ताजा अपडेट »

प्रेमिकालाई कालिगण्डकीमा फाल्ने शिक्षक कहाँ छन् ?

सोमबार, ३१ जेठ २०७८, १९ : ५४
18 Shares

गुल्मी । १२ वर्ष अघि हामीले युद्ध पत्रिकारिताको शैलीमा निकै कठिन यात्रा र ठूलै जोखिम मोलेर रिर्पोटिङ्ग गरि तयार पारेको एउटा दर्दनाक घटनाको रेडियो कार्यक्रम ‘ओझेल खबर’ अहिलेपनि स्मरणमा छ । २०६६ सालमा त्यस दर्दनाक घटना हामीले उठान गर्दा घटना घटेकै १० वर्ष भइसकेको थियो । त्यतिका वर्षसम्म पनि ती महिलाले न्याय पाउन सकेकी थिइनन् । घटना थियो, गुल्मीको सत्यवती गाउँपालिका–४ , साविक लिम्घा गाविस एक्सिङ्ग गाउँको ।

रिडीबाट तम्घास आउने क्रममा एक जनाले सो गाउँमा मगर समुदायकी एक महिला वर्षौ अघिदेखि अन्यायमा पर्दै आएको कुरा सुनाए। त्यसको दोश्रो दिन तम्घासबाट म बस चढेर रिडी पुगें । त्यहाँबाट हिँडेर मैले चिनेको साथी अस्लेवाको अर्जुन कनौजेको सम्पर्कमा गएँ। ती महिला रहेको एक्सिङ्ग गाउँ मेरा लागि अपरिचित थलो थियो । अस्लेवाका केहि साथीहरुले ती पीडित महिलाका पक्षमा कुरा उठाउँदा जोखिम हुने र मोल्नुपर्ने बताए । त्यसपछि रातको समयमा अस्लेवाबाट हिडेरनै त्यो गाउँको नजिकै एकजना मैले चिनेको ब्यक्तिको घरमा बास बसेर बिहान गाउँबासी नउठ्दै ती महिलाको घरमा पुगें ।

क्यामरा वा रेकर्डर देखाएर रिर्पोटिङ्ग गर्ने अवस्था थिएन । खल्ती मै रेकर्डर अन गरेर उनको १० वर्ष अघिको कथा–ब्यथा रिर्पोटिङ्ग गर्न सुरु गरियो । ती महिलाको नाम गोप्य राख्दै उनले विगतमा भोगेको कुरा सबै सोधियो । जवाफमा उनले स–विस्तार भनेकी थिइन् ‘वि.सं.२०५३ सालतिर मेरो श्रीमान ट्रकमा खलासीको काम गर्नुहुन्थ्यो । त्यही साल बलेटक्सार तिरको डाँडामा ट्रक दुर्घटनामा परेर उहाँको मृत्यु भयो । मेरो एउटी छोरी थिइन् । मेरो श्रीमानको मृत्यु भएपछि त्यही नजिकै रहेको एक्सिङ्ग माविका शिक्षक भेषबहादुर सिंजाली मेरो घरमा आउने–जाने गर्न थाले । उनि अविवाहित थिए । बिस्तारै उनको माया जालमा फँसे । विवाह गर्छु भनेपछि एउटा जोडी गुमाए पनि अर्कोकोे साथ पाउने भएँ भनेर म फेरि नयाँ दुनियाँमा रमाउन थाले । विवाह गर्छु भनेपछि मैले उनलाई सर्वस्व सुम्पिएँ । सम्बन्ध र निरन्तर सम्पर्कमा बस्दैजाँदा उनले मलाई गर्वधारण गराए।’

उनले विगत सम्झँदै निरन्तर सुनाइरहिन्‘२०५६ साल माघ महिनाको कुरा थियो । मेरो पेटमा उनको ३ महिनाको गर्भ भइसकेको थियो । त्यही क्रममा उनले मलाई पाल्पातिर घुम्न जाउँ भनेर लगेर गए । पाल्पा पुगेपछि गर्भपतन गराउने कुरा भयो । मैले मानिन्। उनका दाजु त्यतिबेला बुटवलमा थिए । खै दाजुसँग फोनमा के–के कुरा गरे ? मैले सुनिन। त्यसपछि हुन्छ,घरै जाउँ बिहे गरेर बसौंला भन्दै घर फर्कियौं हामी। मेरो पहिलाको श्रीमान तर्फकी ३ वर्षकी छोरी बोकेर उनीसँगै रिडी आउँदा रात परिसकेको थियो । उनले एक किलो स्याउ किने। राता–रात हिँडेर घर जाउँ भनेर हामी रिडीबाट हिड्यौं।’

अलि पर खोपाको भिरमा पुगेपछि उनले एकछिन बसौं स्याउ खाउँ भने र तल कालगण्डकी नदि हेर्दै बाटाको छेउमा हामी दुबैजना बस्यौं । उनले स्याऊ दिए । मैलै छोरी बोक्दै स्याउ टोक्दै थिएँ । रात छिप्पी सकेको थियो । गाउँ सुतिसकेको थियो । मिठा–मिठा गफ गर्दा–गर्दै र मैले टोक्दै गरेको स्याउ निल्न नपाउँदै एक्कासी उनी जुरुक्क उठेर मलाई समातेर कालिगण्डकी नदिमा फाले।’ क्रसित हुँदै उनले भनिन् ।

उनी रुँदै कहाली लाग्दो र हृदयविदारक घटना बारे भन्दै गइन्,पुस–माघको जाडो तल नदिमा झरेपछि मैले आफूलाई भन्दापनि पूर्व श्रीमानको चिनो,पछाडि बोकेको छोरीलाई बचाउन सकभर कोसिस गरेँ । आमा.. आमा… भन्दा भन्दै छोरी मेरो ढाडबाट खुस्किएर नदिले बगाएर लग्यो । मैले पौडी खेलेर छोरी समात्छु भन्दा भन्दै कता बगायो कता । त्यसपछि पौडी खेल्दै कालिगण्डकी नदिको पारि पट्टि गएँ। कपडा भिजेर निथ्रुक्क थियो । जाडोले काँप्दै छोरी सम्झिँदै रोइरहें अली तलसम्म भेटिन्छे कि भनेर हेरिरहें । एकछिन पछि झेलुङ्गे पुल तरेर पारी खोपाको भट्टिमा रहेका मान्छेहरुलाई उठाएँ। त्यो निष्ठुरी कहाँ गयो थाह भएन । मध्यरातमा त्यस ठाउँका दिदी-बहिनीहरुको सहारामा रात कटाएर अर्को दिन घर आएकी हुँ ।’

हामी त्यतिबेला रिर्पोटिङ्ग गर्न जाँदा उनले अर्कैसँग विवाह गरिसकेकी थिइन्। उनले कोखैमा रहेकी छोरी देखाउँदै भन्दै थिइन् ‘यहि छोरी हो त्यतिबेला पेटमा रहेकी । पूर्व श्रीमान तर्फकी छोरी भेषबहादुरले गर्दा गुमाए पनि यो उनको गर्भको चिनो हो । ती छोरी १०/१२ वर्ष उमेरकी थिइन् । आमाले त्यो कहालीलाग्दो घटना सुनाउँदै अश्रुधारा बगाउँदा छोरी पनि आमासँगै रोएकी थिइन् । विवाह गर्ने सपना देखाएर एकल महिलाको जवानी लुटेर गर्भपतन गराउन नमानेपछि कालिगण्डकी नदिमा प्रेमिकालाई फालेर त्यसै रात बेबत्ता भएका शिक्षक भेषबहादुर सिंजाली त्यतिबेलासम्म बेपत्ता थिए। र,अहिले पनि बेपत्ता रहेको स्थानीयले बताएका छन्।

यसर्थ हामीले रिर्पोटिङ्ग गरेको १२ वर्षपछि र कालिगण्डकी नदिमा फालिएको २२ वर्षपछि हामीले पुनः फ्लोअप गर्दैछौं। सत्यवती गाउँपालिका-४ का वडाध्यक्ष दानबहादुर रानालाई सोद्धा ती महिलाको ३/४ वर्ष अघि नै मृत्यु भएको बताए । आमाको मृत्यु भएपछि भेषबहादुर सिंजालीकी छोरी बुटवल आफन्तसँग बस्ने गरेको वडाध्यक्ष रानाले जानकारी दिए । भेषबहादुर २०५६ साल माघ महिनामा त्यो घटना घटाए देखिनै हालसम्म बेपत्ता भएको वडाध्यक्ष रानाले सुनाए ।

भेषबहादुर सिंजाली एक्सिङ्ग माविका शिक्षक मात्रै थिएनन् । तत्कालिन समयमा नेकपा मालेका स्थानीय होनहार कार्यकर्ता र गाउँमा चल्ताफिर्ता समाजसेवी पनि थिए । वडाध्यक्ष भन्छन्–‘त्यति बेलासम्म समाजसेवी भएर के गर्ने त्यत्रो घटना घटाए पछि ।’ ती महिला न्यायका लागि बाँचुञ्जेल संघर्ष गरिन् । हामीले त्यो घटना उठाएपछि भेषबहादुर सिंजालीको परिवारबाट सम्पत्ति दिलाउँछौं भनेर आश्वासन दिन सुरु गरेका थिए ।

तर अहिले आएर उनकी छोरी २२ वर्ष उमेर पुग्दा समेत नागरिकता पाउन नसकेर अलपत्र परेको वडाध्यक्ष रानाले बताए । उनले भने-‘उनको नागरिकता बनाउनका लागि मैले सिडियो साबलाई फोन गरेर भनेको छु । मुचुल्का उठाएर ल्याउन भन्नु भएको छ । तर, लकडाउनले गर्दा सकिएको छैन ।’ सत्ववती गाउँपालिका अध्यक्ष पारिश्वर ढकाललेत्यति ठूलो अपराधको घटना गाउँमै गुपचाप हुनु गलत भएको भन्दै पुनः सञ्चार माध्यमले उठाई दिनुपर्नेमा जोड दिए । उनले भने ‘आजको घटना हो र कालिगण्डीकी जलविधुत-ए परियोजना सुरु हुनुको दुई वर्ष अघिको कुरा हो । हालसम्म फरार भएका ती शिक्षकलाई प्रहरी प्रशासनले खोजेर कानूनी दायरामा ल्याउनु पर्दछ ।’

समाजलाई शिक्षित गराउने शिक्षक , समाजमा परिवर्तन ल्याउने समाजसेवी मानिने शिक्षकबाट नै जघन्य आपाराधिक क्रियाकलाप तथा आपराधिक घटना घटाउँदा पनि उनले सजाय र पीडितले न्याय नपाउनु बिडम्बना हो । त्यति ठूलो अपराधको घटना घटेको २०औं वर्ष सम्मपनि एउटी गरिब र बेसहारा महिलालाई न्याय दिलाउनेतर्फ हालसम्म न स्थानिय समाजसेवीहरु लागे न त प्रहरी प्रशासनले नै चासो देखायो । यसर्थ यतिका वर्षपछि पुनः एक पटक त्यस घटनाको फ्लोअप गरेका हौं।

घटना बारे सम्पूर्ण कुरा बताई सकेपछि गुल्मी जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले भने-‘यो घटना मलाई थाह थिएन । पहिलाे पटक आज मैले सुने अब म यस घटनाबारे खोज-अनुसन्धान गर्नेछु ।’ त्यति डर लाग्दो घटना एउटा सञ्चारकर्मी र सञ्चार माध्यमले बाहेक अन्य सञ्चार माध्यममा स्थान पाएन । जसका कारण हालसम्म अपराधमा संलग्न शिक्षक सिंजाली ‘कहाँ लुकेर उन्मुक्ति पाएका छन् !भन्ने कुरा कसैलाई थाह छैन । गुल्मीको प्रहरी प्रशासन यस घटना खोजी नीति गर्नेतर्फ गम्भीर बनोस् भन्ने हाम्रो आग्रह छ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार