ताजा अपडेट »

वन्यजन्तुको आक्रमणबाट १४ जनाको मृत्यु

बुधबार, ०६ साउन २०७८, १२ : ४४
2 Shares

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय क्षेत्रमा गत आर्थिक वर्ष वन्यजन्तुको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेहरुमा निकुञ्ज क्षेत्रका ११ जना छन् भने डिभिजन वन कार्यालयको चितवन र नवलपरासी क्षेत्रका तीनजना छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार वन्यजन्तुबाट मृत्यु हुनेमा सबैभन्दा बढी बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँचजना छन्।

हात्तीको आक्रमणबाट दुई, बँदेलको आक्रमणबाट एक र गौरी गाईको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । सोही अवधिमा निकुञ्ज र वन कार्यालय क्षेत्रमा जङ्गली जनावरको आक्रमणबाट ४३ जना घाइते भएका थिए । घाइतेमध्ये २५ सामान्य र १८ जना सख्त घाइते भएको उनले जानकारी दिए । आर्थिक वर्ष २०७६/७७ मा निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट आठ जनाको मृत्यु भएको थियो । तीमध्ये डिभिजन वन क्षेत्रमा एक जनाको मृत्यु भएको थियो । सोही अवधिमा ३१ घाइते भएका थिए ।

घाँस दाउरा काट्न, निगुरो टिप्न, गाईबस्तु चराउन जाने क्रममा निकुञ्ज र डिभिजन वन क्षेत्रभित्र प्रवेश गर्दा वन्यजन्तुले आक्रमण गर्ने गरेको उनले जानकारी दिए । कोरोना सङ्क्रमणसँगै निषेधाज्ञाको समयमा मानिस फुर्सदिला भएर जङ्गल प्रवेश गर्ने गरेकाले पनि वन्यजन्तुको आक्रमण बढेको हो । निकुन्जले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका तथा घाइतेको परिवारलाई राहतस्वरुप रु एक करोड ७४ लाख, ८४ हजार ९२२ वितरण गरेको छ । यो रकम मृतकका परिवारलाई रु १० लाखका दरले क्षतिपूर्ति र घाइतेलाई उपचार खर्चस्वरुप अवस्था हेरी रु २० हजारदेखि दुई लाखसम्म वितरण गरिएको थियो । यस्तै घरगोठ, पशुधन, अन्नबाली, बाली भण्डारणजस्ता क्षेत्रमा वन्यजन्तुले पु¥याएको क्षतिबापत पनि राहत वितरण गरिएको थियो ।

रासस
लेखकको बारेमा
रासस