ताजा अपडेट »

निरन्तरतामा क्रमभङ्गता : इतिहास रच्ने अवसर

विहीबार, १९ चैत्र २०७७, १९ : ४२
18 Shares

परिवर्तन दुई प्रकारले हुन्छ, मात्रात्मक र गुणात्मक । पदार्थमा निरन्तर भइरहेको परिवर्तनका कारण चेतनामा आउने परिवर्तन जसलाई मात्रात्मक परिवर्तन भन्ने गरिन्छ भने अर्कोतिर सचेत प्रयत्नद्वारा यथास्थिति वा निरन्तरतामा धक्का दिएर गरिने परिवर्तन जसलाई गुणात्मक परिवर्तन भन्ने गरिन्छ । यो नीतिगत प्रश्नमा प्रायः जसो हामी सबै सहमत नै भएका हुन्छौं । तर, जब यो वैज्ञानिक प्रश्नलाई व्यवहारमा कार्यान्वयनको प्रश्न आउँछ त्यति बेला साँच्चै नै निरन्तरतामा क्रम भताको दिशा अवलम्बन गर्ने नेतृत्व इतिहासमा बिरलै पाउन सकिन्छ । त्यस दिशामा अगाडि बढ्ने नेतृत्व लाखौँमा एक दुई जना मात्र हुने गर्दछन् ।

यसरी अध्ययन गर्दा इतिहासमा राजनेता, दार्शनिक वा महानायकको बन्न सक्दछ त? यसको सिधा र सरल उत्तर यो हुनेछ कि यथास्थितिलाई भत्काउने काम, निरन्तरतामा क्रम भङ्ग गर्ने काम वर्तमानमा वाह ! वाह ! कहलिएको कुनै पात्रले गर्न सक्दैन, किनकी वर्तमान जुन रीतिथिति, परम्परा र संस्कृति विद्यमान छन्, जुन चलिआएका मूल्य मान्यताहरू छन् । तीनै सबै भन्दा उत्कृष्ट र सुन्दर छन्,भन्नेहरू त्यसैमा आनन्द मानेर लट्पटिनेहरूबाट नयाँ इतिहासको कल्पना गर्न सकिँदैन । क्रान्ति सम्पन्न भै सक्यो भनी विश्राम लिनेहरू यथास्थितिवादका पक्षपाती हुन्, किनकी क्रान्ति कहिल्यै रोकिन सक्दैन । यो त निरन्तर नदीको प्रवाह जस्तै अविच्छिन्न रूपमा अगाडी बढी रहन्छ । क्रान्तिको प्रकृति देश, काल र समय सन्दर्भ अनुरूप विधि प्रक्रियाहरू फरक हुन सक्दछन् ।

मानव जातीको आजसम्मको इतिहास अध्ययन गर्दा ज्ञान हुन्छ की संसारमा जेजति नायक वा महानायक बनेका छन्, तिनिहरू सबैले यथास्थितिवाद अर्थात् आफ्नो समयको वर्तमानलाई भत्काउने साहस र हिम्मत गरेकै कारण उनीहरूको इतिहास बन्न गएको हो । स्पकाष्र्ट नाम गरेको दासले दासताका विरुद्धमा बिद्रोहको झण्डा उठाएका थिए । त्यसकारण उनी त्यस समयको महानायक बन्न पुगे । काल माक्र्स र ऐंगेल्सहरूले त्यस समयको चाल चलन, संस्कार संस्कृति, राज्य सञ्चालनका विधि र प्रकृयाहरू माथि वैचारिक हमला गरेकै कारण उनीहरू विश्वका महानायक बन्न पुगे । उनीहरूलाई त्यस समयमा सभ्य ठानिएका, विद्वान् कहलिएका, टाठा बाठा भनिएकाहरूले असभ्य, मूर्ख र अराजकको श्रेणीमा राखेका थिए । पृथ्वी गोलो छ भन्ने वैज्ञानिकलाई पण्डित, पुरोहित र आफूलाई सर्वज्ञाता ठान्नेहरूले सजायको भागीदार बनाएका थिए । सुकरात जसले ‘हाम्रो ज्ञानको भण्डार अपूर्ण छ, पदार्थ छिन–छिनमा परिवर्तन भैरहन्छ त्यसैले संसारमा जसले आफूलाई पुर्ण ज्ञानी ठान्दछ त्यो अज्ञानी हो ।’ भन्ने विचारको प्रवाह गरेकै कारण कथित सभ्य र कथित टाठा–बाठा भनिएकाहरूले मृत्युदण्ड दिएका थिए ।

जिसस् क्राइस्टले धर्मको बारेमा नयाँ विचार लिएका थिए, उनलाई रोमका सभ्य ठानिएका शासकवर्गले सुलीमा टाँगेर हत्या गरेका थिए । गुरू गोबिन्द सिंह जसले नयाँ विचार बोकेर अगाडी आएका थिए, उनलाई सभ्य कहलाईएका ब्रिटिश शासकहरूले माटोमा गाडेर हत्या गरेका थिए । गौतम बुद्ध जो राजाका छोरा थिए । त्यस समयको रिती, परम्परा, भोक, रोग, गरिबी र असमानता देखेर यसको कारण के हो? यसको समाधान कसरी गर्न सकिन्छ ? समग्र मानव जातिको मुक्तिको मार्ग के हुन सक्दछ ? भनेर २९ वर्षको उमेरमा उनले राजदरवार छाडेका थिए । उनी वनवास निस्किँदा, दरबारको सुख सयल र भोग विलासलाई बेवास्ता गर्दा त्यस समयका कथित विद्वानहरूले उनलाई थुके हुनन्, सन्तो सराप गरे हुनन्, महामूर्ख मान्छेको सूचीमा राखे हुनन्, किनकी उनीहरू भविष्यसम्म देख्न सक्दैनथे । इतिहासमा यस्तो अकल्पनीय निर्णय लिने व्यक्ति मुस्किलले पाउन सकिन्छ ।

नेपालको इतिहासमा पनि हामीले पाउने छौँ की गंगालाल सहितका तात्कालीन सहिदहरू, वि. पी., गणेशमान, कृष्ण प्रसाद, पुष्पलाल, मनमोहन, मोहन विक्रम आदी सबैले आफ्नो समयको वर्तमानको विरुद्ध, तात्कालीन राज्य व्यवस्थाका विरुद्ध, यथास्थितीबादका विरुद्ध बिद्रोहको वा क्रान्तिको झण्डा उठाएकै कारण उनीहरू राजनेता बनेका हुन् । मदन भण्डारीले नीति र विचारलाई जडशुत्रीय रूपमा बुझ्ने चिन्तनधारा माथि प्रहार गर्दै जनताको बहुदलीय जनवादको विचारको प्रतिपादनकै कारण आफ्ना समकक्ष्ीाहरूलाई पछाडि पार्नु भएको थियो । प्रचण्डजी वहाँकै भाषामा निरन्तरतामा क्रम भङ्गता गर्ने हिम्मत गरेकै कारण वहाँ राजनेता बन्नुभएको थियो, वहाँले क्रान्तिकारीहरूले निरन्तर परीक्षा दिनपर्ने विचार राख्नु हुन्थ्यो र आफ्नो टाउकोमा आफै आगो लगाउने कुरा गर्नुहुन्थ्यो, अहिले वहाँ पछिल्लो समयमा आफ्नै विचारमा खरो उत्रन सक्नु भएको छैन ।

काँग्रेस, एमाले, माओवादी भित्रका अधिकांश माथिल्लो तहका नेतृत्वहरू आफ्नो समयको वर्तमानलाई चूनौती दिएरै आफ्नो इतिहास बनाउनु भएको हो । तर, त्यो क्रन्तिकारी इतिहास जीवनको अन्त्यसम्म रहन्छ वा रहँदैन त्यो कुरा भविष्यले बताउने छ । सबैलाई स्मरण नै छ की निरकुश शासन सत्ताका विरुद्ध झण्डा उठाउनेहरू सबै अराजक, उरन्ठ्याउला र मुर्ख व्यक्तिको रूपमा तात्कालीन शासक र त्यसको रक्षाको निम्ति बनाईएका सबै निकायहरूले यथास्थितिलाई भत्काउन पर्दछ भन्नेहरूलाई यी आरोपहरू लगाउने गरिन्थ्यो ।

कतिपय व्यक्तिहरू यो पनि बुझ्दैनन् कि विषयलाई विचार र दृष्टिकोणबाट मापन गर्नुको साटो ब्राण्ड मात्र मापन गर्ने गल्ती गर्न पुग्दछन् । उनीहरूको दृष्टिमा नेपालमा मात्र दुई ब्राण्ड छन्, अथवा दुई मूलाधार छन्, ती भनेका कांग्रेस र कम्युनिष्ट नै हुन् । त्यसैले उनीहरूको चेतना यी दुई मुसलधार भन्दा बाहिर जान सक्दैन, त्यस विचारका व्यक्तिहरू यो वा त्योको विकल्पमा हराई रहेका हुन्छन् । उनीहरू एक्काईसौँ सताब्दीमा नयाँ विचार, नयाँ एजेण्डा, नयाँ दृष्टिकोण र नौलो ब्राण्ड सहित अगाडी बढ्नु पर्दछ भन्ने कुरा बुझ्न सक्दैनन् । यो चेतनाले पूर्व माओवादी, सोलोडोलो कम्यूनिष्ट वा सोलोडोलो बामपन्थीहरूको एकताकको रटना लगाउने गर्दछ, भावनाका हिसाबले यो कुरा ठीकै होला तर अग्रगमनको निम्ति ब्राण्डलाई केन्द्रमा राखेर एकताको कुरा गर्नु वालापन ठहरिन पुग्दछ । एकता भावनाले होइन विचारको समानताको आधारमा गरिनु पर्दछ ।

निरन्तरतामा क्रमभङ्गताको ईतिहासमा हामीले बावुराम भट्टराईलाई लिन सक्दछौँ । उनको ईतिहासको अध्ययनबाट ज्ञात हुने छ कि निरन्तर वर्तमानलाई च्यालेन्ज गरेरै उनको ईतिहास यहाँसम्म आईपुगेको छ । ईतिहासमा हिजो ०४७÷०४८ तिर उनले संविधान सभाको नारा उठाउँदा दुवै तिरबाट वैचारिक आक्रमण हुन पुगेको थियो, बाहिरबाट उग्रबादी नारा भनेर आक्रमण गरिएको थियो भने भित्रबाट दक्षिणपन्थी नारा भनेर, जनयुद्ध कालमा लोकतान्त्रीक गणतन्त्रको विचार अगाडि ल्याएकै कारण आलोचना मात्र होईन कारवाहीको भागिदार नै बनाईएको थियो । मंसिर ३ गते संविधान जारी भैसके पछि उनी प्रचण्ड कहाँ पुगेका थिए र यी परम्परागत पार्र्टीहरू सबै बिघटन गरौँ र नयाँ विचार र नयाँ विधि सहितको नयाँ पार्टीको निर्माण गरौं ।

यो कुरा प्रचण्ड जी ले मान्नु भएन तत्पश्चाता वहाँले पार्टीबाटै राजीनामा दिएर सडकमा आउनुभएको थियो । यो घटनाले सारा मान्छे अचम्म र आश्चार्यमा परेका थिए, उनलाई विवेकहीन र मुर्ख मान्छे ठहराउने कोशिस गरिएको थियो । तर हामीले देख्यौँ कि वहाँ कहिल्यै पनि निरास वा हत्तोसाहित भएको पाएनौँ, आफ्नो विचार र एजेण्डामा निरन्तर अगाडी बढीरहेको हामी पाउँदछौँ । तर,जसले समाजलाई स्थिर रूपमा बुझ्दछ, वस्तुलाई पुर्णतामा बुझ्दछ, क्रन्ति पुर्ण भएको ठान्दछ त्यस खालको विचार अर्थात् यथास्थितिवादी विचारले बावुरामलाई मूर्ख देख्नु, युक्तिसंगत नै ठहर्दछ ।

राजा भोजकी छोरी विवाह गर्नको निमित्त देश विदेशबाट पचासौं विद्वानहरू आएका थिए तर राजकुमारीसँग वाद विवादमा पराजय भएको कारण उनको विवाह हुन सकेन । अन्त्यमा भोज राजाका मन्त्रीले मूर्ख ठानिएका कालिदासलाई राजकुमारीसँग वादविवाद गराउँदा राज कुमारीले हार स्वीकार गरिन् र उनको विवाह भएको थियो । ठीक त्यसरी नै राजनीतिक रङ्गमञ्चमा पनि धेरै थरीका नेताहरू नेतृत्वमा लामो समय सम्म बस्ने गरेका छन् । तर, नेपालको राजनीतिक र आर्थिक नक्सा कोर्न सकेका छैनन् । अतः गौतम बुद्धले जस्तै सबै छाडेर सडकमा आईपुगेका यथास्थितिवादीहरूको दृष्टिमा मूर्ख ठानिएका र क्रान्तिकारीहरूको नजरमा विचारक ठानिएका डा. बावुराम भट्टराईलाई हामी सबैले विश्वास गरौँ त कसो होला ? आर्थिक र राजनीतिक इतिहास यिनैले पो लेख्छन् कि ? सिङ्गापुरको लिक्वान्यु जस्तै नेपालको कामको थालनी उनीबाटै गराउँदा राम्रो होला कि ? मैले यसरी सोचे ।

https://www.globalaawaj.com/archives/71729
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।