ताजा अपडेट »

रोटरी म्याराथन महिलातर्फको उपाधि भावनालाई

शनिबार, २२ फागुन २०७७, ११ : ०८
8 Shares

बुटवल । ‘रोटरी ईन्टरनेशनल डे’ को अवसरमा आयोजित रोटरी म्यारथनमा महिलातर्फको नेपाली सेनाकी भावना शाही विजेता बनेकी छन् । उनले २१ किलोमिटरको दुरी १ घण्टा ३८ मिनेट २५ सेकेण्डमा पार गरिन् । यसैगरी नेपाली सेनाकै मिनिशा थापाले १ घण्टा ४२ मिनेट १८ सेकेण्डमा दुरी पार गर्दै दोस्रो बनिन् । बर्दियाका कल्पना थारुले १ घण्टा ४३ मिनेट ४ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएकी छन् । यसैगरी बिपिका पुनले २ घण्टा ३ मिनेट ४८ सेकेण्डमा दुरी पार गर्दै सान्त्वना भएकी छन् ।

रोटरी क्लब अफ भैरहवाको आयोजनामा भएको प्रतियोगितामा विजेताले नगद २० हजार राशीसहित पुरस्कार प्राप्त गरेकी छन् भने उप विजेताले १५ हजा नगद राशी प्राप्त गरेकी छन् । यसैगरी तृतीय र सान्त्वनाले क्रमशः १० हजार र ५ हजार प्राप्त गरेका छन् ।

प्रतियोगिता लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर ढोका पुष्पलाल पार्कबाट शुरु भई सिद्धार्थ राजमार्गको शंकरनगर, मणिग्राम, कोटिहवा, पडसरी, अंचलपुर, बुद्घचोक, बर्मेलीटोल, नारायणस्थान पथ हुँदै भैरहवाको सानू डिपार्टमेन्टल स्टोर चोकसम्म भएको कार्यक्रम संयोजक राजकुमार गुप्ताले जानकारी दिए ।

मारुती फुडपार्क काठमाण्डौं प्रिमियम जिरा मसिनो चामलको मुख्य प्रायोजन र नेपाल अम्बुजा सिमेन्टको सह–प्रायोजनमा ईन्टरनेशनल हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष शिवहरि शर्माले बताए । प्रतियोगिताको बुटवल पुष्पलाल पार्कमा रिवन काटेर रुपन्देहीका वरिष्ठ प्रहरी नायव उपरीक्षक प्रविण पोखरेलले उद्घाटन गरेका थिए ।

यसैगरि प्रतियोगिताका लागि रोटरी क्लब अफ बुटवल रुपन्देही, सेन्ट्रल लुम्बिनी, बुटवल डाउनटाउन, बुटवल साउथ, सेन्ट्रल बुटवल, लुम्बिनी सिद्धार्थ, सेन्ट्रल रुपन्देही, पाल्पा लुम्बिनी लगायतका रोट्रयाक्ट क्लबहरुको सहकार्य रहेको छ । यसअघि विश्व पोलियो दिवसको अवसरमा ईन्डो पोलियो नारासहित १२ किलोमिटरको दौड २ वर्षअघि गरिएको कार्यक्रम संयोजक राजकुमार गुप्ताले बताए ।

https://www.globalaawaj.com/archives/87964
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।