ताजा अपडेट »

सरकारी जागिर छाडेर खेलमा रमाएका कमल

शनिबार, ०६ मंसिर २०७७, २१ : ३८
4 Shares

कमल भण्डारीको जन्म वि.सं. २०४० चैत्र ४ गते ढिकुर पोखरी- ९, कास्कीमा भएको थियो । वि.सं. २०५६ सालमा राष्ट्रिय मावि पोखराबाट उनले एसएलसी परीक्षा उतिर्ण गरि पृथ्वी नारायण क्याम्पसमा अध्ययन गर्न थाले । बुबाको सल्लाह अनुसार कमल कराँते खेल्न थाले । वि.सं. २०५८ साल तिर साथी सुनिल पौडेलसँग मिलेर आफ्नो घरमा नै सिमेन्टको ब्लक लिएर व्यायाम गर्न थाले । पछि दाजु राजु कार्कीले नयाँ बसपार्कस्थित आफ्नै घरमा खोलेको व्यायामशालामा कमल जान थाले ।

वि.सं. २०६१ सालतिर कमलले पोखरा व्यायामशालाको सदस्यता लिए । उनको शारीरिक सुगठन तर्फको पहिलो प्रतियोगिता वि.सं. २०६२ सालमा आयोजना भएको तेस्रो मिष्टर पोखरा थियो । जसमा उनी ५५ केजी तौल समुहमा तेस्रो हुन सफल भएका थिए । छोरोले पहिलो प्रतियोगिताबाट नै राम्रो नतिजा ल्याएको देखर उनका पिता असाध्यै खुशी भएका थिए । बुबाको अनुहारमा देखिएको चमकले कमललाई खेलमा लाग्न थप हौसला मिल्यो । त्यही क्रममा कमलको चिनजान पोखराका शारीरिक सुगठन खेलका अग्रज खेलाडी शंकरमान उदाससँग भयो । जसले पोखरामा रत्नश्री नामक जिम संचालन गर्थे ।

वि.सं. २०६२ सालमा शंकरमान उदासले कमललाइ काठमाडौंमा नेपाल व्यायाम मन्दिरको आयोजना भएको दसौ धर्मश्री खुला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितमा भाग लिन लिएर गए । त्यहाँ कमलले पहिलो पटक राष्ट्रिय स्तरका खेलाडीहरु देख्ने अवसर पाए । उनीहरुको मिलेको र बलिष्ठ शरीर देखेर आफुले पनि अब त्यस्तै शरीर बनाउने प्रण गरे । वि.सं. २०६५ सालमा काठमाडौंमा नै आयोजना भएको पाचौँ राष्ट्रिय खेलकुद अन्तर्गत बाह्रौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितमा भाग लिए । आफ्नो बजन समुहमा दोस्रो स्थान हात पर्न सफल भए ।

वि.सं. २०६८ साल तिर कमल कला क्षेत्रमा तिर लागे । केही म्युजिक भिडियोहरु अभिनय गरेका कमललाई क्रमशः चलचित्रहरुमा समेत अफरहरु आउन थाल्यो । उनको प्रथम चलचित्र अन्तिम ग्रहण थियो । उनी पल्टन, नबोले नि हाँसी राख न, ओम, नाइके, सडक र गन्तव्य जस्ता झन्डै दर्जन बढी नेपाली चलचित्रहरुमा उनले आफ्नो अभिनयकला दर्शक सामु प्रस्तुत गरेर आफुलाई अब्बल कलाकारका रुपमा कला क्षेत्रमा स्थापित गराइ सकेका छन् ।

कमल करिब ढेड वर्ष वैदेशिक रोजगारीका शिलशिलमा मलेसिया समेत पुगे । त्यहाँ उनले कम्प्युटर हार्डवेयर सम्बन्धिमा काम गर्न अवसर पाए । परदेशको बसाईले उनलाई नेपालमा नै केहि गर्नुपर्छ भन्ने पाठ सिकायो । उनी नेपाल फर्किए । पुनः आफु पनि जिम गर्दै अरु साथीभाईहरु पनि सिकाउन थाले । स्थानीय सरकारी स्कुल कन्या माध्यमिक विद्यालयमा लेखापाल पदमा नियुक्ति समेत लिए । दिनभर सरकारी जागिर बिहान साँझ रत्नश्री जिममा ट्रेनरका रुपका कामकाज गर्ने थाले ।

उनको शारीरिक सुगठन खेल यात्रा समेत निरन्तर चलि रह्यो । वि.सं. २०७० सालमा नेपालगञ्जमा आयोजित चौधौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितमा उनी ६० केजी तौल समुहमा तेश्रो भए । २०७३ साल उनका लागि निकै महत्वपुर्ण रहेको उनी बताउँछन् । त्यहि साल उनले ५ वटा प्रतियोगिता स्वर्ण पदक जित्ने अवसर पाए ।

- २०७३ भाद्र १८ पश्चिमाञ्चल स्तरीय तेस्रो मिष्टर माछापुच्छ्रेमा ६० केजीमा स्वर्ण पदक ।

- २०७३ पुष ४ गते पश्चिमाञ्चल स्तरीय छैठौ मिष्टर पोखरामा ६० केजीमा स्वर्ण पदक ।

- पोखरामा सम्पन्न दोस्रो बुल्ल्स्मेन प्रतियोगितामा ५५ केजी तौल समुहमा सहभागी हुँदै स्वर्ण पदक ।

- चौधौ धर्मश्री खुला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितमा ५५ केजी तौल समुहमा नै सहभागी हुँदै स्वर्ण पदक ।

- छैठौ मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितमा ५५ केजी तौल समुहमा सहभागी हुदै स्वर्ण पदक जिते ।

कमलले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताहरुमा समेत आफ्नो उल्लेखनीय उपस्थिति दर्ज गर्न सफल भएका छन् । सन् २०१७ मा दक्षिण कोरियामा आयोजित ५१ औं एशियाली शारीरिक सुगठन प्रतियोगितमा पुरुष ५५ के जी तौल समुहमा उनले सहभागिता जनाउन अवसर पाए । जसमा उनी कास्य पदक जित्न सफल भए । त्यही साल नै मंगोलियामा भएको नवौ विश्व शारीरिक सुगठन प्रतियोगितमा उनले ५५ केजी तौल समुहमा सहभागिता जनाएका थिए । सन् २०१८ भारत पुणेमा आयोजित ५२औ एशियाली शारीरिक सुगठन प्रतियोगितमा समेत उनि सहभागी भए ।

सन् २०१९ मा नेपालमा आयोजित १२ औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितमा कमलले पुरुष ६० केजी तौल समुहमा रजत पदक हात पार्न सफल भएका थिए । खेल क्षेत्रबाट नै उनले तेस्रो टि.भि.एस पोखरा स्पोर्ट्स अवार्ड २०७४ मा बर्ष उत्कृष्ट खेलाडीको उपाधिसँगै उनले मोटरसाइकल समेत हात पारेका थिए । हाल उनी पोखरा- ७, शान्तनगर स्थित रत्नश्री जिमका सञ्चालक समेत हुन् । कमल डाईट नेपालका उत्पादनहरुका ब्राण्ड एम्बोस्ड्रर पनि हुन । जीवनमा सबैभन्दा रमाइलो क्षण संझदै उनी भन्छन, "दक्षिण कोरियाबाट ५१ औ एशियाली शारीरिक सुगठन प्रतियोगितमा कास्य पदक जितेर पोखरा फर्कने क्रममा हजारौं पोखरेली जनसागरले स्वागत गर्दै र्याली सहित नगर परिक्रमा गराएको पल म जीवनमा कहिल्यै बिर्सन सक्दिन् ।"

कमल हिजोआज समेत जिममा बिहानदेखि साझँसम्म आफु जस्तै प्रतिभावान खेलाडी जन्माउन प्रयासरत छन् । कमल भन्छन्, "मानिसको जीवनमा सबैभन्दा ठुलो कुरा भनेको नै स्वास्थ्य हो । खेलमा नै आफ्नो भविष्य बनाउने उद्देश्यले खाइरहेको सरकारी जागीर पनि छोडे । तर, म खुशी नै छु । परिवार र साथीभाईको मायाले नै आज यो ठाउँ सम्म आई पुगेको छु । जन्मपछि मृत्यु अवस्यभावी छ, तर आफ्नो जीवनकालमा नै अझै केही राम्रो काम गरेर देखाउने चाहना छ ।" उनले सारा नेपालीलाई स्वास्थ्य राख्ने उद्देश्यका साथ BE-FIT नामक संस्था खोलेर सुगठित शरीर बनाउने विभिन्न तालिम कार्यक्रमहरु सञ्चालन समेत गर्ने गरेको बताउँछन् ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार