ताजा अपडेट »

नेपाल–खनालको राजनीतिक यात्रा

मंगलबार, ११ जेठ २०७८, ०७ : ४९
8 Shares

बुटवल । एमालेको कारबाहीमा परेका नेता माधव नेपाल १३ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका थिए। नेपालले २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता पाएका थिए। २०२८ सालमा संगठन विस्तारका लागि काठमाडौं आएका नेपाल सन् १९९३ देखि नेकपा (एमाले) का महासचिव भए। उनीसँग माथिल्लो सदन राष्ट्रिय सभाको प्रतिपक्षी दलको नेता भएको अनुभव पनि छ।

नेपाल सन् १९९३ मा नेकपा (एमाले) को विदेश मामिला विभागका प्रमुख थिए। त्यस्तै केही वर्षअघि नेकपा (एमाले) ले स्थापना गरेको प्रथम संसदीय निर्वाचन समितिका संयोजक पनि भएका थिए। नेपाल सन् १९९० मा संयुक्त वाम मोर्चाको सदस्य र सन् १९९१ मा नेकपा (एमाले) केन्द्रीय संगठन समितिको पोलिटब्युरो सदस्य भएका थिए। सन् १९७८ मा उनी नेकपा (माले) का संस्थापक सदस्य र पोलिटब्युरो सदस्य थिए। नेपाल सन् १९७६ मा राजनीतिक अभियोग–राजकाज अपराध ऐनअन्तर्गत दुई वर्ष कारावासमा परेका थिए।

उनी सन् १९७५ मा समन्वय केन्द्रका संस्थापक सदस्य, १९७१–७४ अवधिमा नेपाल क्रान्तिकारी संगठन (माले) मोरङको जिल्ला सदस्य र १९७० मा वीरगन्ज एसटिआर कलेजमा स्वतन्त्र विद्यार्थी संघको विधान मस्यौदा समितिका सदस्य थिए। नेकपा एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपाको वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख थिए। साथै एमालेको नवौं महाधिवेशनमा हालका पार्टी अध्यक्ष ओलीसँग झिनो मतले पराजित भएका नेपाल एमालेकै तर्फबाट २०६६ सालमा प्रधानमन्त्रीसमेत भएका थिए। अहिले केपी ओली नै अध्यक्ष भएका बेला उनलाई पार्टीबाट निष्कासित गरियो।

नेता झलनाथ खनालको राजनीतिक जीवन २०२१ सालमा सुरु भएको हो। मेची विद्यार्थी संगठनको अध्यक्ष भएर उनले राजनीतिक यात्रा थालेका हुन्। उनी २०२३ सालमा मेची विद्यार्थी युनियनका अध्यक्ष बन्न सफल भएका थिए। २०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्तिपछि उनले सक्रिय राजनीति थालेका हुन्।

उनी २०३० सालमा तीन सार्वजनिक सुरक्षा ऐनअन्तर्गत १४ महिना जेल परे भने राजा वीरेन्द्रको राज्याभिषेकको समयमा पनि ६ महिना जेल परे। जेलबाट छुटेपछि पूर्णकालीन भूमिगत भएका यिनी २०३३ सालमा झापामा पक्राउ परेका थिए। खनाल २०३६ सालको प्रजातान्त्रिक आन्दोलनपछिको आम माफीमा झापा जेलबाट रिहा भए।

पार्टीले जनमतसंग्रह बहिष्कारको नीति लिएको हुनाले खनाल पुनः भूमिगत भएका थिए। झापा विद्रोहपछि उनी २०३१ सालमा गठित ‘क्रान्तिकारीहरूको संगठन’ को–ओर्डिनेसन कमिटीका संस्थापक सदस्य भएका थिए। २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टी मालेका संस्थापक सदस्य भएका खनाल चार वर्षपछि ६ वर्षका लागि महासचिव भएका थिए। नागरिक दैनिकमा खबर छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।