ताजा अपडेट »

आशालाग्दो खेलाडी ललित

आइतबार, ०७ मंसिर २०७७, १८ : ००
4 Shares

ललित धिमालको जन्म २०४४ सालमा पिता सूर्यबहादुर र आमा कलमाया धिमालको पहिलो सन्तानको रुपमा जन्म भएको हो । निम्न आर्थिक अवस्था भएको परिवारमा जन्मेका ललित बाल्यकालदेखि नै खेलकुद रुचि राख्दथे । युवावस्थामा प्रवेश गर्दा नगर्दै उनी शारीरिक सुगठन खेल तर्फ आकर्षित भए । प्रारम्भिक अवस्थामा बयलगाडाको धुराबाट बनाएको घरेलु बारबलबाट व्यायाम गर्ने गरेको उनी बताउँछन् ।

वि.सं. २०६१ सालतिर देखि भने Multi Gym उर्लाबारीमा व्यायाम गर्न थाले । उनले आफ्नो व्यायाम प्रशिक्षकका रूपमा राज लिम्बुलाई मान्छन् । कमजोर आर्थिक अवस्था भएका कारण व्यायामशाला बुझाउनुपर्ने सामान्य शुल्क समेत उनले ज्याला मजदुरी काम गरेर कमाएको पैसाबाट बुझाउने गरेको उनी बताउँछन् । उनका आमाले उनलाई जिम नगर्न पटक–पटक भन्दा समेत उनमा व्यायाम प्रतिको मोह कम भएन । उनको बडिबिल्डङ्ग क्यारियरको शुरुवात २०६३ सालमा एलाइनेट जिम धरानको आयोजनामा भएको प्रथम बुढासुब्बा शारीरिक सुगठन प्रतियोगिताबाट भएको थियो । जसमा उनी ६० केजी तौल समूहमा छनौट चरण पार गर्दै पाचौं हुन सफल भए ।

आर्थिक अवस्था थप जर्जर हुँदै जाँदा पारिवारिक जोहो टार्न उनी विदेशिने निर्णयमा पुगे । वि.सं. २०६५ सालमा उनी वैदेशिक रोजगारीको सिलसिलामा आबुधाबी पुगे । अत्यन्त जोखिमपूर्ण मानिने Scaffolding मा काम गर्न थाले । दैनिक १२ घण्टा कामकाज गर्नपर्ने मुगलानमा समेत उनले केही समय व्यायामका लागि निकाले । विदेशको अनुभव सुनाउँदै उनी भन्छन्, ‘हामीले नेपालमा बसेर सपना देखे जस्तो सहज नहुने रहेछ विदेशमा । त्यहाँ थोरै पैसाको लागि जोखिमपुर्ण काम गर्नुपर्ने बाध्यता आइलाग्ने रहेछ ।’ यसरी केही वर्ष आबुधाबीमा बिताएपछि उनले साउदी अरविया जाने निर्णय लिए । यही क्रममा उनको चिनजान बर्दियाका लाल बहादुरसँग भयो । जसले ललितलाई दमाम स्थित अक्सिजन जिम साउदीमा Fitness Trainer का रुपमा काम गर्ने भिसा मिलाइदिए । साउदी अरबमा काम गर्ने दैरानमामा ललितले आफ्नो जिमका मालिकको मन जित्न सफल भए ।

खाईलाग्दो र मिलेको ज्यान भएका धिमालले पक्कै पनि शारीरिक सुगठनमा केही गर्नसक्ने सम्भावना देखेर उनले ललितलाई स्थानीय प्रतियोगिताहरु खेल्ने अनुमतिका साथै उचित वातावरण समेत मिलाई दिए । यही क्रममा उनले साउदी अरेबियामा आयोजना भएको शारीरिक सुगठन प्रतियोगिताहरुमा भाग लिए । दुबईमा भएको पध्रौं फुरजहाँ शारीरिक सुगठन प्रतियोगितामा उनी सहभागी भएर दोस्रो स्थान लिन सफल भए । अजमान शारीरिक सुगठन प्रतियोगितामा उनी तेस्रो हुन सफलता पाए । बहराइनमा भएको चौथो फ्ल्याक्स स्पोट्स च्याम्पियनसिपमा उनी दोस्रो हुन सफल भए । बिचमा नेपाल आउँदा समेत उनले शारीरिक सुगठन खेलका प्रतियोगिताहरुमा भाग लिँदै गए ।

वि.सं. २०६७ सालमा एलाइनेट जसको आयोजना भएको तेस्रो मिष्टर कोशी शारीरिक सुगठन प्रतियोगितामा ७० केजीमा प्रतिस्पर्धा गर्दै दोस्रो हुन सफल भए । सोही वर्ष आयोजना भएको मिष्टर पुवाञ्चल प्रतियोगितामा ६५ केजी तौल समूहमा तेस्रो भए । ०६८ सालमा भएको मिष्टर पुर्वाञ्चल प्रतियोगितामा ७० केजी तौल समूहमा चौथो स्थानमा चित्त बुझाए । वि.सं. २०७५ सालमा नेपाल व्यायाम मन्दिरबाट आयोजित पन्ध्रौं धर्मश्री शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौल समूहमा दोस्रो स्थान हात पार्न सफल भए ।

वि.सं. २०७५ सालमा नै NFB द्वारा आयोजित दोस्रो मिष्टर एभरेष्ट राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनशिपमा ७५ केजी तौल समूहमा दोस्रो स्थान हात पार्न सफल भए । सोही सालमा पोखरामा सम्पन्न तेस्रो बुल्समैन राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितामा ८० केजी तौल समूहमा दोस्रो स्थान हात पार्न सफल भए । सोहि साल मै एलाइनेट जिमको आयोजनामा भएको दोस्रो नेपाल च्याम्पियन शारीरिक सुगठन प्रतियोगितामा उनी ७५ केजी तौल समूहमा विजेता बन्दै उपाधि समेत कब्जा गर्न सफल भए । वि.सं. २०७६ सालमा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले आयोजना गरेको मिष्टर काठमाडौं खुला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता उनी ७५ केजी भन्दामाथिको बजन समुहमा प्रथम हुन सफल भए । सोही सालमा कपिलवस्तुमा आयोजित कपिलवस्तु श्री खुला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको उनले उपाधि कब्जा गर्न सफल भएका थिए ।

ललितले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताहरुमा समेत आफ्नो उल्लेखनीय उपस्थिति दर्ज गर्न सफल भएका छन् । सन् २०१५ मा हङ्गकङ्कमा आयोजित Mr. Olympia Asian Amateur Bodybuilding Championship मा सहभागिता जनाएका थिए। सन् २०१८ मा नेपालमा आयोजना भएको प्रथम दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा उनी ८० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दै कास्यपदक प्राप्त गर्न सफल भएका थिए । हाल उनी बिर्तामोडस्थित ग्यालेक्सी फिटनेसका सञ्चालक समेत हुन् । हिजोआज समेत उनमा रहेको शारीरिक सुगठन खेल प्रतिको मोह दिनानु दिन बढ्दो क्रममा छ । उनी भन्छन्, ‘जीवनमा आउने समस्याहरु सँग डराएर भाग्ने होइन्, यसको सामना गर्न सक्नु पर्दछ । सफलता एक न एक दिन अवश्य हात पर्छ ।’

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार