ताजा अपडेट »

प्रतिनिधिसभा विघटन मुद्दामा सकियो बहस, फैसला कहिले ?

शुक्रबार, ०७ फागुन २०७७, १४ : ४७
8 Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथिका बहस सकिएका छन्। शुक्रबार एमीकस क्युरीको तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिएसँगै बहस सकिएको हो ।

शुक्रबार क्युरीको तर्फबाट गीता पाठकले अन्तिम बहस गरेकी थिइन्। बहस सकिएपछि संवैधानिक इजलासले फागुन १० गतेसम्म बहस नोट दिन दुबै पक्षका वकिललाई आदेश दिएको छ। यसअघि पक्ष र विपक्षका वकिलहरूले विघटन मुद्दामाथि बहस गरेका थिए। इजलासले सहभागी अधिवक्ताहरुलाई आउँदो १० गतेसम्म बहस नोट उपलब्ध गराउन भनेको छ। ११ गते अर्को पेशी तोकिएको छ । मुद्दामाथि ११ गते फैसला हुनसक्ने सम्भावना रहेको छ । यद्यपी, नभएको खण्डमा मुद्दा हेर्दाहेर्दैमा रहने र जुनसकै बेला फैसला हुनसक्ने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ थान निवेदन परेका थिए। निवेदनमाथि माघ ४ गतेदेखि निरन्तर सुनुवाइ चलिरहेको थियो। एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य, विजयकान्त मैनाली र गीता पाठक संग्रौलाले राय दिएका छन् ।

सुरुमा निवेदक पक्षका ७२ कानुन व्यवसायीले बहस गरेका थिए। त्यसको जवाफमा प्रधानमन्त्रीको तर्फबाट महान्यायाधिवक्ता, सरकारी वकिल र निजी कानुन व्यवसायी गरी ४८ जनाले ९ दिन बहस गरेका थिए। त्यसको जवाफमा फेरि २ दिन रिट निवेदक पक्षका कानुन व्यवसायीले बहस गरे। यस्तै सभामुख पक्षका तीन कानुन व्यवसायीले पनि बहस गरेका थिए। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।