ताजा अपडेट »

नेपाली लि प्रिष्ट घिमिरे

विहीबार, २७ कार्तिक २०७७, १८ : ३०
2 Shares

पिता तेजनाथ र माता इन्द्रकुमारीका माइला सन्तानका रुपमा जीवन घिमिरेको जन्म वि.सं. २०२६ सालमा कास्की जिल्लाको पोखरा नदीपुर भन्ने ठाउँमा भएको थियो । सानैदेखि शारीरिक स्फुर्ति मन पराउने जीवनले २०३८ सालतिर दाजु प्रकाश घिमिरे र छिमेकी दाजु दिपकराज पराजुलीको सल्लाहमा महेन्द्रपुल स्पोर्टस क्लबमा जिम गर्न जान थाले । निकै परिश्रमी स्वभावका घिमिरे व्यायाम गरेको छोटो समयमै निकै आकर्षक र बलिष्ठ शरीर बनाउन सफल भए ।

शारीरिक सुगठन खेल पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका जीवनले प्राप्त गरेका उपलब्धीहरु यसप्रकार रहेका छन्।

-वि.सं. २०४९ सालमा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा भएको नवौं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ५५ केजी तौल समूहमा सहभागिता जनाउँदै कांस्य पदक प्राप्त गर्न सफल भएका थिए ।

-वि.सं. २०५१ सालमा धरानमा आयोजित दशौं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ५५ केजी तौल समूहमा सहभागीता हुँदै स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए ।

-वि.सं. २०५२ सालमा नेपाल शारीरिक सुगठन संघद्वारा आयोजित प्रथम मिस्टर हिमालय प्रतियोगितामा ५५ केजी तौल समूहमा रजत पदक ल्याउन सफलता हात पारे ।

-वि.सं. २०५५ सालमा नेपाल व्यायाम मन्दिरबाट आयोजना भएको छैठौं धर्मश्री राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ५५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दै चौथौ भए ।

-वि.सं. २०५५ सालमा आयोजित काठमाडौं कप शारीरिक सुगठन प्रतियोगितामा ५५ केजी तौल समूहमा चौथो स्थान प्राप्त गरेका थिए ।

-वि.सं. २०५७ सालमा सातौं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता मा ५५ केजी तौल समूहमा रजत पदक प्राप्त गर्न सफल भए

-वि.सं. २०५७ सालमा नेपालमा आयोजना भएको दोस्रो दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता जुन काठमाडौंमा सम्पन्न भएको थियो सो प्रतियोगितामा ५५ केजी तौलबाट प्रतिस्पर्धा गर्दै काँस्य पदक प्राप्त गर्न सफल भएका थिए । जसमा नेपालले टिम च्याम्पियनको उपाधि समेत प्राप्त गर्न सफल भएको थियो ।

-वि.सं. २०५८ सालमा भएको आठौं धर्मश्री प्रतियोगितामा ५५ केजी तौल समूहमा तेस्रो स्थान प्राप्त गर्न सफल भए ।

-वि.सं. २०६५ सालमा एघारौं धर्मश्री शारीरिक सुगठन प्रतियोगितामा ५५ केजी तौल समूहमा छैठौं स्थान प्राप्त गर्न सफल भए ।

जीवन घिमिरे वि.सं. २०५२ सालदेखि शारीरिक सुगठन सहायक प्रशिक्षकका रूपमा राष्ट्रिय खेलकुद परिषदमा जागिरे भए । घिमिरे शारीरिक सुगठन खेलाडी भएर खेल मात्र खेलेनन् । आफु जस्तै अन्य खेलाडीका लागि पेल्टफर्म पनि तयार गर्नुपर्छ भन्दै आफ्नै संयोजकत्वमा २०५४ सालमा प्रथम मिष्ट्रर पश्चिमाञ्चल तथा मिष्ट्रर पोखरा शारीरिक सुगठन प्रतियोगिताको आयोजना गरेका थिए । जसमा केही विवादका कारण मिस्टर पश्चिमाञ्चल प्रतियोगिता स्थगित भएको थियो ।

मिन गुरुङ्ग मिष्ट्रर पोखराको उपाधि जित्न सफल भएका थिए । हाल घिमिरे नेपालीज फेडरेसन अफ बडिबिल्डिङ एन्ड फिटनेस (NFBF) अन्तर्गतका राष्ट्रिय निर्णायक समेत छन् । पोखरा (NFBF) अन्तर्गतको जिल्लासंघको उनी प्राविधिक सल्लाहकार समेत हुन् । (NFBF) अन्तर्गत जिल्ला संघ कास्कीका अध्यक्ष राजकुमार थापा घिमिरेकाबारे चर्चा गर्दै भन्दछन्, ‘वास्तवमा पोखरा जिल्लामा शारीरिक सुगठन खेल भित्र्याउने र यसको प्रचारप्रसार गर्ने श्रेय जीवन घिमिरे गुरुलाई जान्छ । उहाँले पोखराबाट प्रतिनिधित्व गर्दै लामो समयसम्म शारीरिक सुगठन खेलको खेलाडीको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँनुका साथै पोखरेली शारीरिक सुगठन खेलाडीहरूका लागि एक सफल उदाहरण बन्नुभएको छ ।’

घिमिरे आफ्नो जीवनको सबैभन्दा सुखद क्षणको रुपमा धरानमा आयोजित दशौं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेको पललाई मान्छन् । जीवन आफ्नो जिम प्रशिक्षकका रुपमा शारीरिक सुगठनका अग्रज खेलाडी घनश्याम मुखियालाई मान्दछन् । नयाँ पुस्तालाई सुझाव दिँदै उनी भन्छन्, ‘शारीरिक र मानसिक तन्दुरुस्तीका लागि व्यायाम गर्नु जरुरी छ । शारीरिक व्यायाम गर्दा सम्यमता र गहनता दुवै जरुरी हुन्छ । मांसपेशीसँग मस्तिष्कको समन्वयका आधारमा मात्र शारीरिक सुगठनमा सफलता हात लाग्छ । शारीरिक सुगठनका खेलाडीले आफूले लिने गरेको आहारका आधारमा मात्र व्यायाम गर्नु पर्छ । व्यायाम र आहारको उचित सन्तुलनले मात्र सुन्दर र सुगठित शरीरको कल्पना गर्न सकिन्छ ।’

जीवन घिमिरेलाई उनको शारीरिक सुगठन खेलमा पुर्याएको योगदानको कदर गर्दै विभिन्न संघ संस्थाले सम्मान समेत गरिसकेको छ । खेलकूद पत्रकार मञ्च कास्कीले यस वर्षको पोखरा स्पोर्टस् अवार्डमा शारीरिक सुगठन खेल तर्फ वर्ष उत्कृष्ट प्रशिक्षकका रुपमा उनलाई सम्मानित समेत गरेको थियो । जिल्ला खेलकुद विकास समिती कास्कीले समेत उनलाई सम्मान गरेको छ । जीवनलाइ आफ्ना शारीरको सबै शारीरिक पोजहरु मध्ये Front Lat Pose सबैभन्दा मन पर्छ ।

उनको खेलयात्राको कालखण्डमा उनले प्रतियोगिताहरुमा देखाउने Cobra Pose निकैनै चर्चित थियो । धेरै मान्छेले आज पनि होचो कद तर मिलेको शारीरिक बनावटका कारण उनलाई विश्व चर्चित बडीबिल्डर लि प्रिष्टसँग उनको तुलना गर्दै उनलाई नेपाली लि प्रिष्टको नाममा चिन्दछन् ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार