ताजा अपडेट »

खेल क्षेत्रमा लागेकाहरु भन्छन् : जीविको पार्जन हुनुपर्यो

आइतबार, ११ माघ २०७७, २० : ४८
8 Shares

दाङ । पछिल्लो समय दाङमा खेल क्षेत्रको माहोल बन्दै गएको छ । केही वर्ष अघिसम्म जिल्लामा खेल्ने मैदान नै थिएन । खेल खेलेर जीविकोपार्जन गर्ने कुरा त परको, खेल खेल्न मात्रै पनि सोच्नुपर्ने थियो । खेलाडीहरूलाई न सम्बन्धित निकायले सहयोग नै गथ्र्याे, न त परिवारबाट नै खेलमा लाग्न प्रेरणा मिल्थ्यो । तर, स्थानीय तहमा जनप्रतिनिधि तथा जिल्लामा विभिन्न क्लबहरू स्थापना भएपछि खेलप्रतिको सोच सकारात्मक हुँदै गएको छ ।

स्थानीय तहले खेल क्षेत्रलाई विशेष महत्वका साथ अगाडी बढाइरहेका छन् । ती निकायहरुले प्रत्येक वर्ष विभिन्न खेलकूद प्रतियोगिता आयोजना गर्दै आइरहेका छन् । पछिल्लो समय भने कोरोना महामारीका कारण करिब ८/९ महिनासम्म सबै खेल गतिविधि ठप्प रह्यो । कोरोना महामारीको प्रभाव कम हुँदै गएपछि जिल्लास्तरीय प्रतियोगिताहरू आयोजना हुन थालेका छन् । लामो समयदेखि खेल खेल्न नपाएर घरमै बसेका खेलाडीहरू पुनः मैदान फर्किन पाउँदा खुशी छन् । खेलाडीप्रति राज्यले खासै ध्यान नदिने गरेको उनीहरूको गुनासो पनि उत्तिकै रहने गरेको छ ।

घोराही उपमहानगर-१८ का जनक बुढा मगर फुटबल खेलाडी हुन् । कोरोना महामारीका कारण लामो समयसम्म खेल्न नपाउँदा धेरै अवसरहरू गुमेको उनले बताए । ‘खेल अभ्यास गर्न थालेको अहिले २ महिनाजति भयो, तर पहिलेको जस्तो जोश आउँदैन । लामो समयसम्म खेल्न नपाउँदा मनमा निराश छाएको छ । अहिले घोराही उपमहानगरपालिकाले वडास्तरीय प्रतियोगिता राख्दा भने अलिकति आशा पलाएको छ ।’-उनले भने । फुटबल खेलेर पनि आफूहरू बाँच्न सक्ने अवस्था सृजना नहुँदा समस्या भएको उनको गुनासो छ ।

जिल्लामा धेरै ठूला प्रतियोगिताहरू हुने गरेपनि आफूहरूलाई फुटबल खेल्ने जुत्ता किन्न पनि घरबाट रकम माग्नुपर्ने अवस्था रहेको समेत उनले बताए । ‘हामी खेलाडीहरूको लागि जुत्ता, ड्रेस र अन्य अत्यावश्यक सामग्री सम्बन्धित निकायले व्यवस्था गरिदिनुपर्छ । खेलाडीहरूको लागि भत्ताको व्यवस्था हुनुपर्छ र उनीहरूलाई खेल क्षेत्रमै लाग्दा सहज ढंगले जीविकोपार्जन हुने आधार तयार गर्नुपर्छ,’ उनले थपे ।

घोराही-१८ का साहस रोका मगरले पनि धेरैपछि खेल खेल्न पाउँदा खुशी लागेको बताए । राज्यले खेलाडीहरूलाई नहेर्दा धेरै राम्रा प्रतिभाहरू विदेश जान बाध्य भएको गुनासो गरे । ‘राष्ट्रिय खेलाडीहरूले त राम्रो सेवा सुविधा पाएका छैनन् ।’-उनले भने, ‘हामी जिल्लास्तरमा खेल्ने खेलाडीले के पाइएला र ? खेल क्षेत्रमा लागेर बाँच्न नै नसक्ने भएपछि धेरै राम्रा खेलाडीहरू विदेश जान बाध्य भएका छन् । यसतर्फ राज्यले ध्यान दिनुपर्छ ।’

खेलाडीहरूको भविष्य सुनिश्चित नभएपनि जिल्लामा पछिल्लो समय भौतिक संरचनाहरू थपिँदैछ । लमही र घोराहीमा गरी क्रिकेट खेल्न योग्य २ वटा मैदान बनाइएको छ । त्यस्तै, फुटबल खेल्न बेलझुण्डीमा राष्ट्रियस्तरको मैदान र घोराही र तुलसीपुरमा पनि खेल्न योग्य मैदान छ । अहिले स्थानीय तहले प्रत्येक वडामा खेल मैदान बनाउने गरेको छ । कोरोना महामारी प्रभाव कम हुन थालेपछि खेलाडी पनि मैदानमा फर्किन थालेका छन् । पुसको दोस्रो साता लमहीमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सम्पन्न भयो ।

त्यस्तै, तुलसीपुरमा भलिबल प्रतियोगिता भयो । अहिले घोराही उपमहानगरपालिकामा वडास्तरीय मेयरकप फुटबल तथा उपमेयरकप छात्रा भलिबल प्रतियोगिता भैरहेको छ । जिल्लाका सबै खेलाडीहरूलाई समेटेर स्थान दिने हो भने दाङमा फुटबलको भविष्य राम्रो रहेको एन्फा प्रशिक्षक सन्दीप वलीले बताए । कोभिडका कारण बन्द भएको खेलकूद क्षेत्र विस्तार संचालनमा आउँदै गर्दा खेलाडी खुशी भएको समेत उनले बताए ।

कोरोना महामारीका कारण खेल क्षेत्रमा निकै असर गरेको, तर अहिले स्थानीय सरकार आइसकेपछि खेल क्षेत्रलाई सहयोग पुगेको एन्फा रेफ्रीहरू बताउँछन् । सम्बन्धित निकायले सम्मानका साथ थोरै भएपनि आर्थिक व्यवस्था गरिदिए खेलाडी र रेफ्रीहरूलाई सहज हुने एन्फा रेफ्री खुमबहादुर वलीले बताए । कोरोना महामारीअघि जिल्लामा फुटबलले राम्रो गती लिएपनि पछिल्लो समय अवस्था खस्किएको उनी बताउछन् । जिल्लामा फुटबलको विकास गर्नका लागि वडास्तरमा प्रशिक्षकको व्यवस्था गर्नुपर्ने वलीको सुझाव छ । त्यस्तै, उनले क्लब तथा स्थानीयतहले रेफ्रीप्रति पनि खासै चासो नलिने गरेको बताए ।

‘एन्फाले रेफ्रीहरूलाई खेल खेलाएवापत निश्चित पारिश्रमिक दिने गर्छ,’ वलीले थपे, ‘तर, जिल्लाका स्थानीय क्लब तथा सरकारले त्यही अनुसारको पारिश्रमिक दिन नसक्ने भएकाले पनि रेफ्रीप्रति खासै चासो छैन ।’ रेफ्रीहरूलाई मान-सम्मान दिन सके खेल जीवनबाट सन्यास लिएपछि ती खेलाडीहरू पनि रेफ्री हुन आकर्षित हुने उनको भनाई छ ।

खेलाडीहरू मात्र नभइ खेल खेलाउने रेफ्रीहरूलाई समेत जीवन चलाउन समस्या हुने गरेको समेत उनले बताए । ‘अहिले नेपालमा रेफ्रीको कमि छ । धेरै खेलाडीहरूलाई रेफ्री हुन मन लाग्दैन । वर्षमा २/४ वटा राम्रो टुर्नामेन्टहरू हुन्छन् । त्यहीँबाट आएको पारिश्रमिकले हामी कसरी बाच्न सक्छौँ ?’ दाङ जिल्ला फुटबल संघले विभिन्न संघसंस्था तथा क्लबहरूले आयोजना गर्ने प्रतियोगिताहरूमा सहकार्य गरेर आवश्यकता अनुसार व्यवस्थापन गर्ने गरेको छ ।

जिल्लामा रेफ्री उत्पादन गर्न दाङ फुटबल संघले यहि आउँदो फागुन महिनामा तालिम समेत आयोजना गर्न लागेको जनाएको छ । खेल क्षेत्रलाई स्थानीय तहले पनि सहयोग गरेको संघका जिल्ला सदस्य दीपक पुनले बताए । पहिलेको तुलनामा अहिले जिल्लामा खेल क्षेत्र राम्रो भएको समेत उनले दावी गरे । उनका अनुसार संघमा अहिले जिल्लाका १० क्लबहरू मात्र दर्ता भएका छन् ।

त्यस्तै, जिल्लामा पनि स्थानीय तहहरूले खेलकूद क्षेत्रलाई प्राथामिकता दिँदै आएको बताएका छन् । घोराही उपमहानगरपालिकाले पनि फुटबल, भलिबल, क्रिकेट, बास्केटबल जस्ता खेलहरूलाई पहिलो प्राथामिकतामा राखेर खेलाउँदै आएको उपमहानगरका प्रवक्ता भरतमणि अर्यालले बताए । प्रत्येक वडामा खेलकूदको लागि बजेट विनियोजन गर्दै आएको र राम्रा खेलाडीहरूलाई सम्मान र पुरस्कार दिने गरिएको उनको भनाइ छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी