ताजा अपडेट »

बिरामी बालक बा–आमा झगडाको मारमा, बिचल्ली छ खोला किनारमा

शुक्रबार, ०४ असार २०७८, २० : ०९
6 Shares

बुटवल । पाल्पाकी चेली ३२ वर्षिया सञ्जु परियार यतिबेला आफ्नो ब्लड क्यान्सर पीडित ११ वर्षिय छोरोको उपचार गर्न आर्थिक अभाव भएपछि सबैसँग सहयोगको हात फैलाउँदै आएकी छन् । दुर्भाग्यः उनै बालक कोरोना पोजेटिभ देखिएपछि आफ्नै घरमा श्रीमान र परिवारले बस्न नदिएपछि उनी अर्कैले दया–धर्मले दिएको बुटवलस्थित तिनाउखोला किनारको सानो जिर्ण छाप्रोमा आश्रय लिएर बसेकी छन्।

मुसालधारे पानी परिरहेकोले चुहेर बेहाल छ उनी बस्ने त्यो छाप्रो । खिया लागेका जस्तापाता चुहिने मात्र होइन, एक पाखाको गार्हो भत्केको छ । त्यस छाप्राको ढोका नहुँदा रातको समयमा असुरक्षित बसाई छ । तरपनि ब्लड क्यान्सर पीडित छोराको जीवन रक्षाको लागि पार्टी पौवामा मात्र होइन खुल्ला आकाश मुनी बस्न पनि तयार रहेको उनी बताउँछिन्।

बिहीबार उनी त्यस छाप्रोमा बस्न थालेको २४ दिन भयो । सुरुका केहि दिन सम्म उनी बत्ति नहुँदा अँध्यारो मै बसिन् । पछि छिमेकीको दया जाग्यो र तार तानेर एउटा बत्ति बाली दिएका छन् । अविरल वर्षासंगै उनी बस्ने छाप्रो अगाडि तिनाउ खोला उर्लिरहेको छ। त्यसै खोला किनारमा उनी एक महिला पीर–चिन्ता अनेकको भारीले पिल्सिदै र रुँदै बसेको बताउँछिन् । उनि भन्छिन् , बिरामी छोरा छ आफ्नो घरबार भत्केको छ , अरुको साहारमा भत्केको घरमा बस्नु परेको छ । छोरोको उपचारको लागि त परै हो । राम्रोसँग खान र जिविकोपार्जन गर्ने स्रोतपनि छैन । अझै बिरामी छोरालाई कोरोना लागेको छ । यतै तिनाउमा हामफालेर मरौं जस्तो हुन्छ । तर, छोराका लागि बाँच्न पर्छ भन्ने लाग्छ ।’

पाल्पाको रम्भादेवी गाउँपालिका–४ हुमिन माइती घर हो उनको । तर , उनका लागि माइतीघर अर्थात् बाबु आमा भन्नु मात्रै भयो । उनका बाबु वषौंसम्म भारतमा बेखबर भएर बसे । आमाले हेलत्व सहेपछि उनी स्याङ्गजाको कालिगण्डकी गाउँपालिका–६ गुरुङ्गदीकोट स्थित मावली घर मै हुर्किइन् । विवाह गर्ने उमेर पुगेपछि आफन्तले १३ वर्षअघि परासीको रामपुर चौराह स्थित राजकुमार परियारसँग विवाह गराई दिए । पछि उनीहरुको स–परिवार बुटवलको बेलवासमा बसाई–सराई गरे , र अहिले पनि उनका श्रीमान सासु–ससुरा बुटवल,बेलवास मै छन् । उनका अनुसार राजेशले उनलाई तेश्रो श्रीमतीका रुपमा घर भित्राएका थिए । अर्की श्रीमतितर्फ १५ वर्षकी छोरी छन् । तर, श्रीमान श्रीमती बीच गत चार–पाँच वर्षयता मनमुटाव बढेपछि श्रीमान–श्रीमती बेग्ला–बेग्लै बस्दै आएका छन् । बाबु–आमा बीचको मन-मुटाव र झगडाको मारमा ति निर्दोष बिरामी बालक परेका छन् ।

ब्लड क्यान्सर पीडित छोरा जीवन मरणको दोसाँधमा छ । त्यसमाथि अस्ती शुक्रवारदेखि उसैलाई दोश्रो पटक कोरोना पोजेटिभ देखिएको छ–‘ उनले भनिन्–‘श्रीमानको ताल त्यस्तो छ।’ उनले स–विस्तार आफ्ना पीडाहरु सुनाइन्–‘माईतीतर्फ भाई र मामाहरुले अहिलेसम्म त साथ दिए तर, अब मेरो माईती मावलीले साथ देलान भन्नु पनि छैन । कतै साहारा नपाए पछि बिरामी नातीका लागि पनि बस्न देलान भनेर चितवनको क्यान्सर अस्पतालबाट फर्केर जेठ ११ गते बेलवासमा रहेको श्रीमानको घरमा छोरो लगेर गएँ । तर त्यहाँ पनि सासु ससुराले मेरा कपडा लत्ता बाहिर फाल्दीएर घर निकाला गरेपछि एउटी दिदीले मेरो विपद् देखेर वुटवल दुर्गानगर स्थित तिनाउ नदिको किनारमा रहेको खाली छाप्रोमा बस भन्नु भयो र यहि आएर बसेकी हुँ ।’

ती बिरामी बालकका बाबु राजकुमार परियारले छोरालाई ब्लड क्यान्सर भएपछि आफूहरु चितवन अस्पतालमा पनि गएर हेर्दा मन थाम्न नसकेको तर, श्रीमतीको नमिठो वचनका कारण बिरामी छोराको ख्याल गर्न नसकिएको प्रतिकृया दिए । श्रीमती सञ्जुले भने श्रीमानले गुपचुप अर्को विवाह गरेर बसेका कारण आफू र विरामी छोरालाई वेवास्ता गर्दै आएको आरोप समेत लगाइन् । तर, राजकुमारले भने त्यस्ता आरोप आफूलाई पहिल्लैदेखि लगाएकै कारण अहिले यो स्थिति आएको बताउँछन्। एक छोरी भने उनीसँगै रहको उनले बताए । स्थानीय एक जना समाजसेवीले नाम नबताउने सर्तमा ती दम्पत्ती बीचको झगडामा गल्ती दुबै जनाको रहेको बताए ।

‘एउटा सानो घर थियो ऋण लाग्यो भनेर सञ्जुले श्रीमानलाई नसोधी बेचिन् । त्यही बिषयमा उनीहरु बीच झगडा चलेपछि बुटवल मै कोठा लिएर उनी बेग्लै बसिन्’– उनले भने –‘यता राजकुमार पनि एउटी महिलाकोमा जाने बस्ने गर्दछ थाहा छैन । ती महिला उसको दिदी बहिनी हो कि अरु कोही हो चिन्न सकिएको छैन्।’ ब्लड क्यान्सर भएका बालककी आमा सञ्जु परियारले श्रीमान–श्रीमती बीच जे–जस्तो भएपनि छोराका लागि आफू निरन्तर लागेको र सक्दो उपचार गर्दै आएको बताइन् । उनले भनिन् , श्रीमानले मेरो साथ छोडी सक्यो , अब मेरा साहारा यहि छोरा र अर्की ६ वर्षकी छोरी हो । यिनै दुई जनालाई बचाउन सकें भने अरु मलाई केही चाहिन्न ।‘ ‘सबैले सहयोग गरेर मेरो यो छोरालाई बचाई दिनुस् ।’ सञ्जुले भक्कानो छाड्दै भनिन् ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार