अर्काको मेलापात गरेर जिविका चलाउँदै आएकी कमला बुधबार दिनभरी कोदोरोप्ने मेलामा गएको र साँझ घर आएर खान पकाउन आगो फुक्ने क्रममा चट्याङ्गले हानेर घरमै ज्यान गएको छिमेकी तथा नेपाली कांग्रेस त्यस वडा कार्य समिति सभापति भरत केसीले बताए ।

शव पोष्टमार्टम गर्न लैजानका लागि त्यस परिवारमा खर्च नभए पछि उनै केसीले ५ हजार रुपैयाँ दिएको र वडा कार्यालयले गाडी सुविधा दिई तम्घास पठाउनु परेको हो । पहिलो चरणको कोरोना संक्रमणबाट बच्न गत वर्ष भारतको पुनाबाट घर फर्केका उनका श्रीमान यमबहादुर पर्तेल ८ महिना अघि फेरी पुना मै गएका थिए । भारतमा पनि दोश्रो चरणको कोरोना संक्रमण बढेपछि उनले त्यहाँ नियमित काम पाउन नसकेर बसेको बताईएको छ ।

घरको आर्थिक अवस्था निकै कम्जोर भएपछि यमबहादुर कलिलै उमेरदेखि भारतको रोजगारमा हिँडेका थिए । सानो कटेरी घर , तीन महिना खान नपुग्ने जमिन भएको त्यस परिवारमा ८ र ५ वर्षकी दुई वटी छोरी र ३ वर्षका एक छोरा रहेका छन् । त्यस वडा सभापति केसीले भन्छन्–‘बाबु घर छैनन्, आमाको मृत्यु भएपछि उनीहरुको विचल्ली भएको छ ।’

उनका अनुसार बुधबार साँझ उनले घरमा आई आगो फुक्दै कोखैमा चार्जमा राखिएको मोवाईलबाट चट्याङ्ग बज्रिएको अहिले विहान गाउँवासीले हेर्दा पाईएको छ । बुधबार साँझ जिल्ला कै ईस्मा गाउँपालिका–४ दोहलीका ११ वर्षीय बालक राहुल गन्धर्वको पनि चट्याङ्गले हानेर ज्यान गएको छ । त्यस बुधबार सात जना चट्याङ्गले हानेर घाइते भएका थिए । तीन जनाको स्थानीय स्वास्थ्य केन्द्रमै उपचार भई रहेको छ भने गम्भीर घाइते तीन जनाको लुम्बिनी मेडिकल कलेज पाल्पामा थप उपचारका लागि पठाइएको प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार