ताजा अपडेट »

अर्थमन्त्री पौडेल र कोरियाली राजदूत योङसिकबीच भेटघाट

विहीबार, २५ मंसिर २०७७, १८ : ०७
24 Shares
विहीबार, २५ मंसिर २०७७
24 Shares

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । भेटवार्तामा दुईक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे छलफल भएको छ ।

अर्थमन्त्री पौडेलले कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) मार्फत कोरियाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको क्षेत्रमा पु¥याएको सहयोगप्रति आभार व्यक्त गरे । नेपाल र कोरियाबीच व्यापार, लगानी र रोजगारीको क्षेत्रमा समेत आपसी सहकार्य बढदै गएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले ‘ईपीएस’ (ईम्लाएमेन्ट प्रमिट सिस्टम) मार्फत नेपाली रोजगारीका लागि कोरियामा जाने र त्यहाँ सिकेको सीप नेपालमा प्रयोग गर्दा देशलाई फाइदा पुगेको बताए ।

उनले कोभिड–१९ विरुद्ध नेपालले गरेको प्रयासमा कोरिया सरकारको सहयोग र सहकार्यका लागि धन्यवाद दिए । अर्थमन्त्री पौडेलले नेपालमा पर्यटक, व्यापारी तथा लगानीकर्ताका रुपमा कोरियन जनताको उपस्थिति बढाउन थप सहयोगको लागि आग्रह गरे । उनले कोरिया सरकारको सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरुका लागि मन्त्रालयको सहयोग साथ र समर्थन रहने बताए ।

राजदूत योङसिकले कोरियन सरकारले नेपालको विभिन्न क्षेत्रमा गरेको सहयोगका बारेमा जानकारी गराउँदै प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा सहयोग विस्तार गर्ने जानकारी गराएका थिए । उनले कोरियाको निजी क्षेत्रबाट थप लगानी बढाउन समन्वय गर्ने बताए ।

साथै ईपीएसमार्फत नेपाली रोजगारीका लागि कोरियामा कार्यरत जनशक्ति तथा त्यहाँबाट फर्केर आएका जनशक्तिलाई उद्यमशिलता प्रदान गरी व्यावसायिक बनाउने कार्यक्रम रहेको जानकारी गराए । राजदूत योङसिकले कोभिड– १९ को रोकथाम, नियन्त्रण तथा उपचारमा कोरियन सरकारको सक्रिय योगदान हुने बताएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।