ताजा अपडेट »

श्रावणी मेला सुरु, ५ लाख बढी दर्शनार्थीको उपस्थिती रहने

मंगलबार, ३१ असार २०७६, १६ : ३२
18 Shares

पश्चिम नेपालको प्रमुख ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्वको प्रसिद्ध तिर्थस्थलका रुपमा परिचित पर्रोहा परमेश्वर स्वयम् उत्पत्तिमान शिव ज्योर्तिलिङ्ग बोलबम धाममा एक महिने धार्मिक मेला (श्रावणी मेला) आज असार ३१ गतेदेखि सुरु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ (साविकको पर्रोहा २ ) मा अवस्थित बोलबम धाममा हरेक वर्षको गुरु पूर्णिमादेखि जनै पूर्णीमासम्म धार्मिक मेला लाग्ने गर्दछ । पश्चिम नेपालको पशुपतिनाथको नामले समेत पहिचान बनाएको पर्रोहा परमेश्वर बोलबम धाममा नेपाल र भारतका समेत लाखौँ श्रद्धालु भक्तजनहरु जलार्पण गर्नका लागि आउने गर्दछन् ।

खाली खुट्टा बोलबम ! बोलबम !! बोलबम !! उच्चारण गर्दै जलार्पण गरे पाप क्षमा हुने र अनन्य पुण्य कमाइने विश्वास का साथ पहेँलो गेरुवावस्त्र धारण गरि बोलबम यात्रा गर्दै यहाँस्थित शिव ज्योतिर्लिङ्गमा पवित्र गंगाजल अर्पण गर्ने परम्परा रहिआएको छ । यसै विषयमा रहेर ग्लोबल आवाजका लागि डि. बि. सुस्लिङले बोलबम धाम समितिका अध्यक्ष रामवली चौधरीसँग गरिएको कुराकानी ।

श्रावणी मेलालाई सफल वनाउन के कसरी लाग्नुभएको छ ?
-नेपालमा हरेक वर्ष लाग्ने सबैभन्दा लामो समयको र ठुलो धार्मिक मेलाको रुपमा रहेको बोलबम धाममा हुने श्रावणी मेला हो । यस क्षेत्रको पर्यटन विकासका लागि प्रचुर सम्भावना बोकेको पर्रोहा परमेश्वर बोलबम धामको एक महिने चाँडलाई भव्य र सभ्या बनाउने हाम्रो योजना हो । श्रावणी मेलालाई व्यवस्थित सफल बनाउन ५१ सदस्यीय मूल समिति र ६० सदस्यीय उपसमिति, १ सय ११ सदस्यीय यात्रा व्यवस्थापन समिति गठन गरिएको छ । विभिन्न उप-समिति तथा सेवादल गठन गरी मेला तथा जलयात्रालाई भव्य र सभ्य बनाउँदै छौं ।

यो वर्ष कुन् कुन् क्षेत्रबाट जलयात्रा हुँदै छन् ?
-यो वर्ष पनि विगतका वर्षहरुमा जस्तै नेपाल तथा भारतका विभिन्न तिर्थस्थलबाट समेत जल यात्रागरी बोलबम धाममा जल विसर्जन गरिँदै छ । कपिलबस्तुको लक्ष्मणघाट, रुपन्देहीको रामघाट, तनहुँको देवघाट, नवलपरासीको त्रिबेणी, गुल्मीको रिडी, पाल्पाको राम्दी, मुस्ताङ्गको मुक्तिनाथ, प्यूठानको स्वर्गद्वारी, काठमाडौँको सुन्दरीजल, पशुपतिनाथ लगायतका स्थानहरुबाट गंगाजल उठाई यहाँ ल्याई अर्पण गर्ने कार्यक्रम रहेका छन् । यस्तै भारतका गंगा, जमुना, काशी, गया, हरिद्वार लगायतका स्थानहरुबाट पनि उल्लेख्य मात्रामा श्रद्धालु भक्तजनहरुबाट पवित्र गंगाजल उठाई खाली खुट्टा पैदल यात्रा गरि यहाँ स्थित शिवज्योतिर्लिङ्गमा जलार्पण गर्ने परम्परा रहेको हुँदा यो वर्ष पनि जारी रहने छ ।

जल यात्राको कार्यक्रमहरु के कसरी सञ्चालन गर्दै हुनुहुन्छ ?
-आजदेखि सुरु भएको यो धार्मिक तथा जल यात्राको कार्यक्रम अन्तरगत बोलबम धामबाट यात्राको विधिवत सुरुवात भईसकेको छ । आज हामी सवारी साधान तथा इच्छा अनुसार पैदल यात्रा समेत गरी, कपिलवस्तुको लक्ष्मणघाट जाने कार्यक्रम रहेको छ । लक्ष्मण घाटमा एक रात बास बसी जल उठाई कपिलवस्तुकै ४ नम्बर, हुँदै रुपन्देहीको सालझण्डी लगायतका ठाउँमा स्थानीयले स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसपछि बोलबम धाममा आएर जल विसर्जन गरिन्छ । यसै अनुसार श्रावण ९ गते नवलपरासीको त्रिवेणी धाम, १९ गते तनहुँको देवघाट तथा २६ गते गुल्मीको रुरु क्षेत्र रिडी धामबाट जलयात्रा गर्दै पर्रोहा परमेश्वर बोलबम धाममा जल विसर्जन गर्ने कार्यक्रमहरु रहेका छन् । भक्तालुजनहरुले देशका अन्य विभिन्न धाम तथा धार्मिक तिर्थहरुबाट जलयात्रा गरी बोलबमधाममा ल्याइ विसर्जन गर्ने कार्यक्रमहरु समेत हुनेछन् ।

यो वर्ष कति भक्तालुजनको उपस्थिति रहने अनुमान छ ?
-विगतका वर्षहरुमा भन्दा यो वर्ष भक्तालुजनको संख्या स्वभाविक नै वृद्धि हुने देखिएको छ । यो वर्ष कम्तिमा पनि ५ लाख बढी भक्तालुजन जलयात्रामा सहभागि हुने छन् । दाताहरुको सहयोग तथा बोलबम समितिको लगानी समेत रहने गरी ५/७ वटा वस तथा साना-ठुला अन्य सवारी साधनको समेत व्यवस्था गरिएको हुँदा भक्तालुजनको वृद्धि हुने अनुमान गरिएको छ । भक्तालुजनले समितिले व्यवस्था गरेको सवारी साधानमा जान चाँहेमा लक्ष्मण घाटको ३ सय तथा अन्य तिर्थस्थलका लागि रु ६ सय रुपैया तिर्नुपर्ने हुन्छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।