ताजा अपडेट »

बुटवल-नुवाकोट केवुलकारमा सरर, अर्थमन्त्रीद्वारा शिलान्यास

आइतबार, ०९ फागुन २०७७, १२ : २३
12 Shares

बुटवल । ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राकृतिक हिसाबले पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको पाल्पाको तिनाउ–२ मा अवस्थित नुवाकोट गढीसम्म पुग्न केवुलकार सञ्चालनमा आउने भएको छ । बुटवलदेखि करिब २ किलोमिटर दुरीको केवुलकार लाइन निर्माणका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गरेका छन् ।

नुवाकोटमा केबलकार सञ्चालनको लागि सिद्धार्थ केबलकार प्रालीले यस अघि नै सरकारबाट वन क्षेत्र उपयोग गर्ने स्वीकृती लिएर केही काम अगाडि बढाइसकेको छ । केबलकारको लागि छपान र रुख कटानको काम भइरहेको प्रालीका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिए । १८ महिना भित्रै बुटवल–नुवाकोट केवुलकार सञ्चालनका लागि करिब ७५ करोडको लगानीमा निर्माणको काम हुन लागेको हो । ५० जना पर्यटन व्यवसायीहरु आवद्ध सिद्धार्थ केवलकार प्रा.लि.ले निर्माणको जिम्मा पाएको हो ।

मनोरम हिमश्रींखलाका साथै तराईका फाँट र भैरहवासम्मका दृष्य देख्न सकिने नुवाकोट गढीसम्म पुग्नका लागि केवुलकार विस्तार हुने भएपछि पर्यटकलाई सहज हुने भएको छ । २२/२४ से राज्यका बेला राजा मणिमुकुन्द सेनको गृष्मकालिन दरबार, तोपहान क्षेत्र, खरखजनाघर, रानीकुवा समेत रहेको नुवाकोट सम्म पुग्न केवलकार सञ्चालनसँगै यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने व्यवसायीहरुले विश्वास व्यक्त गरेका छन् ।

रुपन्देहीको बेलबास शान्तिचोकबाट ११ किलोमिटर दुरीमा रहेको नुवाकोटहुँदै दोभान जोड्ने सडक बनेपछि सहज बनेको नुवाकोट यात्रा केवुलकारले थप सहज बनाउने भएको छ । ऐतिहासिक स्थल मणिमुकुन्द सेन उद्धानबाट २ घण्टाको पैदल यात्रा गरी जान सकिने नुवाकोटलाई रुपन्देहीको ऐतिहासिक स्थल जीतगढी किल्लासँग जोडेर विकास गर्ने सरकारको लक्ष्य रहेको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।