ताजा अपडेट »

२३ जनाको ज्यान जानेगरी राम्रीमा बस दुर्घटना भएको दुई वर्ष पूरा

सोमबार, ०६ पुस २०७७, ०९ : १४

दाङ । राप्तीराज मार्ग अन्तरगत राम्रीमा भयानक बस दुर्घटना भएको आज दुई वर्ष पूरा भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गैरागाउँस्थित शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थी र शिक्षक सवार बा ४ ख ९७६६ नम्वरको बस २०७५ पुष ६ गते राम्रीमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परि दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्बका १/१ जनाको मृत्यु भएको थियो भने एक दर्जन बढि घाईते भएका थिए । शिक्षालयको वन विज्ञानका विद्यार्थीहरुले प्रयोगात्मक अभ्यासका लागि सल्यानको मूलपानीमा रहेको वनस्पती उद्यानको अध्ययन अवलोकन गरेर फर्कने क्रममा बस दुर्घटनाहुँदा शिक्षक, विद्यार्थी र चालक १९ जना पुरुष र ४ जना महिला गरी २३ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा २२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारकै क्रममा मृत्यु भएको थियो । एक जना विद्यार्थीले भने हाम फालेर ज्यान जोगाएका थिए । त्यस क्षेत्रमा पटकपटक सवारी दुर्घटना हुने गरेको छ । बस दुर्घटना हुनु अगाडी टेक्टर र मोटरसाईकल पनि दुर्घटनामा परेको थियो । धेरै ठूलो भिर र घुम्ति भएकाले त्यस क्षेत्र सवारी दुर्घटनाको उच्च जोखिमको सुचीमा परेको छ ।

शिक्षालयद्वारा स्मृति सभा कार्यक्रम
राप्तीराज मार्ग अन्तरगत राम्रीमा भएको बस दुर्घटनामा परि ज्यान गुमाएका विद्यार्थी, शिक्षक र गाडी चालक/सहचालकको स्मृतिमा घोराही उपमहानगरपालिका वडा नम्बर १७ गैरागाउँमा रहेको शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयले स्मृति सभा कार्यक्रमको आयोजना गर्ने भएको छ ।

शिक्षालयका प्रमुख यादव सुवेदीका अनुसार स्मृति सभा, फलफुल, खाद्यन्न वितरण लगाएतका कार्यक्रम रहेको छ । कोरोना भाईरस संक्रमण जोखिमका बावजुद पनि कोरोना सावधानी अपनाउदै सोमवार स्मृति सभा कार्यक्रम गरीने उनले जानकारी दिएका छन् ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी