ताजा अपडेट »

तिलोत्तमाका सामुदायिक विद्यालयलाई बस

आइतबार, २९ चैत्र २०७७, १३ : २९
12 Shares

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर भित्र रहेका ५ वटा सामुदायिक बिद्यालयहरुलाई बस प्रदान गरेको छ । शिक्षामा लगानी बढाएको नगरपालिकाले सामुदायिक बिद्यालयहरुमा बिद्यार्थीको आकर्षण बढाउन बस प्रदान गरेको हो ।

चालु आर्थिक बर्षमा ६ वटा बिद्यालयलाई बस प्रदान गर्न छुट्टयाएको बजेटबाट तिलोत्तमाको श्री पशुपति माध्यमिक विद्यालय, श्री शिवपूर माध्यमिक विद्यालय, श्री जनजागृति माध्यमिक विद्यालय, श्री जनता माध्यमिक विद्यालय र श्री जनभावना माध्यमिक विद्यालयलाई बस प्रदान गरिएको छ । कोटिहवामा रहेको पुजन अटोमोबाईल्स प्रालीले एसएमएल ईसुजु कम्पनीको ५ वटा बस विद्यालयहरुलाई हस्तान्तरण गरेको छ ।

कम्पनीका अध्यक्ष डोलराज बस्यालले नेपाल सरकारको कर र भन्सार महशुल छुट गरि प्रति बस २० लाख ९५ हजार रुपैयामा विद्यालयलाई प्रदान गरिएको जानकारी दिए । उनले जापानको ईसुजु र भारतको स्वराज माज्दा कम्पनी एक भई भारतमै निर्माण भएको ४२ सिटे आरामदायी गाडी भएको बताए । उनले विद्यार्थीलाई लक्षित गरिए पनि यो कम खर्चिलो रहेको दावी गरे ।

तिलोत्तमा नगरपालिकाले बिगत वर्षहरु देखी नै शिक्षा क्षेत्रमा लगानी बढाउँदै आएकोमा यस आर्थिक वर्षमा ६ वटा विद्यालयलाई बस प्रदान गर्न छुट्टयाईएको तिलोत्तमा नगरपालिकाका उपसचिव गंगाराम आचार्यले बताए । सोही अनुसार बढी विद्यार्थी संख्या भएका र यातायातका साधन नभएका बिद्यालयलाई छनौटमा राखी बस प्रदान गरिएको उनले बताए । उनले नगरपालिकामा रहेका अन्य विद्यालयलाई पनि यसै गरि बस प्रदान गरिने बताए ।

तिलोत्तमाका विद्यालयका विद्यार्थीहरु टाढाबाट अध्ययनको लागी आउने र अभिभावकको ईच्छा पनि आफ्ना बालबालिकाहरु बसबाट जानु पर्ने इच्छा अब पुरा हुने भएकोमा शिक्षकहरु पनि हर्षित भएका छन् । बस बुझ्न आएका शिवपुर माध्यमिक विद्यालयका सहायक प्रधान अध्यापक केशव राज भण्डारीले यसले विद्यार्थीहरु विद्यालय प्रति थप आकर्षित हुने दावी गरे । उनले विद्यालयले केही आफ्नै श्रोत व्यवस्थापन गरि बस सञ्चालन गर्ने बताए ।

दैलो अगाडीबाट नै संस्थागत विद्यालयहरुले बसबाट विद्यार्थी ओसारेको देख्दा अभिभावकलाई आफ्ना बालबालिका पनि बसबाट विद्यालय जान पाउन भनि चाहना राख्नु स्वाभाविक भएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेको बुझाई रहेको छ । यहि कुरालाई मनन गर्दै नगरपालिकाले पनि बसमा लगानी गरेको उनले बताए ।

बस खरिद गर्नु भन्दा पनि यसलाई सञ्चालन र यसको रेखदेख गर्नु चुनौतीपूर्ण रहेकोले यस तर्फ ध्यान दिन उनले विद्यालयहरुलाई आग्रह गरे । नगरपालिकाले भौतिक पूर्वाधारमा मात्र नभई शिक्षाको गुणस्तर बढाउनको लागी प्रयाप्त लगानी गर्ने उनले प्रतिवद्धता जनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।