ताजा अपडेट »

नाम जस्तै बुद्धिमान बुद्धिजङ्ग

शुक्रबार, २१ कार्तिक २०७७, १९ : ००
4 Shares

बुद्धिजङ्ग कार्की शारीरिक सुगठन खेलमा चर्चा कमाएका खेलाडी हुन् । उनको जन्म पाल्पाको तिनाउ गाउँपालिकामा भएको थियो । कलिलो उमेरदेखि नै उनले पाल्पा जिम सेन्टर तानसेनमा व्यायाम गर्न शुरु गरे । पुर्व मिष्टर लुम्बिनी समेत रहेका जीवन गिरीले सञ्चालन गरेको ओलम्पियन जिम सेन्टरको आयोजनामा वि.सं. २०५४ सालमा कृष्णनगरको लक्ष्मी चलचित्र मन्दिरमा भएको प्रथम मिष्टर पश्चिमाञ्चल शारीरिर सुगठन प्रतियोगिता उनको पहिलो प्रतियोगिता थियो । जसमा उनी ६५ केजी बजन समुहमा दोश्रो हुन सफल भए ।

वि.सं. २०५५ सालमा लुम्बिनी जिम सेन्टर सिद्धार्थनगरमा आयोजना भएको मिष्ट्रर लुम्बिनी शारीरिक सुगठन प्रतियोगिताको उपाधि लिन उनी सफल भए । वि.सं. २०५६ सालमा अग्रज खेलाडी ज्ञानेन्द्र नकर्मीले सञ्चालन गरेको ठमेल फिजिकल फिटनेशको आयोजनामा भएको राष्ट्रव्यापी खुला बेञ्च प्रेस प्रतियोगितामा उनी प्रथम स्थान हासिल गर्न सफल भए । ०५९ साल देखि ०७३ सालसम्म उनले नेपालको पाचँ तारे होटल रेडिसनमा फिटनेस एक्जिक्युटिभ भएर समेत कामकाज गरे । वि.सं. २०६३ सालमा नेपाल व्यायाम मन्दिरबाट आयोजित ११ औ धर्मश्री शारीरिक सुगठन प्रतियोगितामा उनी ७५ केजी तौल समुहमा सहभागी भई रजत पदक पाउन सफल भएका थिए ।

वि.सं. २०६४ सालमा तानसेनमा आयोजित पश्चिमाञ्चल स्तरिय क्षत्रिय शारीरिर सुगठन प्रतियोगितामा उनले सबै प्रतिस्पर्धाहरुलाइ पन्छाउँदै मिष्टर पाल्पाको उपाधि जितेका थिए । सन् २०१४ भारतको नयाँ दिल्लीमा भएको अन्तराष्ट्रिय पावर लिफ्टिङ्ग प्रतियोगितामा उनले पुरुष सिनियर तर्फ रजत पदक हासिल गर्ने सफल भएका थिए । सन् २०१७ मा भारतको नयाँ दिल्लीमा नै भएको विश्व पावर लिफ्टिङ्ग च्याम्पियनसिपमा ९० केजी बजन मास्टर समुहबाट प्रतिस्पर्धा गर्दै स्वर्ण पदक प्राप्त गर्ने सफलता हात पारे ।

हाल उनि केही साथीहरुसंग मिलेर सतुंगलमा फिट्नेस फस्र्ट नामक जिमका सञ्चालन गर्दै आफु जस्तै प्रतिभावान खेलाडी उत्पादन गर्न निरन्तर प्रयासरत छन् । स्नातक उत्तिर्ण गरेका कार्की हिजोआज समेत दैनिक डेढ घण्टा भन्दा बढी समय जिममा पसिना बगाउने गर्छन । शारीरिक सुगठन खेलका अघिल्लो पुस्ता घनश्याम मुखिया भन्छन्, ‘कार्की निकै मेहनती खेलाडी हुन् । उनको पाखुरामा कठिन बजन उठाउन सक्ने गजबको सामथ्र्य छ ।’ खाईलाग्दो ज्यान भएका कार्की प्रोटिन हाउस साइट्रेक न्युट्रिसन तथा पोषक सातु उत्पादनका ब्रान्डका ब्रान्ड एम्बेसडर पनि हुन् ।

काठमाडौं जिल्ला शारीरिक सुगठनका सचिव तथा व्यायाम व्यवसायी संघ काठमाडौंका वरिष्ठ उपाध्यक्ष समेत रहेका कार्की शारीरिक सङ्गठन खेलका लुम्बिनी अञ्चलका शानको रुपमा चिनिन्छन् । कार्कीको प्रशंसा गर्दै उनका बारेमा काठमाडौं जिल्ला शारीरिक सुगठनका अध्यक्ष सुरेश सुवेदी भन्छन्, ‘मैले बुद्धि सरसँगै सहकार्य गरेको झण्डै ५ बर्ष भयो । यस बीचमा हामीले मिलेर ४ वटा मिस्टर काठमाडौं प्रतियोगिता सफलता पुर्वक सम्पन्न गरि सकेका छौं । हाम्रा सबै प्रतियोगिता सफल हुनुमा उहाँको जुझारुपन र लगनशीलताका साथै निरन्तर सल्लाह सुझावले समेत महत्त्वपूर्ण भुमिका निर्वाह गरेको छ । उहाँको शारीरिक सुगठन खेलको लामो अनुभवबाट मैले धेरै कुरा सिक्ने अवसर पाएको छु । उहांको सहयोगी भावना र समाजिक सेवा भावबाट म अत्यन्त प्रभावित छु ।’ उनले GMSA एकेडेमीबाट चौथो लेभल ट्रेनिङ समेत लिएका छन् ।

वि.सं. २०७१ सालमा नेपाल शारीरिक सुगठन तथा फिटनेसको संघ अन्तर्गत राष्ट्रिय निर्णायकको लाइसेन्स लिएका उनले २०७५ सालमा अन्तराष्ट्रिय जजको लाइसेन्स समेत प्राप्त गरेका छन् । उनको यस खेल प्रति समर्पण भावको कदर गर्दै रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघबाट कदर पत्रले पनि उनी सम्मानित समेत भइसकेका छन् ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार