ताजा अपडेट »

छिल्लीकोटमा आन्तरिक पर्यटक बढ्दै

बुधबार, २२ पुस २०७७, १७ : १०
10 Shares

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका १९ छिल्लीकोटमा पछिल्लो समय आन्तरिक पर्यटकहरु बढ्दै गएका छन् । छिल्लीकोटमा भ्यु टावर निर्माणसँगै आन्तरिक पर्यटकहरुको चहल पहल बढ्दै गएको छ । तुलसीपुरको विकट क्षेत्र भएका कारण खासै चर्चामा नआएको छिल्लीकोटमा भ्यू टावरसँगै अन्य संरचनाहरु बन्दै गएपछि पर्यटकीय केन्द्रका रुपमा अगाडी बढेको छ ।

त्यहाँको मुख्य आकर्षण केन्द्र भनेको एक छेउको टापुमा कालिका र अर्काे टापुमा मालिका भगवतीको मन्दिर हो । त्यसमा पनि पछिल्लो समयमा भ्यू टावर निर्माण भएपछि त्यसमा चढेर दाङ उपत्यका लगायत विभिन्न पहाड तथा हिमालका मनमोहक दृश्य हेर्नको लागि पर्यटकहरु आउने गर्दछन् । हिजो आज छिल्लीकोटमा दैनिक सयौँको संख्यामा आन्तरिक पर्यकटहरु आउने गरेको छिल्लीकोट संरक्षण समितिका अध्यक्ष पूर्णबहादुर पुनमगरले बताए ।

छिल्लीकोट ऐतिहाँसिक ठाउँ भएता पनि लामो सयमसम्म राज्यको आखाँ नपुग्दा पछाडी परेको भन्दै पछिल्लो समय स्थानीयतहमा जनप्रतिनिधिहरु आएपछि विभिन्न संरचनाहरु बनेपछि राज्यको आँखा पुगेको उनले बताए । साथै यस ठाउँको विकास र यहाँसम्म आइपुग्न पक्कि सडक भए झन् आन्तरिक तथा बाह्य पर्यटकहरु आउने उनले भनाइ छ ।

त्यसैगरी पहिलो पटक छिल्लीकोट पुगेकी तुलसीपुरकी मुना गौतमले धेरै रमणिय ठाउँ भएको बताइन् । उनले यहाँसम्म आउनको लागि राम्रो बाटो र सरसफाइमा ध्यान दिनु पर्ने समेत बताइन् । ‘सोचको भन्दा धेरै राम्रो ठाउँ रहेछ,” उनले भनिन्, ‘तर, यहाँ आउनको लागि बाटोको समस्या छ । त्यसैले अब यस ठाउँलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सडक र सरसफाइमा ध्यान दिन जरुरी छ । भ्यू टावरबाट दाङ उपत्यका लगायत अन्य पहाड तथा हिमालहरु पनि देख्दा एकदमै आनन्द महशुस हुन्छ ।’ त्यस्तै तुलसीपुर अर्की कमला पौडेलले पहिले नाम मात्र सुनेको भएता पनि यहाँ आउँदा धेरै रमाइलो लागेको बताइन् । ‘छिल्लीकोट धार्मिक तथा ऐतिहाँसिक ठाउँ मात्र नभई यहाँबाट विभिन्न पहाड तथा हिमालहरु पनि देख्न पाइदो रहेछ । त्यसैले यहाँको अझ विकास र सुरक्षा जरुरी छ,’ उनले थपिन् ।

त्यसैगरी घोराहीबाट आएका कारण केसीले पनि यस ठाउँको बारेमा सामाजिक संजालबाट थाहाँ पाएपछि पहिलो पटक आएको बताए । उनले पनि यहाँ अझ आन्तरिक तथा बाह्य पर्यटकहरुको तान्नको लागि स्थानीय तहले ध्यान दिनुपर्ने बताए । उनले भ्यू टावरले मात्र नहुने भन्दै खान र बस्नको लागि राम्रो होटलको ब्यवस्था हुनु पर्ने समेत बताए । यता तुलसीपुर उपमहानगरपालिकाले भने उपमहानगर भित्रका पर्यटकीय स्थलहरुको सुचि तयार गरेर त्यहाँ पर्यटकीय स्थलका रुपमा विकास गर्नको लागि पूर्वाधारहरु निर्माण गर्दै आएको जनाएको छ ।

पछिल्लो समय छिल्लीकोटमा भ्यु टावर निर्माणसंगै आन्तरिक पर्यटकहरु पनि त्यहि कारणले बृद्धि भएको उपमहानगरका मेयर घनश्याम पाण्डेले बताए । त्यसैगरी छिल्लीकोटमा होमस्टे निर्माणको तयारी भइरहेको समेत मेयर पाण्डेले बताए । साथै छिल्लीकोटमा भ्यु टावर मात्र नभइ केबलकार संचालन गर्नको लागि पनि सम्भाब्यता अध्ययन् गरेर लगानी कर्ताहरुसंग छलफल अगाडी बढाएको उनले बताए । त्यस्तै त्यहाँ आन्तरिक पर्यटकहरु दिनप्रति दिन बढ्दैँ जादाँ छिल्लीकोटमा सुरक्षाको चुनौति भयो, भन्ने कुरा आएपछि हामीले त्यहाँ सुरक्षा ब्यवस्था गर्नको लागि सुरक्षा निकायमा समेत जानकारी गराएको उनले बताए ।

छिल्लीकोट विकासको लागि तुलसीपुर उपमहानगरपालिका र लुम्बिनी प्रदेश सरकारको लगानी भएको र त्यसैका कारण पर्यटकहरुको बृद्धि हुदैँ गएको उनको भनाई छ । उक्त भ्यू टावर साढे ३९ लाखमा ३ तले निर्माण गरिएको छ । छिल्लीकोट समुन्द्री सतहदेखि १ हजार ४१० मिटरको उचाइमा छ । मौसम सफा हुँदा छिल्लीकोटबाट रुकुमको सिस्ने हिमाल, रोल्पाको जलजलाजस्ता हिमाल देख्न सकिन्छ, भने महाभारत पर्वत शृंखलाबाट दक्षिणको दाङ उपत्यका नियाल्न सकिन्छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी