६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

काठमाडौ । मेलम्ची नदीमा आएको बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ । मृतक तीन जनाको बिहीबार शव फेला परेको हो ।बाढीमा बगेका १७ जना हराइरहेका छन् भने सम्पर्कविहीन भएका चार जना सम्पर्कमा आएका छन् ।

Advertisement

एक चिनियाँ नागरिक र एक भारतीय नागरिकको शव सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिकामा र एक जना चिनियाँ नागरिकको इन्द्रावती–११ मा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

सम्पर्कविहीन भएका त्रिपुरासुन्दरी–१ का देव खत्री, राम थापा, सुभाष जिरेल र कमल खत्रीको नेपाली सेनाले उद्धार गरेको छ । बाढीमा परी मेलम्ची नगरपालिका–४ का कुमार तामाङसहित दुई भारतीय र दुई जना चिनियाँ नागरिक घाइते भएका छन् । घाइतेको बी एन्ड बी र मेलम्ची सुरक्षा बेस क्याम्पमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका ६५ जनालाई चिनो हाइड्रोपावर ललितपुरनजिक स्थानान्तरण गरिएको छ । त्यस्तै मेलम्ची खानेपानीमा कार्यरत मजदुर तथा बाढीबाट प्रभावित अन्य स्थानीयवासीसहित थप ९४ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा दुई भारतीय र एक चिनियाँ नागरिकसहित हेलम्बु गाउँपालिका–२ का माधव भण्डारी, ज्ञानेन्द्र कक्षपति र गणेश ज्योति, हेलम्बु–३ की टीकामाया खड्का, हेलम्बु–६ का च्याङ्गा तामाङ र काली तामाङ, हेलम्बु–१ का सुनील, पूर्ण, कामी तामाङ र उनकी आमा, चौतारा साँगाचोकगढी नगरपालिका–१४ का सुरेन्द्र नेपाल, ठेगाना नखुलेको होमराज घिमिरे र विजय बासुमन्तरी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिए ।

मङ्गलबार दिउँसो हेलम्बु गाउँपालिका–१ को रितेकतेकमा पहिरोले खोला थुनिएर एक्कासि खुल्दा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भएको हो । रितेकतेकमा मेलम्ची खोला दुई पहाडबीचको खोँच भएर बग्ने र खोला थुनिएर फुटेकोजस्तो देखिएको हेलिकप्टरबाट अवलोकन गरेर फर्किनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं त्यस क्षेत्रका सांसद शेरबहादुर तामाङले बताए । “माथिल्लो क्षेत्रमा पनि जोखिम कायमै देखिन्छ, रितेकतेकमाथि पनि स–साना पहिरो गएको जस्तो देखिन्छ तर मौसम नखुलेकोले प्रस्ट देख्न सकिएन,” मन्त्री तामाङले भने।

बाढीका कारण हेलम्बु–१ को तिम्बु, नागोटे, हल्दे र मेलम्ची १० र ११ जोड्ने चारवटा पक्की पुल, मेलम्ची–हेलम्बु क्षेत्रका पाँचवटा झोलुङ्गे पुल र सातवटा ट्राउट माछा फार्म बगेका छन् ।

मङ्गलबार रातिको बाढीले मेलम्ची बजारलाई बगर बनाउनुका साथै हेलम्बु क्षेत्रमा ठूलो क्षति पुगेको छ । मेलम्चीदेखि तिम्बुसम्मको सडक नदीले कटान गरेको छ । नदीले कतिपय स्थानमा दायाँबायाँ पाँच सय मिटरमाथिसम्म कटान गरेको हेलम्बु–३ का सोम ज्योतिले बताए । “सडक बगाएको छ, बजारमा खोला बगिरहेको छ । तिम्बुदेखि चनौटेसम्मका दुई सयभन्दा बढी घर बगेका छन्,” उनले भने।

हेलम्बु क्षेत्रका तीन सयभन्दा बढी स्थानीयवासी सुरक्षित स्थान खोज्दै माथिल्लो क्षेत्रतर्फ गएका छन् । “तीन दिनदेखि कुखुराको खोर, पाहुना घर, बस्तुगोठ जे खाली छ, त्यहीँ बसिरहेका छौँ,” हेलम्बु–३ का गणेशकिरण ज्योतिले बताए । “माथि बसेर आफ्नो घर बगाएको हेर्ने पालो कुरेर बसिरहेका छौँ,” उनले भने।

यसैगरी पाँचपोखरी गाउँपालिका–३, लार्केखोलामा आएको बाढीले नदी किनारका सबै संरचनामा क्षति पु-याएको पाँचपोखरी–३ का अध्यक्ष निमाछिरिङ तामाङले जानकारी दिए । “हिँउ पहिरोले क्षति पु¥याएको हुनुपर्छ,” तामाङले भने, “करिब ५० घर विस्थापित भएका छन् ।”

बाढीबाट विस्थापित हेलम्बु–मेलम्ची क्षेत्रका पीडित परिवार सुरक्षित स्थान खोज्दै माथिल्लो क्षेत्रतर्फ गइरहेका छन् ।

मेलम्चीका अधिकांश पीडितले इन्द्रेश्वरी माध्यमिक विद्यालय र नेपाली सेनाको ब्यारेकमा आश्रय लिइरहेका छन् ।

बाढीले इलाका प्रहरी कार्यालय हेलम्बु, प्रहरी चौकी तालामाराङ, सशस्त्र प्रहरी बल अस्थायी चेक पोस्ट हेलम्बु र सुरक्षा पोस्ट बगाएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ । हराइरहेका नागरिकको खोजी, पीडितको उद्धार र राहतका काम निरन्तर भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।

बिहीबार गृह मन्त्रालयबाट सय थान टेन्ट, २५० थान त्रिपाल, ५० थान स्लिपिङ ब्याग र बागमती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट ४८ बोरा चामल, दुई बोरा नुन, २३ बोरा चिउरा तथा चाउचाउलगायतका सामग्री उपलब्ध गराइएको प्रजिअ पोखरेलले जानकारी दिए ।

बाढीपीडितका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले हेलम्बु र मेलम्चीलाई तीन÷तीन लाख रुपियाँ सहयोगको घोषणा गरेको छ ।

काठमाडौँवासीलाई खानेपानी उपलब्ध गराउने मुहान क्षेत्रको विपत्तिमा मेलम्ची र हेलम्बुलाई कागेश्वरी, मनोहरा र गोकर्णेश्वर नगरपालिकाले क्रमशः १०/१० र पाँच लाख रुपियाँ सहयोगको घोषणा गरेको स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।

दुई करोडको सहयोग बाढीग्रस्त क्षेत्रको पुनर्निर्माणमा खर्चिने गरी काठमाडौँ महानगरपालिकासँग समन्वय भएको समेत मन्त्री तामाङले बताए । गोरखापत्र दैनिकमा विदुर आचार्यले खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

घर फर्किए म्यादी प्रहरी उत्तर कोरियामा ‘ज्वरो’बाट २२ लाख प्रभावित मदन भण्डारी स्मृति यु–१४ लिटिल स्टार क्रिकेटको उपाधि बुटवल टाइगर्सलाई गठबन्धनलाई भारी मतले पछि पार्दै कलैया उपमहानगरमा एमाले विजयी तिलोत्तमामा गठबन्धनका खाँणलाई पछि पार्दै चापागाईं, उपप्रमुख चौधरीको फराकिलो मतान्तर कायम स्वस्थ जीवन जिउन उचित आहारमा ध्यान दिऔँ : लुम्बिनी प्रदेश प्रमुख शेरचन रुपन्देहीका ८ पालिकाका निर्वाचित जनप्रतिनिधिले लिए शपथ सैनामैनाका जनतालाई पूर्व मेयर कार्कीको प्रतिबद्धता-‘जनसेवामा जुट्न कुनै कुराले बाधा पुर्याउने छैन’ सैनामैना प्रमुखमा गठबन्धनका शर्मा, उप-प्रमुखमा एमालेकी राना रुपन्देहीको गैडहवा प्रमुख र उपप्रमुखमा एमाले विजयी लिटिल बर्ड्समा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम एसिया कप छनोट: किरण पनि टिमबाहिर, चार खेलाडीलाई अवसर सम्मरीमाईमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी रुपन्देहीको मर्चवारी अध्यक्षमा कांग्रेस परित्याग गरेका बरई विजयी तिलोत्तमामा खाँण भन्दा चापागाईं १८६ मतले अगाडि ६५० पालिकामा नतिजा आयो, कांग्रेसलाई २९२ पालिका पाल्हीनन्दन गाउँपालिकामा पुनःमाओवादीका बैजुप्रसाद गुप्ता शपथ ग्रहणपछि सिद्धार्थनगरका मेयरकाे घाेषणा- आफूले पाएकाे मत बराबर वृक्षारोपण गर्छु भरतपुर महानगर अपडेट : रेनुलाई ३ हजार बढी मतान्तर, पछ्याउँदै सुवेदी छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु