ताजा अपडेट »

परीक्षाहरु तोकिएकै समयमा सञ्चालन हुन्छन् : प्रवक्ता शर्मा

शनिबार, २१ चैत्र २०७७, २१ : २०
22 Shares

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले दोस्रो चरणको कोरोना महामारी बढ्दै गए पनि एसईई लगायत विद्यालय तहका सबै परीक्षाहरु तोकिएकै समयमा सञ्चालन हुने बताएका छन् । विगतका वर्षहरुमा चैतसम्ममा एसईई र विद्यालय तहका सबै वार्षिक परीक्षाहरु सम्पन्न हुने भए पनि यो वर्ष भने वैशाख र जेठ विद्यार्थीहरुले नियमितरुपमा पूरै पढ्न पाउने प्रवक्ता शर्माले बताए। विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीले नेपाल प्रवेश गरेसँगै शिक्षा मन्त्रालयले स्वास्थ्य सतर्कता अपनाउँदै शैक्षिक गतिविधिहरु अगाडि बढाउन विभिन्न मन्त्रालयले कार्ययोजना निर्माण गरेको छ ।

पछिल्लो समय कोरोना महामारीमा विद्यालय सञ्चालन सम्बन्धित कार्यढाँचा २०७७ निर्माण भइसकेको अवस्थामा तत्काल कोरोना महामारीको जोखिम बढेपनि विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने भन्ने सन्दर्भमा स्थानीय तहले निर्णय गर्नेछ । आगामी एसइई परीक्षा तालिका आगामी जेठ २०७७ देखि तोकिएको छ । विद्यालय तहका अन्य वार्षिक परीक्षा पनि पछि सर्नसक्ने देखिएको छ । कक्षा ११ को परीक्षा विद्यालयबाट हुने मन्त्रालयका प्रवक्ता शर्माले बताए । कक्षा ११ मा केही नयाँ पाठ्यक्रमहरु थपिएका कारण समस्या देखिन सक्नेप्रति पनि मन्त्रालयले समन्वय गरिरहेको प्रवक्ता शर्माले जानकारी दिए ।

यससँगै शैक्षिक सत्र सञ्चालनको सम्बन्धमा पनि कोरोना महामारी नेपाल भित्रिएदेखि नै अनलाइन एवम् अफलाइनबाट वैकल्पिक सिकाइका लागि नयाँ स्रोत, साधन र पाठ्यक्रम विकासको काम पनि मन्त्रालयले निरन्तर गर्दै आएको जनाएको छ । मन्त्रालयका अनुसार विशेषगरी कोरोना संक्रमण दर वा पछिल्लो अवस्थाबारे शिक्षकले प्रत्येक तहको कक्षाको नियमित प्रतिवेदन विद्यालय प्रमुख वा प्रधानाध्यापकलाई बुझाउन भनेको छ ।

त्यस्तै, विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिले विद्यालयमा लागूहुने कोरोनाविरुद्धको आचारसंहिता (कोड अफ् कन्डक्ट्) निर्माण गर्न भनेको छ । परीक्षा वा विद्यालय सञ्चालनको समयमा विद्यार्थीलाई कोरोना विरुद्धको जनचेतना जगाउने खालको गतिविधि गर्न पनि मन्त्रालयले भनेको शर्माले बताए। अन्य सुझावमा विद्यार्थीहरुले मास्क लाएका छन् वा छैन ख्याल गर्नुपर्ने, विद्यालय बसमा जथाभाबी भीड हुनेगरि विद्यार्थी राखेर आवतजावत् गर्न नहुने, विद्यार्थी संख्या थोरै र सामाजिक दूरी कायम गर्न सकेको अवस्थामा नियमित कक्षा सञ्चालन गर्न पनि सुझाएको छ ।-गोरखापत्र अनलाइन

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।