ताजा अपडेट »

‘छक्का पञ्जा २’ पुनः प्रदर्शनमा

शुक्रबार, १३ बैशाख २०७६, १२ : ५३
4 Shares

बैशाख १३,

काठमाण्डौ । आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको सुपरहिट चलचित्र ‘छक्का पञ्जा २’ शुक्रबारदेखि पुनः देशै भरिका हलमा प्रदर्शनमा आएको छ । चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीका अनुसार नेपालभरीका सिंगल तथा मल्टिप्लेक्समा गरी उपत्यका बाहिरका ५० चलचित्र घरहरुमा ‘छक्का पञ्जा २’ प्रदर्शन हुँदैछ ।

यस्तै उपत्यकाका विभिन्न हलमा पनि ‘छक्का पञ्जा २’ प्रदर्शन हुँदैछ । दर्शकहरुको अत्याधिक चाहना अनुसार नै चलचित्र पुनः रिलिज गर्न लागिएको निर्माता गिरीको भनाइ छ । शुक्रबार कुनै पनि नयाँ नेपाली चलचित्र प्रदर्शन नभएको मौकामा चलचित्र ‘छक्कापञ्जा २’ प्रदर्शन गर्ने निर्णय गरिएको हो । शुक्रबारदेखि हलिउड चलचित्र ‘एभन्जर्स’ प्रदर्शन भैरहेको छ । यो चलचित्रसँग कुनै पनि नयाँ नेपाली चलचित्र प्रतिस्पर्धा गर्न तयार भएनन् । त्यसै मौकामा चलचित्र छक्का पञ्जा २ ले पुनः चलचित्र रिलिज गराएको छ । ‘नेपालमा अंग्रेजी चलचित्र नहेर्ने दर्शक धेरै हुनुहुन्छ ।’ निर्माता गिरीले भने  अंग्रेजी चलचित्र नहेर्ने दर्शकका लागि छक्का पञ्जा २ पुनः प्रदर्शन गरिएको हो । ‘छक्का पञ्जा २’को पुनःप्रदर्शनबाट संकलन भएको रकमको २५ प्रतिशत रकम रवि लामिछानेले निर्माण गर्न लागेको अस्पताललाई हस्तान्तरण गरिनेछ । अन्य रकम पनि समाजसेवामा नै खर्चिने योजना बनाइएको छ । तर, कुन शीर्षकमा कसरी खर्च गरिन्छ भन्ने कुरा पछि बताइने निर्माता तथा कलाकार गिरीले बताए । ‘धेरै दर्शकले चलचित्र हेर्नुभएको छैन ।

उहाँहरुलाई मध्यनजर गर्दै चलचित्र पुनः प्रदर्शन गर्न लागेका हौँ । यस अघि नै चलचित्र हेरिसक्नुभएको दर्शकले पनि केही नयाँपन पाउनु हुनेछ,’ निर्माता गिरीले भने । पुनःप्रदर्शन पश्चात विदेशमा पनि चलचित्र रिलिज गरिने तयारी भैरहेको छ । यो चलचित्र २०७४ साल असोज ११ गते रिलिज भएको थियो । यो चलचित्रलाई धेरै दर्शकहरुले युट्यूब रिलिजका लागि अनुरोध गरिरहेका छन् । तर निर्माण टिमले युट्यूब रिलिजभन्दा अघि पुनःप्रदर्शन गर्ने योजना बनाएको हो । चलचित्र ‘छक्का पञ्जा २’को निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्र्की, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, वर्षा राउत, बुद्दी तामाङलगायतका कलाकारको अभिनय गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।