ताजा अपडेट »

कुशल अभिभावक राजेशबाबु

बुधबार, १० मंसिर २०७७, १८ : ००
2 Shares

आज हामी शारीरिक सुगठन खेलको मातृसंस्था नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका वर्तमान अध्यक्ष राजेशबाबु श्रेष्ठका बारेमा चर्चा गर्दैछौ । नेपालको सन्दर्भमा शारीरिक सुगठन खेलको चर्चा गरिरहँदा राजेशबाबु श्रेष्ठको नाम नलिदाँ त्यो अपुरो/अधुरो हुने गर्छ । आदरणीय अग्रजहरु पटक-पटकको लामो प्रयासपछि (संस्थाको अभिलेख अनुसार) २०३५ सालमा नेपाल भारोत्तोलन तथा शारीरिक सुगठन संघको वैधानिक दर्ता प्रक्रिया सफल भयो । पुनः २०४७ सालमा छुट्टै संघको आवश्यकता बोध गर्दै नेपाल शारीरिक सुगठन संघलाई भारोत्तोलनबाट छुट्टाउने प्रक्रिया अगाडि बढाइयो ।

स्थापनाकालदेखि नै विभिन्न आरोह अवरोह पार गर्ने क्रममा नेपाल शारीरिक सुगठन संघमा विभिन्न व्यक्तित्वहरुले संघका नेतृत्व प्रदान गरे । नेपाल शारीरिक सुगठन संघ स्वतन्त्र हिसाबले अगाडि बढिरहँदा प्रारम्भमा तदर्थ समितिको अध्यक्षमा सरोजकुमार श्रेष्ठले नेतृत्व गरे । त्यसलगत्तै गठन भएको केन्द्रीय नेतृत्वको जिम्मेवारी क्रमशः शिवलाल श्रेष्ठ देखि धनश्याम मुखियासम्म आईपुग्यो । यस बीचमा संघको आफ्नै पहलमा २०५२ सालमा प्रथम मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको आयोजना सम्पन्न भइसकेको थियो ।

राष्ट्रिय खेलकुद परिषदको तत्वधानमा सामान्यतयः प्रत्येक वर्ष हुने राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी संघले लिने गरेको थियो । ०५७ सालमा प्रथम पटक अन्तराष्ट्रिय प्रतियोगिता दोश्रो दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताको आयोजना नेपालले गरेको थियो । तत्कालीन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव किशोरबहादुर सिंह परिषदको नेतृत्वमा आएपछि नेपाल शारीरिक सुगठन संघ २०६२ साल असोज १० गते तत्कालिन तदर्थ समितिको विगठन गरि नयाँ समिति गठन गरियो । जसमा आफ्नो व्यवसायिक सफलताको उचाईमा रहेका दृढ संकल्पी उद्यमी राजेशबाबु श्रेष्ठलाई संघको वागडोर सम्हाल्न अनुरोध गरियो ।

त्यस प्रसंगलाई स्मरण गर्दै राजेशबाबु श्रेष्ठ भन्छन, ‘किशोर बहादुर सिंह ज्युले फोनमार्फत मलाई नेपाल शारीरिक सुगठन संघको केन्द्रीय कमिटीमा बस्न अनुरोध गर्नुभयो । मैले सदस्य पदमा होला भन्ने लागेर उहाँको अनुरोध सहर्ष स्वीकार गरे । पछि मात्र थाहा भयो, मलाई त नेतृत्वका लागि अनुरोध गरिएको रहेछ, बैठकमा उपस्थित भएर हेर्दा, मैले चिनेका अनुहारहरू निकै कम थिए । चुनौतीलाइ अवसरको रुपमा बदल्ने अठोटका साथ मैले नेतृत्व गर्ने निष्कर्षमा पुगे ।’

उनी नेतृत्वमा आए लगत्तै संस्थाको विगतका बारेमा अध्ययन थाले । स्थापनाकालदेखि पटक–पटक तदर्थ समितिबाट सञ्चालन भएको केन्द्रीय समितिको अधिवेशनको तिथि–मिति तय गरियो । लामो समयदेखि अवरुद्ध रहेका शारीरिक सुगठनका प्रतियोगिताहरू लाई यथाशीघ्र निरन्तरता दिने निर्णय गर्दै बैठकहरु सम्पन्न भए । वि.सं. २०५२ सालमा संघको पहलमा सुरुवात गरिएको मिष्टर हिमालय लामो समय रोकिएको दोस्रो संस्करण २०६३ असोज ७ गते गर्ने निर्णय गरियो । झण्डै १३ वर्षदेखि अवरुद्ध राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता समेत एघारौं संस्करण सञ्चालन गर्ने तयारी थालियो । यसभन्दा अघि दशौ संस्करण २०५१ सालमा धरानमा सम्पन्न भएको थियो ।

वि.सं. २०६४ साल श्रावण ३० गते सम्पन्न भएको प्रथम अधिवेशनबाट प्रथम निर्वाचित केन्द्रीय समिति गठन गरियो । जसको नेतृत्व पूनः राजेशबाबु श्रेष्ठको काँधमा आयो । त्यसपछि नेपालमा शारीरिक सुगठन खेलको पृथक परिदृश्य अगाडी देखियो । यस अगाडि खेलाडीहरू छिटफुट रुपमा मात्र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता भएर सामान्य नतिजाहरू आइरहेको अवस्था थियो । त्यस बेलादेखि सघन रुपमा केन्द्रीय संघले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीहरुलाई पठाउने जिम्मेवारी लिन प्रारम्भ गर्यो । त्यसपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा क्रमश नतिजाहरु समेत सुधार हुन थाले । नेपाली खेलाडीहरुले समेत विदेशी मुलुकमा गएर नेपालको झण्डा फराउने र पदकहरु भित्र्याउने क्रममा तीव्रता आउन लाग्यो । संघको आधार स्तम्भका रुपमा रहेका जिल्ला संघहरुको देशभरि नै बिस्तारमा विशेष जोड दिइयो । फलस्वरुप जिल्ला, अञ्चल, क्षेत्रिय र राष्ट्रिय स्तरका समेत प्रतियोगिताहरुको सख्यामा उल्लेखनीय वृद्धि हुन थाल्यो ।

अन्तर्राष्ट्रिय स्तरमा नै International World Games Association (IWGA) तथा International Sports Federation (ISF) शारीरिक सुगठन तथा फिजिकल फिटनेसलाइ एउटै महासंघमा आबद्ध गर्ने स्वीकृति दिएकाले नेपालमा समेत अन्तर्राष्ट्रिय महासंघको परिपत्र बमोजिम नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका नाममा २०६४ साल असार १७ गते साविकको संघ रुपान्तरण गरियो । हाल राजेशबाबु श्रेष्ठले नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष भएर नेतृत्वदायि भुमिका निवार्ह गर्नुका साथै Asian Bodybuilding and Physique Sports federation को गरिमामय उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिरहेका छन् । इन्डोनेसियामा भएको कांग्रेसले उनलाई दोस्रो कार्यकालका लागि समेत मनोनयन गरेको थियो । सोही बैठकबाट नेपालमा 55th Asian Bodybuilding and Physique Sports Championships गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।

केही वर्ष अगाडि शारीरिक सुगठन खेलका अन्तर्राष्ट्रिय महासंघमा टुटफुट देखा पर्ने थाल्यो । त्यसको पराकम्पनहरु नेपालमा पनि देखिन थाल्यो । नेपाल शारीरिक सुगठन तथा फिटनेश सङ्घले स्थापना कालदेखि (IFBB) International Federation of Bodybuilding and Fitness महासंघमा आवद्धता जनाएको थियो । पछि सन् २००९ मा ओसामा अहमद अलसफरको नेतृत्वमा World Bodybuilding and Physique Sports Federation (WBPF) गठन भयो ।

नेपालका सन्दर्भमा हाल अन्तर्राष्ट्रियस्तर यि दुवै बडी बिल्डिङको फेडरेशनमा आवद्ध संघहरु क्रियाशील छन् । WBPF को सम्बद्धता प्राप्त नेपाल शारीरिक सुगठन तथा फिटनेश संघ (NBBFA) तथा IFBB को सम्बद्धता प्राप्त नेपालीज फेडरेसन अफ बडिबिल्डिङ एन्ड फिटनेस -(NFBF) IFBB क्ष्ँद्यद्य महासंघको एशियाली टिम ठूलो हिस्साले WBP तिर लाग्यो

नेपाल शारीरिक सुगठन तथा फिटनेश सङ्घले पनि एशियाली शारीरिक सुगठन प्रतियोगितामा WBPF महासंघको पकड मजवुत देखेर सोही महासंघसंग आवद्धता लियो । यधपि राजेशबाबु श्रेष्ठले आफुले दुवै संघलाइ एक बनाउन भगिरथ प्रयास गरेको तर सफल हुन नसकेको बताए । विगतको पानाहरु पल्टाउँदै राजेशबाबु भन्छन्, " सन् २००८ मा इन्डोनेसियाको बालीमा आयोजित 1st Asian Beach Games मा शारीरिक सुगठन प्रतियोगिता पनि समावेश थियो । त्यसकालागि नेपाली खेलाडी टोली श्याम श्रेष्ठ, ज्ञान नारायण महर्जन र बिरु महर्जन लगायत अन्य खेलाडी जाने निधो गरियो । त्यसको अफिसियल टोलीमा सङ्घको तर्फबाट म लगायत अन्य केही साथीहरू गयौं । प्रदर्शनको क्रममा निकै आशा गरिएका खेलाडी श्याम श्रेष्ठको स्टेजमा प्रस्तुति आशातित हुन सकेन ‌। प्रतियोगिता हेर्न गएका तत्कालीन राष्ट्रिय खेलकुद परिषद सदस्यसचिव जीवनराम श्रेष्ठको अगाडि मैले निकै अप्ठ्यारो अनुभूति गरे । मैले खेल सकिएपछि श्यामलाइ बेसरी झपारें । तिमीहरु देशको झण्डा लिएर देशको प्रतिनिधित्व गर्दै आएका हौ । यसरी आफ्नो तयारी पुरा नगर्ने भनेर झोकिएँ । श्यामलाई त्यो कुरा मनमा लागेछ । नभन्दै त्यसपछि लगत्तै सन् २०१० मा नेपालमा भएको सातौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा स्वर्णपदक प्राप्त गरेका श्यामले देशको नाम राख्न सफल भए ।

भियतनाममा भएको एसियाली शारीरिक सुगठन च्याम्पियनशिपमा सहभागी हुन महेश्वर महर्जन सहित अन्य खेलाडी लिएर हामी भियतनाम पुग्यौं । प्रतियोगिता अगाडि निकै तयार देखिएका महेश्वर महर्जनको प्रस्तुति स्टेजमा सामान्य खालको रह्यो । प्रतियोगिता सकिए पछि हरेश खादै महेश्वरले एशियाली स्तरमा हामीले जति नै प्रयास गरेपनि नसकिने निष्कर्ष निकाल्न थाले । मैले उनिलाइ संझाउँदै भने, यहाँ प्रतिस्पर्धा गर्दै गरेका अन्य देशका खेलाडीले गर्न सक्ने कुराहरु तिमीले किन नसक्ने ? तिमीहरुको मेहनतमा नै कमी छ, यस्तो अवस्थामा अब तिमीलाई अन्य प्रतियोगिता पठाउन सकिँदैन, भने । उसलाई त्यो कुराले साह्रै चित्त दुखेछ शायद । त्यसपछि भएका प्रतियोगिताहरुमा उनले निकै मेहनत गरे ।

त्यसपछि भएका एशियाली प्रतियोगितामा मात्र नभएर उनले विश्व शारीरिक सुगठन प्रतियोगितामा समेत स्वर्ण पदक जितेर इतिहास रचेका छन् ।' महेश्वर महर्जन भन्छन्, "यदि राजेश दाईले त्यो बेला मलाई त्यति कुरा नभन्नु भएको भए शायद आज म यो स्थानमा हुदैन थिए होला ।" यस वीच राजेशबाबु कै कुशल नेतृत्वमा सन् २०१० मा सातौ तथा सन् २०१९ मा बाह्रौ दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताको सफल आयोजना नेपालले गरिसकेको छ । राष्ट्रिय प्रतियोगिताहरु समेत नियमित रुपमा ११औ देखि १६औ संस्करणसम्मका राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता तथा दोश्रो देखि सातौ मिष्टर हिमालय खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता निरन्तर रुपमा कुशलतापुर्वक सम्पन्न भइसकेका छन् । सन् २०१० देखि २०१२ सम्म उनिले दक्षिण एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस महासंघको अध्यक्षको जिम्मेवारी समेत कुशलता पुर्वक निर्वाह गरिसकेका छन् ।

उनले नेपाल लगायत अन्तराष्ट्रिय परिवेशमा समेत शारीरिक खेलको बिकास र उत्थानमा गरेको योगदानको कदर गर्दै सन् २०१० र २०१९ मा दुईपटक बिश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस महासंघबाट स्वर्ण पदकबाट उनी बिभुषित भएका छन् । अष्ट्रियाका महावाणिज्य दुत तथा मनकामना दर्शन प्रा लि का संचालक र चितवन कोइका प्रवन्ध निर्देशक समेत रहेका राजेशबाबु श्रेष्ठले आफु शारीरिक सुगठन खेल भन्दा पृथक क्षेत्रको भएता पनि यस संस्था खेल र खेलाडीको बिकासमा जसरी तन मन र धन दिएर नेतृत्वदायी भुमिका निर्वाह गरेका छन्, जसको जति नै प्रशंसा गरे पनि कम नै हुन्छ । उनको नेतृत्वमा नेपाल शारीरिक सुगठन तथा फिटनेश सङ्घको यस अबधिलाइ नेपाली शारीरिक सुगठन खेलको स्वर्णकाल भन्दा अत्युक्ति नहोला ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार