ताजा अपडेट »

सडक विस्तारको ३ वर्ष : प्रतिदिन ५ किलोमिटर कालोपत्रे

सोमबार, ०३ फागुन २०७७, १६ : ५६
6 Shares

बुटवल । सरकारले ३ वर्षको अवधिमा साढे ५ हजार किलोमिटर सडक कालोपत्रे गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ३ वर्षे कार्यकालको प्रगति प्रवेदन प्रस्तुत गर्दै संघ, प्रदेश र स्थानीय तह सहितका निकायहरुबाट ५ हजार ४९८ किलोमिटर सडक निर्माण भएको बताए ।करिब १ वर्ष कोरोना महामारीले प्रभाव पारे पनि सडक निर्माणको क्षत्रमा उल्लेख्य प्रगती गर्न सफल भएको सरकारको दाबी छ । सरकार गठन भएसँगै सडक विभागद्वारा थप २,७१८ किलोमिटर कालोपत्रे भई १५,८६७ किलोमिटर पुगेको छ । यसैगरी शहरी विकास मन्त्रालयद्वारा थप ४१२ किलोमिटर कालोपत्रे सडक निर्माण भएको छ । सातवटै प्रदेशबाट १,१४३ किलोमिटर सडक कालोपत्र गरिएको र स्थानीयस्तरमा १,२२५ किलोमिटर कालोपत्रे सडक थप भएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

सडक विस्तारको क्षेत्रमा खण्डास्मित १,४६३ किलोमिटर थप भई ८,४१९ किलोमिटर निर्माण भएको छ भने माटे सडकको लम्बाइ ९,१०९ किलोमिटर पुगेको छ । यस अवधिमा तराई-मधेसमा १ हजार ६०० किलोमिटरभन्दा बढी कालोपत्रे सडक निर्माण भएको छ । जसमध्ये तराई-मधेस सडक पूर्वाधार विकास कार्यक्रमबाट २ लेनको ५१६ किलोमिटर रणनीतिक सडक, ४९० किलोमिटर हुलाकी राजमार्ग, व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत ९४ किलोमिटर ६ लेनका सडक निर्माण भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत करीब ६० किलोमिटर सडक र सघन शहरी विकास कार्यक्रम अन्तर्गतको ४१२ किलोमिटर सडक निर्माण भएको छ ।

कालोपत्रे सडक भएका जिल्लाको संख्या अब ७२ पुगेको छ । सडक पुगेका गाउँपालिका केन्द्रको संख्या ७२४ पुगेको छ । बाँकी केन्द्रहरुलाई जोड्ने सडक निर्माणका लागि यसै आर्थिक बर्ष भित्र थाल्ने गरी सरकारले बजेट व्यवस्था गरिसकेको सरकारले जनाएको छ । प्रगति प्रतिवेदनमा उल्लेख भएअनुसार नागढुब्गा–नौबिसे सुरुब मार्गको निर्माण कार्य शुरु भएको छ भने सिद्धबाबा सुरुङमार्ग निर्माणको लागि बजेट व्यवस्था गरिएको प्रधानमन्त्री ओलीले बताए । टोखा-छहरे र बेत्रावती-स्याफ्रुबेसी सुरुब मार्ग बिस्तृत परियोजना प्रतिवेदन तयारीको चरणमा रहेको तथा तीन वर्षमा संघ, प्रदेश र स्थानीय तहका गरी थप ९१५ सडक पुल निर्माण भएका छन् । नेपालकै दोस्रो लामो सिसनिया-गढवा राप्ती सडकपुल यसै अवधिमा सम्पन्न भएको छ । ४१६ ग्रामीण सडक पुलसहित सडक पुलको कूल संख्या ३ हजार १३६ पुगेको छ ।

प्रधानमन्त्री ओलीले हालसम्म १३० वटा तुइन बिस्थापित गरी झोलुङ्गे पुल निर्माण भएको बताउँदै सीमा नदी महाकालीसहित ५ स्थानमा निर्माण कार्य बाँकी रहेको जानकारी गराए । सरकारले ३ वर्षको अवधिमा १ हजार ४२३ पुल निर्माण गरेको जानकारी प्रगति प्रतिवेदनमा उल्लेख छ । सरकारको २ वर्षे प्रतिवेदन अनुसार हरेक दिन ५ किलोमिटर कालोपत्रे सडक तथा एकभन्दा बढी झोलुङ्गे पुल निर्माण भएको छ । यसैरी हरेक तीन दिनमा एउटा ग्रामीण सडक पुलकोनिर्माण भएको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।