ताजा अपडेट »

दुर्घटना बढेको छैन, न्यूनिकरणमा जोड दिएका छौं : प्रदेश ट्राफिक प्रमुख वि.क.

सोमबार, २९ मंसिर २०७७, १८ : २८
20 Shares

पछिल्लो समय सवारी दुर्घटना तथा दुर्घटनामा परी हुने मृत्युदर वृद्धि भएको छ । सडकमा बढ्दो ट्राफिकसँगै दुर्घटनाको दर लाग्दो अवस्था देखिन्छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार मंसिर १ गतेदेखि २७ गतेसम्मको अवधिमा १ सय २५ वटा सवारी दुर्घटना भएका छन् । जसमा ४८ जनाले ज्यान गुमाएका छन् । १ सय १५ जना गम्भीर घाइते भएका छन् । यसैगरी गएको कार्तिक महिनामा दुर्घटनाको संख्या मंसिर महिना भन्दा १८ वटा कम छ । प्रदेशमा कार्तिक महिनामा १ सय ७ वटा दुर्घटना भएकोमा ५१ जनाको मृत्यु भएको छ । गम्भीर घाइते हुनेको संख्या ९१ रहेको छ ।

यसैगरी रुपन्देही जिल्लामा मात्रै मंसिरको २७ गतेसम्म ३७ वटा सवारी दुर्घटना भए । जसमा १६ जनाको मृत्यु भएको छ भने २४ जना गम्भीर घाइते छन् । ३१ जना सामान्य घाइते भए । गएको कार्तिक महिनामा जिल्लामा २५ वटा सवारी दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी गत असोजमा रुपन्देहीमा ८ वटा दुर्घटनामा ३ जनाको ज्यान गएको थियो ।

यसरी दैनिकजसो सवारी दुर्घटनाको संख्या बढ्दै जाँदा न्यूनिकरणका लागि भएका प्रयास लगाएतका विषयमा ग्लोबल आवाजका लागि लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायव उपरिक्षक डम्बरबहादुर वि.क. सँग गरिएको कुराकानी :

लुम्बिनी प्रदेश ट्राफिक प्रहरीको नेतृत्वमा आएपछि तपाइँले के –कस्ता नयाँ काम के गर्नुभयो ?
- मैले लुम्बिनी ट्राफिक प्रहरीको नेतृत्वको गरेको पनि ३/४ महिना बढी भइसकेको छ । विश्वव्यापी कोरोना महामारीका बीच नेतृत्व गर्नु कम चुनौतीपूर्ण थिए । हामी ट्राफिक प्रहरीहरु कोरोना चूनौतीको समेत सामना गर्दै आफू सुरक्षित रहेर ट्राफिक सुरक्षामा पनि खट्नु पर्ने अवस्था थियो, अहिले पनि छ । मुख्यतया गरी हामीले सुरक्षित सडक र व्यवस्थित शहर अभियानलाई प्राथमिकतामा राखेर अभियानहरु सञ्चालन गरेका छौं । यसैगरी सडकका विभिन्न ठाउँमा विशेष गरी व्यवस्त ठाउँहरुमा सिसिटिभी जडान गरी ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनुका साथै यात्रुसँग ५ मिनेट अभियान, चालकहरुसँग भेटघाट लगायतका कार्यक्रमहरु गरी दुर्घटना न्यूनिकरणका लागि प्रयास गरिरहेका छौं ।

ट्राफिक प्रहरीले चलाउने विभिन्न अभियानका बीच पनि दुर्घटनाको दर झन् बढेको छ । यस्तो हुनुको कारण के हो ?
-सांस्कृतिक तथा प्राकृतिक कारणले पनि दुर्घटना हुँदा रहेछन् । विवाह भोज लगाएतका कारण सडकमा मानिसहरु बढी निस्कनुका साथै शित पर्ने, कुहिरो लगायतका मौसमी कारणले पनि दुर्घटनाको दरमा असर पार्ने गरेको हामीले पाएका छौं । यसका साथै सडक बढी व्यवस्त हुने ठाउँहरुमा दुर्घटनाका दर बढी देखिएपनि मृत्युदर कम छ भने व्यस्तता कम भएका सडकहरुमा दुर्घटनाबाट ज्यान गुमाउनेको दर बढी देखिएको छ । यो विश्लेषणबाट हामीले के बुझेका छौ भने लामो समयसम्म खाली रहेको सडकमा सवारीको चाप बढ्दै जाँदा दुर्घटनाहरु पनि बढेका छन् । तर, विगत वर्षको तथ्यांकको तुलनामा दुर्घटनाको दर बढेको भने होइन । गत वर्षभन्दा १४ प्रतिशत कमी आएको छ ।

सडक दुर्घटना न्यूनिकरणका लागि भन्दै विभिन्न अभियानसहित ठाउँ–ठाउँमा डमी प्रहरी पनि राख्नु भएको छ यसको प्रभावकारीता र उपलब्धि केही छ त ?
- सडकका विभिन्न ठाउँ–ठाउँमा डमी प्रहरी राखेर सचेतना फैलाउने विधि नयाँ प्रयोग हो । कोभिड–१९ को संक्रमणबाट बच्दै काम गर्नुपर्ने बाध्यता बीच डमी प्रहरी केही सकारात्मक परिक्षणनै मान्नु पर्छ । सडकमा गुड्ने सवारी चालकहरुलाई ट्राफिक नियम पालना गर्नका लागि मानसिक रुपमा सधै सचेत गराउने काम यसले गरेको छ । यसैगरी हामीले यात्रुसँग ५ मिनेट, चालकसँग भेटघाट तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं । जनतालाई ट्राफिक नियमको पालना गर्नु आफ्नै सुरक्षा गर्नु हो भन्ने कुरा बुझाउनका लागि यो अभियानले सकारात्मक भूमिका खेल्न सकेको देखिन्छ ।

ट्राफिक व्यवस्थापनका लागि नयाँ योजना तथा व्यवस्थापनका लागि चुनौतीहरु के–कस्ता छन् ?
-ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनिकरणका लागि अबको विकल्प भनेकै प्रविधिमैत्री सुरक्षा नीति हो । यसका लागि स्वयम् नेपाल प्रहरीले पनि प्रविधिमैत्री बनाउने गरी काम थालनी गरेको छ । सडक सुरक्षाकालाई डिजिटल प्रविधिमा परिमार्जित गर्नुका साथै त्यसलाई विश्वसनीय बनाउनु पर्ने छ । सवारीको गति जाँच्ने, मापसे जाँच तथा विभिन्न ठाउँमा सिसिटिभी जडान गरी निगरानी लगाएतका कार्यलाई गुणस्तरीय बनाउने योजनामा नेपाल प्रहरी रहेको छ । लुम्बिनी प्रदेशमा ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनिकरणका लागि हाल देखिएका चूनौती भनेको जनशक्तिको हो । प्रदेशभर ४९० जना ट्राफिक प्रहरीले अहिले काम गरिरहेका छौं जुन बढ्दो शहरी कारण र भौगोलिक अवस्थितीको तुलनामा एकदमै कम हो । यसैगरी ट्राफिक प्रहरीको आफ्नै बजेट नहुनेहुँदा कुनै पनि कार्यक्रमहरु सञ्चालन तथा व्यवस्थापन लगायतका काममा दातृ नीकाय तथा सहयोग संस्थाहरुको भर पर्नुपर्ने अवस्था छ ।

प्रदेश ट्राफिक प्रहरी प्रमुखको हैसियतले चालक तथा यात्रीलाईहरुलाई ट्रफिक सम्बन्धी कस्तो सन्देश दिन चाहानुहुन्छ ?
-ट्राफिक नियम पालना गर्नु अरु कसैका लागि नभई तपाई आफ्नै लागि हो । कुनैपनि सवारीका साधानले तपाइँको ज्यान लिने होइन तपाईले सवारी हाक्दा हुने तिब्र गतिका कारण मानिसको ज्यान जान सक्दछ । यि कुराहरुलाई सबैले बुझ्न र पालना गर्न आवश्यक छ । सडक व्यस्त हुने क्रम थप बढेको सुरक्षित भएर मात्रै सवारी हाँकौं । ट्राफिक नियमको आफू पनि पालना गरौं,अरुलाई पनि गर्न लगाऔं ।

https://www.globalaawaj.com/archives/68152
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।