ताजा अपडेट »

दाङमा आधुनिक कृषि औजारको प्रयोग बढ्यो

शुक्रबार, १९ मंसिर २०७७, १७ : २४
14 Shares

दाङ । प्रविधिको विकाससँगै कृषि क्षेत्रमा आधुनिक मेशनरी औजारको प्रयोग बढेको छ । कृषिको व्यवसायिकरण तथा उपकरणको प्रयोगबाट छिटो र सहज हुने भएपछि कृषकहरुले मेशनरी औजारको प्रयोगलाई बढाएका छन् । मकै रोप्ने, गोड्नेदेखि, खेत जोत्ने, गहुँ दाउने, धान दाउनका लागि आधुनिक प्रविधिको प्रयोग हुने क्रम बढेको छ । धान रोप्नका लागि जमिन खन्ने र मिलाउने, रोप्ने, काट्ने र काटेको धानको व्यवस्थापन गरि भण्डारण गर्ने काममा पनि प्रविधिको प्रयोग हुन थालेको छ ।

यसबाट समयको बचत हुने र व्यवस्थापनमा सफाई हुने भएकाले कृषि क्षेत्रमा आधुनिक उपकरणको प्रयोग गर्न थालिएको तुलसीपुर-११ मोतिपुरका धनराज बस्नेतको भनाई छ । तिन वर्ष पहिले विदेशबाट फर्किएका बस्नेतले हाल आधुनिक प्रविधिको प्रयोगबाट कृषि व्यवसाय गर्दै आएको बताउँछन् । ट्याक्टर खरिद गरि जोत्ने, धाउने काम आफै गर्दै आएको उनको भनाई छ । उनले कृषि क्षेत्रमा प्रविधिको प्रयोग गर्दै आएका छन् भने अन्य किसानहरुलाई भाडामा दिने गरेको बताएका छन् । उनले प्रति घण्टा १६ देखि २ हजारसम्म लिने गरेको बताए । ३० मुरी धान खलियानबाट गोरु राँघाको माध्यमबाट दाही मार्दा कम्तीमा ३ दिन लाग्ने गरेकोमा अहिले थ्रेसर जस्ता कृषि आधुनिक प्रबिधिबाट आधा घण्टामै सकिने भएकोहुँदा समय र लगानीको समेत बचत हुने अर्का किसान तेजबहादुर बस्नेतले बताए ।

झण्डै ६३ वर्षीय बस्नेतले परम्परागत रुपमा धान खेती गरेर घरसम्म भण्डारण गर्दै आएका उनले पछिल्नो समय कृषि आधुनिक उपकरणको प्रयोग गर्न थालेको बताएका छन् । लामो समयदेखी कृषि पेशागर्दै आएका उनले समयमै रासायनिक मल प्रयाप्त मात्रामा उपलब्ध हुन नसकेको भएपनि यस वर्ष धानबाली जिल्लामा राम्रो उत्पादन भएको छ ।

यता कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ उमेशचन्द्र श्रेष्ठका अनुसार वर्षात राम्रो भएका कारण उत्पादन राम्रो भएको हो । यो वर्ष ३८ हजार ४ सय ९७ हेक्टरमा धान खेती भएको छ भने गत वर्ष दाङका ३७ हजार सात सय १० हेक्टरमा गरिएको थियो । यसपालि १ लाख ७९ हजार मेट्रिक टन धान उत्पादन हुने अपेक्षा गरिएको छ । गतवर्ष १ लाख ६८ हजार ५८ मेट्रिकटन उत्पादन भएको उनले बताएका छन् । यसवर्ष प्रतिहेक्टर उत्पादकत्व ४ दशमलव ६ मेट्रिकटन थियो भने गत वर्ष ४ दशमल ५ प्रतिशत प्रति हेक्टर धानको उत्पादकत्व थियो । दाङमा करिब ६५ प्रतिशत नागरिक कृषि पेशामा आवद्ध रहेको तथ्याङ्कमा उल्लेख छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी