ताजा अपडेट »

छरिएको पूँजी एकीकृत गरेर लगानी गर्ने अभ्यास गरौँ : अर्थमन्त्री पौडेल

बुधबार, २९ पुस २०७७, ०८ : १५
6 Shares

काठमाण्डौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल छरिएको पूँजीलाई एकीकृत गरेर उत्पादनमूलक काममा लगाउनुपर्नेमा जोड दिएका छन् । भिजन लुम्बिनी कम्पनी लिमिटेडको साधारणसभाको आज श्रव्य दृश्यका माध्यमबाट उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । बुटवलका युवा उद्यमी जगत पोखरेलको नेतृत्वमा स्थापना भएको कम्पनीले धेरै जनाको थोरै–थोरै पूँजी सङ्कलन गरेर संयुक्त लगानी गर्ने अभ्यास नमूना भएको उनले बताएका छन्।

नौ क्षेत्रमा काम गर्ने गरी स्थापना भएको कम्पनीले अहिले पोखराको कास्कीमा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । जलविद्युत् आयोजनाको काम गुणस्तरीय र तीव्ररूपमा भइरहेको थाहा पाएको बताउँदै अर्थमन्त्री पौडेलले अन्य क्षेत्रमा पनि त्यस्तै सफलताका लागि शुभकामना पनि दिए सामूहिक लगानीमा निर्माण भइरहेको सेतीखोला जलविद्युत् आयोजनाका लागि सरकारी स्वामित्वको हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले रु २० करोड लगानी गर्ने सम्झौता गरेको छ ।

भिजन लुम्बिनीले तीव्रगतिमा पारदर्शी, सुशासन र जवाफदेहितासहित सामूहिक लगानीमा काम गरिरहेकाले निर्धारित समयमा गुणस्तरीय काम सम्पन्न हुने धेरै आधार देखिएकाले लगानी गरेको एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए। सेती नदी हाइड्रोमा एनएमबी बैंक लिमिटेडको अगुवाइमा तीन बैंक तथा वित्तीय संस्थाले रु तीन अर्ब ५० करोड लगानी गर्ने प्रतिबद्धता जनाएको भिजन लुम्बिनीका अध्यक्ष पोखरेलले जानकारी दिए।

एनएमबी बैंक एक्लैले आयोजनामा रु दुई अर्ब २० करोड लगानी गर्नेछ । यस्तै कर्मचारी सञ्चय कोषले रु ८० करोड र कृषि विकास बैंकले रु ५० करोड लगानी गर्नेछन् । कूल रु पाँच अर्ब लागत अनुमान गरिएको आयोजना आगामी २०७९ साउनभित्र निर्माण पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । आयोजनाको विद्युत् विद्युतगृहदेखि चार किलोमिटर टाढा १३२ केभी लाहाचोक सबस्टेशनमा जोडिनेछ ।

रासस
लेखकको बारेमा
रासस