ताजा अपडेट »

निषेधाज्ञाको फरक-फरक नियमले ढुवानी व्यवसायी मारमा

मंगलबार, २१ बैशाख २०७८, २१ : १५
10 Shares

बुटवल । कोरोना महामारीको दोस्रो लहरसँगै जारी गरिएको निषेधाज्ञाले तिनाउका टिप्पर व्यवसायी तथा आवद्ध कामदारहरु मारमा परेका छन् । सरकारले आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै ढुवानी व्यवसाय सञ्चालन गर्न अनुमति दिएपनि रुपन्देही र पाल्पा जिल्लाले आह्वान गरेको फरक–फरक मापदण्डका कारण व्यवसायीहरु मारमा परेका छन् ।

निषेधाज्ञाको पालना गर्दै पाल्पा जिल्लाले दिनमा मात्रै ढुवानी व्यवसायीहरुलाई सञ्चालन गर्न अनुमति दिएको छ भने रुपन्देहीले रातको समयमा सञ्चालनको अनुमति दिएको छ । पाल्पाको तिनाउ गाउँपालिकामा सञ्चालित चुनढुङ्गा खानी उद्योगहरुबाट रुपन्देहीका विभिन्न उद्योगहरुमा कच्चा पदार्थ ढुवानी गर्ने व्यवसायीहरु दुई जिल्ला बीचको समय तालिका नमिल्दा मर्कामा परेका छन् ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले विहान ४ बजेदेखि साझ ९ बजेसम्म मात्रै ढुवानीका साधन सञ्चालन गर्न पाउने नियम बनाएको छ भने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रातको ८ बजेदेखि विहान ४ बजेसम्म ढुवानीका साधनलाई अनुमति प्रदान गरेको छ । ‘यसरी पाल्पाले अनुमति दिएको समयमा चल्दा रुपन्देहीबाट अनुमति छैन, रुपन्देहीबाट अनुमति मिल्ने समयमा पाल्पाबाट अनुमति पाउँदैनौ ।’–ढुवानी व्यवसायी तोया लम्सालले गुनासो गर्दै भने ‘कि त सरकारले हामीलाई चल्नै नपाउने गरी पूर्ण रुपमा बन्द गर्न भन्नु पर्यो होइन भने सञ्चालनको वातावरण मिलाउनु पर्यो ।’ सरकारले निषेधाज्ञाको समयमा पनि ढुवानी व्यवसायीहरुलाई सञ्चालन गर्ने अनुमति दिएको हुँदा आफूहरुले कर बुझाउनु पर्ने बाध्यता रहेको तर, दुई जिल्ला बीचको फरक मापदण्डले काम ठप्प रहेकोहुँदा थप आर्थिक संकटमा पर्ने उनीहरुको गुनासो छ । एक जिल्लाबाट अर्को जिल्लामा ढुवानी गर्नु पर्ने भएकोहुँदा दुई जिल्ला बीच प्रशासन कार्यालयहरुले समन्वय गर्न नमान्दा व्यवसायीहरु मर्कामा परेका छन् ।

यस विषयमा कुरा गर्दा दुबै जिल्लाका अधिकारीहरुले आ-आफ्नो अडानलाई छोड्न नचाहेको उनीहरुको गुनासो छ । प्रमुख जिल्ला अधिकारी पाल्पाका योगेन्द्रप्रसाद पाण्डेले ढुवानी व्यवसायीहरुले आफूहरुसँग समस्या बारे अहिलेसम्म जानकारी नगारएको ग्लोबल आवासँगको कुराकानीमा बताएका छन् । ‘उहाँहरुले अहिलेसम्म आफ्नो समस्या बारे हामीलाई जानकारी गराउनुभएको छैन ।’-पाण्डेले भने ‘उहाहरुले हामीलाई जानकारी गराएपनि समय परिवर्तन गर्ने पक्षमा हामी छैनौं ।’ ढुवानी व्यवसायीहरुका लागि भनेरै दिनमा निर्वाध सञ्चालन गर्न दिइएको बताउँदै उनले आवश्यक परेका व्यवसायीहरुले नै रुपन्देहीसँग समन्वय गरेर जानु पर्ने अडान व्यक्त गरे ।

यता रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्पमान तामाङले पनि आफूहरुले समय तालिका परिवर्तन नगर्ने अडान व्यक्त गर्दै निषेधाज्ञालाई थप कडाई गर्ने योजनामा रहेको जानकारी गराए । ‘हामीले रातको ८ बजेदेखि विहान ४ बजेसम्म ढुवानीका साधानहरुलाई सञ्चालन हुन दिएकै छौं ।’-तामाङले भने ‘हामीलेभन्दा पनि पाल्पा जिल्लाले समय मिलाउनु पर्ने कुरा हो ।’ रुपन्देहीमा ढुवानी व्यवसायीहरुका लागि दिनको समय कायम गर्ने हो भने आधाभन्दा बढी यातायात तथा बजार सञ्चालन हुने बताउँदै उनले निषेधाज्ञालाई प्रभावकारी बनाउन रातको समय तोकिएको बताए ।

‘रुपन्देहीमा पल्पामाभन्दा बढी उद्योगहरु सञ्चालन छन्, उनीहरुमा आउने कञ्चा पदार्थ लगायतका सामाग्री ढुवानीका लागि दिनको समय तोक्यो भने चहलपहल समान्यभन्दा आधा मात्रै कम हुन्छ ।’–प्रमुख जिल्ला अधिकारी तामाङले भने ‘पाल्पामा के कसरी गर्नुभएको छ, हामीले समन्वय गरेपनि समय तालिका परिवर्तन हुँदैन, पाल्पाले नै यसको व्यवस्थामा मिलाउनु पर्छ ।’

पाल्पाको तिनाउ गाउँपालिकामा मात्रै ५० बढी व्यवसायीहरुद्वारा ३ सय बढी टिप्पर सञ्चालन हुँदै आएका छन् । चैत्र,बैशाख,जेठ टिप्पर व्यवसायीको सिजन रहेको बताउँदै उनीहरुले पोहोरको जस्तै यो वर्ष पनि ठप्प हुँदा संकटमा परेको गुनासो गरे । गत साल पनि कोरोना संक्रमणका कारण चैत्रमहिनादेखि नै लकडाउनको आह्वान गर्दा व्यवसायीहरुले ठूलो आर्थिक क्षति व्यहोरेका छन् ।

उनीहरुले ३/४ महिना मात्र निरन्तर सञ्चालन गरेर वर्षभर खर्च व्यवस्थापन गर्नुपर्ने र त्यही समयमा व्यवसाय ठप्प हुँदा कोरोनाबाट बचेपनि व्यवसायले डुवाउने चिन्ता थपिएको तमन्ना मल्टि प्रपोजका प्रबन्ध निर्देशक समेत रहेका ढुवानी व्यवसायी तोया लम्सालले गुनासो गरे।

टिप्परका चालक,सह–चालक,ढुवानीमा कार्यरत कर्मचारी गरी प्रतक्ष्य रुपमा ७ सय बढी रोजगार छन् । तिनाउमा ६ वटा खानी छन् । ती खानीबाट विभिन्न सिमेण्ट उद्योगमा ढुवानी गर्दै आएका उनीहरु निषेधाको फरक-फरक मापदण्डले ठप्प हुन पुगेका छन् । प्रति टिप्पर खरिद गर्दा ३६ लाख पर्ने र मासिक किस्ता ५० देखि ७५ हजारसम्म तिर्नु पर्ने व्यवसायीहरु गत वर्षको जस्तै ठप्प हुँदा चौपट हुने भन्दै गुनासो गर्ने गरेका छन् ।

जेठ मसान्तदेखि कार्तिक मसान्तसम्म खानीजन्य पदार्थ ढुवानीमा सरकारले नै रोक लगाउने गरेको छ । बाँकी रहेका अवधिमा पनि व्यवसायीहरुले काम गर्न नपाउँदा समस्यामा परेका हुन् । व्यवासय र व्यवसायी नै धरापमा परेपछि यसबाट आश्रित सयौं श्रमजिविका परिवारबाट हजारौंको जीवनमा असर पर्ने ढुवानी व्यवसायी टंक बस्यालले गुनासो गरे । ‘असार मसान्त नजिकिँदै छ, यो व्यवसाय सिजनेवल भएको हुँदा वर्ष परिका लागि कमाउने समयावधि पनि सकिँदै छ ।’-ग्लोबल आवाजसँग कुरा गर्दै उनले भने ‘यही अवधिमा सम्बन्धित पक्षले समन्वय गर्न नसक्दा हात बाधेर बस्नु परेको छ । यस्तो अवस्थामा सरकारलाई कर कसरी तिर्ने ?’ गत वर्षपनि कोरोना महामारी र लकडाउनका कारण व्यवसाय ठप्प हुँदा आर्थिक क्षति व्यहोरेका ढुवानी व्यवसायीहरु यो वर्ष पनि सोही अवधिमा ठप्प भएर बस्नुपर्दा मर्कामा परेका छन् ।

रुपन्देहीको सिमा नजिकै रहेका पाल्पाका खानीबाट करिब ९० प्रतिशत चुनढुुङ्गा रुपन्देहीमा भित्रिन्छ । रुपन्देहीमा करिब एक दर्जन सिमेण्ट उद्योग छन् । देशमै ५० प्रतिशत बढी सिमेण्ट उत्पादन रुपन्देहीबाट हुने गरेको छ । ढुवानी ठप्प हुँदा कच्चा पदार्थ अभाव हुने भएपछि सिमेन्ट उद्योगहरु समेत मर्कामा पर्ने भएका छन् ।

तिनाउका खानीबाट अर्घखाँची,सर्वोत्तम,होङ्गसी लगाएतका उद्योगहरुमा चुन सप्लाई हुुन्छ । सिमेण्ट उद्योग सरकारको प्राथमिकतामा रहेको उद्योग हो। सिमेण्ट उद्योगले चैत्र,बैशाख र जेठ महिनामा ढुवानी गरी असोजसम्मका लागि कच्चा पदार्थ रहने गरी भण्डार गर्ने गर्छन् अहिले टिप्पर नचल्दा ति उद्योगलाई आवश्यक चुन ढुङ्गा नहुँदा सिमेण्ट उद्योग पनि केही समय बन्द गर्नु पर्ने अवस्था आउन सक्छ ।

https://www.globalaawaj.com/archives/34722
डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।