ताजा अपडेट »

बझाङ्गे मकै, आलु र सिमीको स्वाद लिन आतुर हुनुहुन्छ ?

आइतबार, १३ असार २०७८, १० : ३३
6 Shares

बझाङ । तपाईँ बझाङ्गे मकै, आलु र  सिमीको स्वाद लिन आतुर हुनुहुन्छ ?  हुनुहुन्छ भने केही समय धैर्य गर्नुहोस् । कृषि ज्ञान केन्द्रले स्थानीय स्तरमा उत्पादित मकै, आलु र  सिमीलाई  ब्राण्डिङ गरी जिल्ला बाहिरका  बजारमा पठाउने तयारी गर्दैछ  ।

साथै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक केन्द्र रहेको जिल्लाका केही स्थानीय तहले अब आलु जोनको रुपमा पनि छुट्टै पहिचान पाउने भएका छन् । नेपालको धेरै ठाँउमा अत्याधिक माग रहेको बझाङ्गे आलु र  सिमीले बजारमा आफ्नो पहिचान बनाएको छ ।  स्थानीयस्तरमा उत्पादित मकै, आलु र  सिमीलाई ब्राण्डिङ गर्न लागिएको केन्द्रका प्रमुख टेकबहादुर बिष्टले जानकारी दिए । जिल्लामा अधिकांश कृषकको मुख्य खेती आलु, सिमी र मकै हो । जिल्लामा मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षि बिकास कार्यक्रम कार्यान्वयनमा आएको छ । 

कार्यक्रम  अन्तर्गत बुङ्गल नगरपालीकाको वडा नं  ६ को डिन्नु , वडा नं १ र  २, जयपृथ्वी नगरपालिकाको पिठालेक, धामीलेक, मष्टाको कोटदेवल तथा दुर्गाथली गाउँपालिकाकोे सैनपसेललाई आलुमा आत्मनिर्भर बनाउन लागिएको उनले बताए । उनले मकै उत्पादन गर्ने क्षेत्रमा २१ लाख बराबरको टिनको बीउ राख्ने भकारी, चार सय थान बीउ सुकाउने पाल, र पाँच  हाते ट्याक्टर सहयोग गर्ने समेत जानकारी दिए ।
 
यस्तै जिल्लाको तल्कोट गाउँपालिका वडा नम्बर ६ र ७ लाई अर्गानिक सिमीमा ब्राण्डिङ गरिने भएको छ । कृषि क्षेत्रको विकास र विस्तारले नै किसानको आयआर्जन वृद्धि हुने भएकाले मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने भएको छ । पहिलो पटक जिल्लामा उत्पादन भएको भिरमौरीको मह, सिमी, मकै र आलु लगाएतका खाध्यान्न सामाग्रीहरुलाई अर्को जिल्लासम्म पु¥याउने लक्ष्य लिएको छ । 

यसरी उत्पादित कृषि उपजलाई प्याकेजिङ्ग गर्न र सदरमुकाम चैनपुरमा कोसेली घर निर्माणको लागी १२ लाख बिनियोजन गरिएको केन्द्रले जनाएको छ ।  केन्द्रले आलु प्याकिङको लागि सामाग्रीको ब्यवस्थापन भैसकेको र आगामी साउन महिना भित्र आलु बजारमा ल्याउने तयारी रहेको जानकारी दिएको छ । साथै स्थानीय तथा राष्ट्रिय बजारमा रु १ करोड ४४ लाख बराबरको ३५ हजार क्विन्टल आलु निर्यात गरिने समेत  केन्द्रले जानकारी दिएको छ । 

आलुजोनको योजना आएपछि लामो समयदेखि परम्परागत रुपमा खेती गर्दै आएका किसानहरुलाई आधुनिक तरिकाले आलु लगाउन  सिकाएको थियो । अहिले किसानहरु औधि खुशी  छन् । साथै उत्पादनमा अझ अग्रसर हुन थालेका छन । किसानले उत्पादन गरेको आलुले बजारमा छुट्टै पहिचान बनाउने र यहाँका किसानको जीवनस्तर माथि उठ्ने विश्वास गरिएको छ ।

रासस
लेखकको बारेमा
रासस