ताजा अपडेट »

फिटनेश आइकन बिमललाल

मंगलबार, १३ माघ २०७७, २० : ३६
6 Shares

हेर्दै लोभलाग्दो शरीर छ, बिमल लाल श्रेष्ठको । यो शरीर उनले रातारात तयार पारेका होइनन्, जसरी कुनै मुर्तिकारले व्रर्षै लगाएर एक सुन्दर मुर्ति तयार गर्छ, त्यसरी नै बर्षैको कठोर अनुशासनको पालना र व्यायामशालामा गरिएका कडा परिश्रमबाट मात्र यस्तो प्रदर्शनयोग्य शुगठित शरीर तयार हुन्छ।

बि.स. २०३७ माघ ७ गते माता गंगादेवी र पिता स्व बिक्रम लालका सुपुत्रका रुपमा काठमाडौंको असनमा उनको जन्म भएको थियो । पहिले उनी निकै दुब्ला थिए। हष्टपुष्ट बन्ने चाहनाले परिवारको सल्लाहमा उनी जिम जाने बिचार गरे । बि.स. २०६० साल तिर देखि नेपाल व्यायाम मन्दिरको सदस्यता लिएर जिम गर्न शुरु गरे । यसैबीच उनको जीवनमा दुःखद् मोड आयो। उनी मुदुरोगवाट पीडित भए। विकित्सकले शल्यक्रिया गर्न सल्लाह दिए । यता संवेदनशील अंगको शल्यक्रिया गराउँदा आउनसक्ने सम्भावित खतरा, अर्कोतिर शल्यक्रिया नगराउँदा ज्यान जानसक्ने त्रास।

अन्ततः २०५८ सालमा डा. भगवान कोइरालाले उनको ओपन हार्ट सर्जरी गरे। डा. कोइरालाले उनलाई कडा शारीरिक परिश्रम नगर्न सुझाव दिएका थिए । शल्यक्रियापछि उनले नयाँ जीवन त पाए तर दुब्लो शरीरलाई हष्टपुष्ट बनाउन जिम जाने चाहनामा भने विराम लाग्यो। लामो समय उनले शारीरिक परिश्रम हुने काम गरेनन् तर मनभित्र गढेर बसेको शारीरिक सुगठन खेलप्रतिको मोह मर्न दिएनन् । समय बित्दै गए पछि उनले फेरि जिम जाने योजना बनाए। दाजु राज श्रेष्को सल्लाहमा उनी व्यायाम मन्दिरमा जान थाले। ओपन हार्ट सर्जरी गरेका विमललाल श्रेष्ठले सोचेका थिएनन्, कुनै दिन शारीरिक सुगठनको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पदक जित्छु भनेर। उनको पहिलो प्रतियोगिता विरगंजमा भएको मिष्टर हमदर्द थियो ।

आफ्नो जिम कोचका रुपमा शारीरिक सुगठनका पुराना खेलाडी प्रकाश प्रजापतिलाई मान्छन् । आफ्नो शारीरिक पोज मध्ये उनलाइ सबैभन्दा Back र Abdomen पोज उनलाई मन पर्छ । उनले शारीरिक सुगठन प्रतियोगितामा प्राप्त गरेका उपलब्धिहरु यसप्रकार रहेका छन् :-

-बि.स. २०६३ सालमा नेपाल शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा भएको दोस्रो दोश्रो हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी तौल समूहमा रजतपदक ।

- बि.स. २०६४ सालमा नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको एघारौँ धर्मश्री शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी तौल समूहमा रजतपदक ।

-बि.स. २०६४ सालमा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा भएको एघारौँ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी तौल समूह स्वर्ण पदक जित्दै मिस्टर नेपालको उपाधि ।

-सन् २००९ मा भारतको बनारसमा भएको छैठौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता ६५ केजी तौल समूहमा चौथो स्थान ।

-सन् २०१० मा काठमाडौंमा भएको सातौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा ७० केजी तौल समूह पाँचौ स्थान ।

-सन् २०१४ मा भारतको मुम्बइमा सम्पन्न छैठौं विश्व शारीरिक सुगठन प्रतियोगितामा Fitness Physique मा upto 170 cm मा समूहमा प्रतिस्पर्धा गर्दै ऐतिहासिक रजत पदक प्राप्त ।

-सन् २०१६ मा थाइलैण्डको पतायामा सम्पन्न आठौं विश्व शारीरिक सुगठन प्रतियोगितामा सहभागिता ।

आफ्नो बिगतका पाना पल्टाउँदै उनि भन्छन्, “म ओपन हार्ट सर्जरी गरेको मान्छे। बेलाबेलामा डर पनि लागिरहन्थ्यो तर मैले आत्मविश्वास कहिल्यै हारिन । मैले राष्ट्रका लागि जितेको त्यो पटक त्यसैको प्रतिफल हो। “ चिकित्सकको सल्लाह नमानेर आफूले ठूलो जोखिम उठाएको उनी स्वीकार छन् । उपाधि जितेपछि सामाजिक सञ्जालमा तस्वीर हालेर बधाई दिन हतारो गर्ने सम्बन्धित निकायका अधिकारीहरु पनि खेलमा सहयोग गर्नुपर्दा भने नाक खुम्च्याउँने गरेको उनको अनुभव छ ।

अवस्था जस्तो भए पनि खेलाडीहरु राष्ट्रको पहिचानका लागि तपस्या नै गरेर उपाधि जित्न लागिपरेका हुन्छन् । व्यक्तिगत खर्चमा देशको नाम राख्न मेहनत गरेका छन् । त्यो मेहनत अनुसार नै सफलता पनि पाएका छन् । खेलकुद सम्बद्ध निकायहरुले बेला रहँदै यस तर्फ बिचार पुर्याउन जरुरी देखिन्छ ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार