ताजा अपडेट »

लुम्बिनी प्रदेशमा रोपाई अन्तिम चरणमा, गत वर्षभन्दा साता अघिनै सकिने

बुधबार, ३० असार २०७८, १८ : ३५
8 Shares

बुटवल । लुम्बिनी प्रदेशमा असार अन्तिम सातासम्म आइपुग्दा रोपाइँ अन्तिम चरणमा पुगेको छ । गत वर्षजस्तै यो वर्ष पनि मनसुनले साथ दिएपछि कृषकहरुले समयमै रोपाई सक्न लागेका हुन् । लुम्बिनी प्रदेश कृषि निर्देशनालय रुपन्देहीको तथ्याङ्क अनुसार आइतबारसम्म धान खेती हुने कूल क्षेत्रफलको ८६ दशमलव ७ प्रतिशत रोपाई सकिएको छ । गत वर्ष प्रदेशभरी धान खेती हुने क्षेत्रफल मध्ये ९४ दशमलव ८ प्रतिशत रोपाई भएको थियो ।

गत वर्षको तथ्याङ्कसँग तुलना गर्दा यो वर्ष रोपाई हुने क्षेत्रफलमा वृद्धि हुने देखिएको छ भने रोपाई पनि छिटो सकिने भएको छ । गत वर्षलाई आधार मान्ने हो भने प्रदेशमा ९१ दशमलव ४ प्रतिशत रोपाई सम्पन्न भइसकेको छ । प्रदेशभरी धान खेती हुने कुल ३ लाख ३४ हजार ६७५ हेक्टर क्षेत्रफल मध्ये २ लाख ९० हजार ११६ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो । गत वर्ष लुम्बिनीका रोपाई हुने क्षेत्रफल मध्ये ३ लाख १७ हजार ४१५ हेक्टर क्षेत्रफलमा मात्रै धान लगाइएको थियो ।

नवलपरासीमा सतप्रतिशत रोपाई
पश्चिम नवलपरासीमा यो वर्ष सतप्रतिशत रोपाई भएको छ । कृषि निर्देशनालयले जारीको गरेको तथ्याङ्क अनुसार धान खेती हुने २३ हजार १७५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ । गत वर्ष २२ हजार ७ सय १२ हेक्टरमा रोपाई भएको जिल्लामा यो वर्षभने सतप्रतिशत रोपाई भएको हो ।

यसैगरी गत वर्षको तथ्याङ्कलाई आधार मान्ने हो भने बर्दियामा रोपाई सकिएको छ । धान रोपाई हुने क्षेत्रफलका आधारमा ९५ प्रतिशत रोपाई सकिएको जिल्लामा ५२ हजार ३५० हेक्टर क्षेत्रफलमा रोपाई गर्न सकिन्छ । गत वर्ष ४९ हजार ६३७ दशमलव ५ हेक्टरमा रोपाई भएको बर्दियमा यो वर्ष ४९ हजार ६३८ हेक्टरमा रोपाई सम्पन्न भइसकेको छ ।

लुम्बिनीको सबैभन्दा बढी धान खेती हुने जिल्ला कपिलवस्तुमा ८० प्रतिशत रोपाई सकिएको छ । जिल्लामा ५७ हजार २१४ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो । गत वर्ष ६४ हजार ३५० हेक्टर क्षेत्रफलमा रोपाई भएको थियो । गत वर्षको तथ्याङ्कलाई आधार मान्ने हो भने जिल्लामा ८८ दशमलव ९ प्रतिशत रोपाई सकिएको छ । कुल ७१ हजार ५ सय क्षेत्रफलमा रोपाई हुने कपिलवस्तुमा गत वर्ष ९० प्रतिशत क्षेत्रफलमा मात्रै रोपाई भएको थियो ।

रुपन्देहीमा २ प्रतिशत रोपाई बाँकी
धान खेती हुने प्रदेशको दोस्रो ठूलो जिल्ला रुपन्देहीमा रोपाई सम्पन्न हुने अवस्थामा पुगेको छ । गत वर्ष रोपाई भएको क्षेत्रफललाई आधार मान्ने हो भने अब २ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाई हुन बाँकी रहेको तथ्याङ्क छ । कुल ६९ हजार ७०० हेक्टर क्षेत्रफलमा धान रोपाई गर्न सकिने रुपन्देहीमा गत वर्ष ६७ हजार ५५० हेक्टरमा मात्रै रोपाई भएको थियो । यो वर्ष ६६ हजार २१५ हेक्टर क्षेत्रफल अर्थात ९५ प्रतिशतमा रोपाई भइसकेको छ । गत वर्ष जिल्लामा ९६ दशमलव ९ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाई भएको थियो ।

प्रदेशका धेरै धानखेती हुने जिल्ला मध्येकै दाङमा ८५ प्रतिशत रोपाई सकिएको छ । जिल्लामा गत वर्ष ९८ प्रतिशत क्षेत्रफलमा रोपाई भएको थियो । प्रदेश राजधानी समेत रहेको दाङमा ३८ हजार ७१० हेक्टर क्षेत्रफलमा धान खेती गर्न सकिने भए पनि गत वर्ष ३७ हजार ९३६ हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको थियो । जिल्लामा हालसम्म ३२ हजार ९०३ दशमलव ५ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भइसकेको छ । यसैगरी तराईको जिल्ला बाँकेमा ८० प्रतिशत रोपाई भएको छ । साढे ३७ हजार हेक्टर क्षेत्रफलमा रोपाई गर्न सकिने यो जिल्लामा गत वर्ष ३५ हजार ६२५ हेक्टरमा मात्रै रोपाई भएको थियो । यो वर्ष ३० हजार हेक्टरमा रोपाई सकिएको छ ।

कृषि विकास निर्देशनालयले दिएको जानकारी अनुसार यो वर्ष पाल्पामा ७१ दशमलव २ प्रतिशत, अर्घाखाँचीमा ७९ प्रतिशत, गुल्मीमा ४८ प्रतिशत, रुकुम पुर्वमा ९० प्रतिशत, प्युठान र रोल्पामा ९५ प्रतिशत रोपाई सकिएका छन् ।

कृषि प्रविधिले रोपाई सहज बन्दै
कृषि विकास निर्देशनालयका वरिष्ठ बाली विज्ञ रामगोविन्द आर्याका अनुसार कृषि प्रविधिको प्रयोग तथा मौसमी सहजताले रोपाई सरल बन्दै गएको छ । विगत वर्षहरुको तुलनामा रोपाई सकिने क्रम छिटो हुनुको कारण समयमा वर्षा, सिञ्चाईको उपलब्धता, कृषि प्रविधि तथा आधुनिक औजारहरुको प्रयोग प्रमुख कारण भएको उनले बताए । यसैगरी कृषकहरुमा सचेतना बढ्दै गएकाले समयमै रोपाई गर्न सके उत्पादनमा वृद्धि हुन्छ भन्ने शिक्षाले काम गरेको पनि बताए ।

यो वर्ष रोपाई छिटो हुनुमा समयमै बीउ तथा मलखादको उपलब्धता पनि हो । यसैगरी पछिल्लो समय उन्नत जातको बीउ प्रयोग गरिने भएकाले रोपाई छिटो हुने गरेको छ । परम्परागत बीउको प्रयोग गर्दा ३५ देखि ४० दिनसम्मका बीउ प्रयोग गर्ने गरिएको उदाहरण सुनाउँदै वरिष्ठ बालिविज्ञ आर्याले उन्नत जातको बीउ १८ देखि २५ दिन भित्रै लगाउने गरिएको बताए ।

बालिविज्ञ आर्याका अनुसार गएका वर्षहरुमा जस्तो यो वर्ष मलखादको समेत अभाव नदेखिने भएको छ । कृषकहरुले रोपाई गर्नुपूर्व नै मलखाद भण्डारण गरेको राखेको तथा सरकारले समेत प्रयाप्त मात्रामा मलखाद उपलब्ध गराएको उनले बताए । रोपाईपछि बीच–बीचमा आवश्यक पर्ने मलखादका लागि समेत सरकारले तयारी अवस्थामा राखेको बताउँदै उनले विगत वर्षमा जस्तो समस्या नपर्ने उल्लेख गरे । मौसमले यही अवस्थामा साथ दिए, उत्पादनमा समेत १५ देखि २० प्रतिशतले वृद्धि उनले आर्याले जानकारी गराए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।