ताजा अपडेट »

श्वेताको शल्यक्रिया

मंगलबार, १७ बैशाख २०७६, १४ : १८
4 Shares

झिकियो घाँटीको ट्युमर । भन्छिन्– अब फिल्म खेल्दिनँ

वैशाख १७,
काठमाण्डौ । अभिनेत्री श्वेता खड्काको घाँटीको ट्युमर अप्रेसनपछि निकालिएको छ  । घाँटी र चिउँडोमा अत्यधिक दुखाइ महसुस भएपछि भारतको बीएलके अस्पतालमा उनको सफलतापूर्वक ट्युमर निकालिएको हो  ।

साताअघि मात्रै खड्का आफ्नो नयाँ फिल्म ‘हेल्लो जिन्दगी’ को छायांकनका लागि लन्डन पुगेकी थिइन् । ‘बेलायत आउनु केही दिनअघि पनि मेरो घाँटी र चिउँडोमा दुखाइ महसुस भएको थियो,’ अप्रेसनपछि लामो फेसबुक स्टाटस लेख्दै अभिनेत्री खड्काले भनेकी छन्, ‘त्यो बेला डाक्टरले ट्युमर भएको तर तत्काल खासै ठूलो समस्या नदिने र केही महिनापछि अप्रेसन गरी फाल्दा पनि हुने बताउनुभएको थियो । तर लन्डन आएपछि दुखाइ सहनै नसक्ने गरी बढ्यो ।’ उनको अप्रेसनपछि आफूले डरलाग्दो अवस्थाबाट जित हासिल गरी नयाँ जीवन पाएको टिप्पणी गरेकी छन् ।

अभिनेत्री खड्काले स्वास्थ्य अवस्थाका कारण ‘हेल्लो जिन्दगी’ खेल्न नसक्ने पनि जनाएकी छन् । ‘म फिल्म खेल्ने जुन उत्साहका साथ लन्डन आएकी थिएँ । यति बेला मेरो स्वास्थ्यस्थितिका कारण खेल्न असमर्थ भएकी छु । मेरा लागि यसले अर्को पीडा थपिदिएको छ,’ खड्काले आफ्ना शुभचिन्तक दर्शकको आफूप्रतिको आशालाई निराशा बनाएकोमा दुःख पनि व्यक्त गरेकी छन् । ‘कहाँ भेटिएला’ मार्फत नेपाली फिल्ममा डेब्यु गरेकी अभिनेत्री खड्काको पछिल्लो फिल्म ‘कान्छी’ प्रदर्शनमा आएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।