ताजा अपडेट »

बजेटको प्राथमिकतामा रुपन्देही

आइतबार, १६ जेठ २०७८, ११ : ३३
10 Shares

बुटवल । आर्थिक वर्ष २०७८/७९ मा प्रस्तुत बजेटले अर्थमन्त्री विष्णु पौडेलको गृह जिल्ला रुपन्देहीका महत्पूर्ण योजनाहरुलाई समेट्न सफल भएको छ । शनिबार अर्थमन्त्री पौडेलले प्रस्तु गरेको बजेटमा जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका तथा अन्य साना ठूला योजनाहरुलाई महत्वका साथ समेटिएको छ ।

लुम्बिनी प्रदेशको रुपन्देहीबाट सांसद निर्वाचित अर्थमन्त्री विष्णु पौडेलले प्रदेशमा भौतिक पूर्वाधार, पर्यटन, उद्योग, स्वास्थ्य, पूर्वाधार, खानेपानी, खेलकुद लगायतका क्षेत्रका केही पूराना योजनामा बजेट छुट्याएका छन् भने केही नयाँ योजना थपेका छन् । लामो समयदेखि पूरा हुन नसकेको लुम्बिनी गुरुयोजना आगामी २ वर्षभित्र पूरा गर्ने प्रतिबद्धतासहित डेढ अर्ब बजेट बिनियोजन भएको छ । यो योजनाले रुपन्देहीको लुम्बिनी, देवदह, सैनामैना लगायतका अधिकांश क्षेत्रहरुलाई समेट्ने छ ।

यसैगरी रुपन्देहीको भैरहवामा निर्माणाधीन विमानस्थलको लागि ३ अर्ब ५३ कराेड विनियोजन भएको छ । विमानस्थल निर्माण सम्पन्न गर्न र दोस्रो टर्मिनल भवन निर्माणका लागि अर्थमन्त्री पौडेलले बजेट विनियोजन गरेका हुन् । निर्माणाधिन उक्त अन्तर्राष्ट्रिय विमान स्थल सञ्चालनमा आउएपछि यस क्षेत्रमा पर्यटनमा फड्को मार्नुका साथै पश्चिम नेपालकै सबैभन्दा ठूलो आर्थिक केन्द्रको रुपमा विकास हुने अपेक्षा गरिएको छ । निर्माणको काम अन्तिम चरणमा पुगेको विमानस्थलमा दोस्रो टर्मिनल भवन बनाउने प्रक्रिया शुरु भएको छ । एतिहासिक तथा पर्यटकीय स्थलका रुपमा परिचित अंग्रेज फौजलाई हराएको बुटवलको जीतगढीलाई संरक्षण गरी विस्तृत अध्ययन गर्नका लागि बजेटले सम्बोधन गरेको छ । यसैगरी लुम्बिनीमा सांस्कृतिक स्मार्ट सिटी निर्माण गर्ने बजेटमा उल्लेख गरिएको छ । रुपन्देहीका प्रमुख आर्थिक बुटवल र भैरहवालाई मेगा सिटीको रुपमा विकास गर्ने बजेटको लक्ष्य रहेको छ ।

यस्तै कालीगण्डकी–तिनाउ डाइभर्सनको डीपीआर आउँदो वर्ष पूरा गरेर काम शुरु गर्ने विषयले पनि बजेटमा महत्व पाएको छ । कालीगण्डकीको पानी तिनाउ नदिमा डाइभर्सन गर्न सकेको अवस्थामा रुपन्देहीका अधिकांश खेतीयोग्य जमिनमा सिंचारई सुविधा उपलब्ध गराई कृषि क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ । यसैगरी यसरी तिनाउ खोलामा बहने कालीगण्डकीको पानीबाट उद्युत उत्पादन गरी आर्थिक यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

अर्थमन्त्री पौडेलले बुटवल पाल्पा सडक खण्ड अन्तरगतको सिद्धबाबामा सुरु मार्ग निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिने प्रतिवद्धता जनाएका छन् । केही दिन अघि मात्रै ग्लोबल टेन्डर आह्वान गरिएको सुरुङ मार्ग निर्माणलाई सार्थकका दिलाउने गरी बजेटमा महत्वका साथ समावेश गरिएको छ । सिद्धबाबामा सुरुङमार्ग निर्माणसँगै यस सडक अन्तरगत दुर्घटनामा ठूलो मानवीय तथा भौतिक क्षतिमा कमी आउने छ । यसरी अर्थमन्त्री पौडेलले सिद्धार्थ राजमार्गलाई डेलिकेटेड राजमार्ग बनाउने योजना प्रस्तु गरेका छन् । यो योजना सफल भएको अवस्थामा रुपन्देही मात्र नभई यस सडक खण्डबाट पाहाडी जिल्लाहरु पाल्पा, गुल्मी, स्याङ्जा लगायतका जिल्लाहरुले समेत फाइदा लिन पाउने छन् ।

सडक विस्तार तथा स्तरोन्नतीलाई महत्वका साथ समेटका अर्थमन्त्री पौडेलले गृह जिल्ला रुपन्देहीलाई समेटी बुटवल–कोहलपुर सडकलाई चार लेनको बनाउनका लागि आवश्यक बजेट विनियोजन भएको बताए । यस्तै बजेटले भैरहवामा क्रिकेट मैदान निर्माणलाई पनि महत्व दिएको छ । अर्थमन्त्री पौडेलले सिद्धार्थनगरमा सडक, ढल, खानेपानीका लागि पूर्वाधार बनाउन बजेट विनियोजन भएको जानकारी गराए ।

केही समयदेखि चर्चामा रहेर केही महिनाअघि मात्रै शिलान्यास भएको रुपन्देहीको मोतिपूरको औद्योगिक क्षेत्र २ वर्षभित्र पूरा गरिने बजेटमा उल्लेख छ । यस्तै रूपन्देहीको तिलोत्तमामा बन्ने बुटवल मेडिकल कलेजको डीपीआर पूरा गरी निर्माणको काम शुरू गर्ने, बेलहियामा मालबाहक गाडी पार्किङ गर्न ‘पार्किङ ग्राम’ बनाउने योजना प्रस्तुत गरेका छन् । बुटवल-भैरहवा-लुम्बिनीका लागि विद्युतीय बस चलाउन अनुदान दिने र बुटवलमा विद्युत् तार भूमिगत गर्ने योजना प्रस्तु गरिएको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।