ताजा अपडेट »

रमजान पर्व मङ्गलबारदेखि

सोमबार, २३ बैशाख २०७६, १३ : २७
2 Shares

वैशाख २३,

विराटनगर । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान मङ्गलबारदेखि शुरु हुने भएको छ । एक महीनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले बिहान ३:४३ बजेबाट बेलुका ६:३६ बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ ।

रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी संवत् १४४० हो भने रमजान महीना नवौँ महीना हो । रमजान महीनामा मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महीनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ । दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु यो महीनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न आज साँझ मुसलमानले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन छ । विराटनगर सरौचिया निवासी मोहम्मद अजादका अनुसार रमजान महीना हाम्रो लागि निकै महत्वपूर्ण हो र यो पर्वमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुनेगर्दछ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ ।

कुलतमा लागेका मानिस एक महीना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अजादको भनाइ छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् । नबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन् । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।