ताजा अपडेट »

डढेलो नियन्त्रणका लागि वृहत् आमसभा

विहीबार, ०५ चैत्र २०७७, १४ : १२
110 Shares

हामीले आमसभामा नेताहरुका भाषण सुनेका छौं । पछिल्लो समय एकले अर्कालाई गालीको वर्षा वर्षाएको सुनेका छौं । हेरेका छौं । तर तिनाउ गाउँपालिकाको सामुदायिक वन समन्वय समितिले विगत पाँचवर्षदेखि डढेलो नियन्त्रणका लागि वृहत् आमसभा गर्दै आएको छ । गएको वर्ष कोरोनाका कारण स्थगित भयो । यो वर्ष भव्य रुपमा सम्पन्न गर्नका निम्ति समन्वय समितिले गाउँपालिकाभित्र रहेका छ वटै वडामा रहेका सामुदायिक वन उपभोक्ता समूहका नेतृत्वलाई सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रहेर वन डढेलो नियन्त्रण सम्बन्धी अन्तक्र्रियात्मक गोष्ठी सञ्चालन गरिसकेको छ । सप्ताहको अन्तिम दिन अर्थात् चैत्र ७ गते डढेलो नियन्त्रण सम्बन्धी सचेतामूलक वृहत् आमसभा गर्दै छ । प्रत्येक वर्षको चैत्र ७ गते नै समितिले उक्त आमसभाको आयोजना गर्दै आएको छ । सो सभामा वन डढेलोको कारण,रोकथामका उपायहरु,दण्ड जरिवाना र पुरस्कारका विषयमा आम उपभोक्ताहरुलाई जानकारी दिने चलन छ । कार्यक्रमको आयोजक सामुदायिक वन समन्वय समिति,संयोजन तिनाउ सब डिभिजन वन कार्यालय र व्यवस्थापकका रुपमा डिभिजन वन कार्यालय,पाल्पा रहेन व्यवस्था समेत गरिएको छ ।

तिनाउमा ८४ वटा सामुदायिक वन उपभोक्ता समूहहरु छन् भने तीनवटा धार्मिक वनहरु समेत छन् । नेपाल सरकारले सम्वत् २०७१ देखि २०८० सम्म अर्थात् एक दशकलाई समृद्धिका लागि वन, सबैका लागि वन भन्ने नारा तय गरि अघि बढेको छ । यसै नारालाई साकार बनाउनका निम्ति समेत स्थानीय स्तरमा रहेका सामुदायिक वनहरुले आफ्नो कार्यक्रमलाई वनप्रतिको निर्भरता घटाउने,वनमा डढेलो नलगाउने र लगाउन नदिने र वन संरक्षणका लागि सबैसँग हातेमालो गर्ने कार्यक्रमहरु तय गरेर अघि बढिरहेका छन् ।

स्थानीय सामुदायिक वन उपभोक्ता समूहका सञ्चालक समितिहरुले वनमा डढेलो लगाउन दिन हुन्न भन्ने सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएता पनि प्राकृतिक रुपले समयमा पानी नपर्नाले समेत डढेलो बढी सल्किने गरेको बताउँदै आएका छन् । त्यतिमात्र होइन् स्थानीय उपभोक्ताहरु भन्छन् –वनमा कीरा फटेग्राले महारा जाँदा समस्या पार्ने,च्याउ उमार्न र सर्प अनि मूसालाई मार्न साथै घाँस राम्रोसँग उम्रियोस् भनेर समेत आफ्नै पाखोबारी र ख¥यानमा आगो लगाउने चलन छ ।

गाउँघरमा उपभोक्ताहरु नै घाँसदाउरा गर्न जाँदा,माहारा(गोठालो) जाँदा चुरोट बिंडीको ठूटो नमारेर यसै फाल्दा समेत डढेलो लाग्ने गरेको उनीहरुले बताउँछन् । डढेलो लगाउनेलाई कानुनी कार्वाही गर्ने नियम भएपनि फितलो हुने,आफ्नै मान्छेहरुले त्यस्ता गतिविधिहरुलाई ढाकछोप गर्ने प्रवृत्तिले गर्दा गर्मी मौसमा(फागुनदेखि जेठमहिनासम्म) डढेलो लाग्ने गरेको पाइन्छ । डढेलो खास गरी हाम्रा गाउँका जंगलहरुमा मानवीय लापर्वाहीले नै लाग्ने गरेको पाइन्छ । त्यतिमात्र होइन घर,गोठमा खाना पकाएर आगो नमार्दा हुरी बतास लागेर डढेलो लाग्ने गरेको पाइन्छ । वन तस्करहरुले सरकारको कार्वाहीबाट जोगिनका लागि अर्थात् आफ्नो कर्तुतहरु लुकाउन वा प्रमाण नष्ट गर्न समेत वनमा डढेलो लगाउने गरेको आमसञ्चार माध्यमहरुबाट थाहा पाउन सकिन्छ । विकास निर्माणसँगै विद्युत प्रशारणका लागि जंगलकाबीचबाट विजुलीका तारहरु लैजाने चलन छ । हुरीबतास लाग्दा एकआपसमा तारहरु जोल्ठिएर,जुधेर पनि जंगलमा आगो लाग्ने गरेको देखिन्छ ।

नेपालमा प्राकृतिक कारणले वनमा डढेलो लाग्ने गरेको पाइँदैन भन्दापनि हुन्छ । मानवीय असंवेदनीलता र हेलचक्राइ नै वनमा लाग्ने डढेलोको मुख्य कारण हो । यसको बेलैमा समाधान खोज्न सकिएन भने वनमा रहने वनस्पति,वन्यजन्तु, पन्छीहरुको विनाश हुने छ । प्रकतिमा रहेका माटाहरु डढेलोले पाक्ने छन् र अतिवृष्टिका कारण माटाहरु बगेर डाँडापाखाहरु सबै उजाड मरुभूमि जस्तै हुने छन् । बंगालको खाडीमा अर्को नयाँ पहाड बन्ने निश्चित देखिन्छ । डढेलो लाग्दा पातपतिङ्गर मात्र होइन ठूलाठूला बहुमूल्य रुखहरु जलेर खरानी बन्ने छन् अनि रुखविरुवा जल्दा आउने कार्वनडाइअक्साईडका कारण आँखा पिरो हुने, श्वासमार्गमा समस्या हुने र फोक्सोमा गई जटिल समस्या थपिन सक्दछ ।

अमूल्य वनस्पतिहरु जल्ने जसका कारण ओखती निर्माणमा कठिनाई भई विरामीहरुका लागि चाहिने औषधीको अभाव हुन सक्छ । वनमा रहेका रहर लाग्दा चराचुरुङ्गी डढेर खरानी हुने छन् । जसका कारण जैविक विविधतामा प्रतिकूलता देखिने छ । वन्यजन्तुहरु डढेर खाग हुने छन् । अनि वर्षैनी तिनै जनावरहरु हेर्न आउने पर्यटकहरुको संख्यामा कमी आउने मात्र होइन हाम्रा पर्यटन उद्योग,व्यसायहरु धरासाही हुने छन् ।

यसैले पनि वनमा डढेलो लगाएर च्याउ खान पाइन्छ भन्ने गलत प्रवृतिको अन्त्य हुनै पर्छ । खरबारी वा पखेरामा आगो लगाएर घाँस राम्रो पलाउँछ अनि सर्प,भुसुनाहरु मारेर सास्ती कम हुन्छ भन्ने अगतिलो सोच पक्कै हटाउनु पर्छ । डढेलोको कारण भौतिक क्षतिहरु भएका छन् । त्यतिमात्र होइन मानवीय क्षति व्यहोर्नुपर्ने अवस्था आएको छ । कति अंगभंग भई अहिले पनि दुःख बेसाएर बसेका छन् ।

यसका लागि सामुदायिक वनका उपभोक्ताहरु बढी सक्रिय हुनुपर्छ । सामुदायिक वन समन्वय समितिले तिनाउका सबै वनका समूहहरुलाई वन सम्बन्धी सचेतीकरण,आयमुखी काममा सहयोग र खानी एवम् पानीका सन्दर्भमा पैरवी गर्दै आएको छ । सफ्टवेयर सम्बन्धी काम गर्ने यो संस्थाले डिभिजन वन कार्यालय, पाल्पा, भू–संरक्षण कार्यालय, पाल्पा, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, वनस्पति विभाग, तराई भू–परिधि कार्यक्रम, डब्लूडब्लूएफ, परिर्वतनका लागि कार्यरत महिला समूह(वाच), स्थानीय सरकार, स्थानीय क्लवहरु, आमा समूह, विद्यालय, सावउसहरुसँग हातेमालो गरी अघि बढेको छ । डढेलो नियन्त्रणको सिलसिलामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनपथ प्रहरी, जिल्ला प्रशासन कार्यालय, पाल्पाको समेत सक्दो सहयोग लिइ डढेलो नियन्त्रणमा भूमिका निर्वाह गरिरहेको छ ।

सामुदायिक वनहरुमा युवाहरुलाई सक्रिय बनाउँदै अग्नि नियन्त्रण दल बनाइएको छ । डढेलो नियन्त्रणका लागि प्रत्येक सावउसले अग्नि रेखा( फायर लाइन) बनाउने,प्रत्येक वर्ष झाँडी सफाइ गर्ने र डढेलो नियन्त्रणका लागि प्रचार प्रसारका सामग्रीहरु निर्माण गरी वितरण गर्र्न काम समेत गर्दै आएको छ ।

जुन सामुदायिक वनका उपभोक्ताले आफ्नो वनलाई डढेलोबाट जोगाउँछ त्यस वनलाई समन्वय समितिले पुरस्कार दिने प्रवन्ध समेत मिलाएको छ । यसो गर्दा कार्वाहीले भन्दापनि पुरस्कारले वन जोगाउन सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्न सकिने छ । हामी सबैले वनजंगलमा डढेलो नलगाऔं । यो सन्देश सबैकाबीच पुराउनु आजको आवश्यकता हो । वनजंगल जोगिएमा नै मंगल हुने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।