November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

किसानलाई बाली भित्र्याउने चटारो

378

मेशिनबाट धान काट्दै किसान : मेशिनबाट धान काट्दै ओखलढुङ्गाको टोक्सेलका एक किसान । गाउँपालिकाको सहयोगमा गाउँमा आधुनिक मेशिन उपलब्ध गएपछि पहाडका किसानले पनि मेशिनको प्रयोग गरेर बालीभित्र्याउन थालेका छन् । तस्बिर :पूर्णप्रसाद न्यौपाने/रासस

गाउँघरमा कामको माचो छ । पर्वको याममा किसान भने बेफुर्सदिला छन् । जेठ–असारमा लगाएको बाली भित्रयाउने चटारो छ । कोही खेतमा धान काटिरहेका देखिन्छन्, कोही बारीमा कोदो । कतिले त धान भित्राएर गहुँ छरिसकेका छन् । वर्षाले साथ दिएपछि यो वर्ष चाँडै रोपाइँ भएको थियो । अधिकांश किसानले तीनबाली हुने खेतको धान त दशैँ अगावै भित्राइसकेका थिए । ती खेतमा छिटो पाक्ने धान लगाइन्छ । दुई बालीको खेतमा भने अलि ढिलो गरी धान पाक्छ । धान भित्राइ सक्दानसक्दै बारीमा कोदो पनि पाकेको गलकोट नगरपालिका–७ मल्मका किसान तुलाराम खड्काले बताए।

दशैँको भोलिपल्टैबाट खेताला लगाएर कोदो काट्न शुरु गरेको उहाँको भनाइ छ । यसपालि चाडबाड पछि सरेकाले कामको मेसो पनि सँगसँगै पर्न गएको किसान बताउँछन् । गलकोट नगरपालिका, कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले गलकोटमा झण्डै १५ प्रतिशत मात्र धान काट्न बाँकी रहेको बताए । “यहाँ रोपाइँ पनि छिट्टै हुन्छ र कटान पनि”, उनले भने, “धान भित्राएका किसान गहुँ र्छनमा व्यस्त छन् ।” कालो पोके रोगले धानबालीमा केही असर पुर्याएपनि मौसम अनुकूल परेकाले उत्पादनमा ठूलो ह्रास नआएको प्रमुख सुवेदीको भनाइ छ ।

धान काट्दै महिला : तनहुँको व्यास नगरपालिका–५ साँगेमा धान काट्दै महिला । जिल्लाका अधिकांश स्थानमा धान पाकेपछि कृषक धान काट्न व्यस्त छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस

किसानले स्थानीय जातको सट्टा वर्णशङ्कर धान लगाउन थालेपछि दोब्बर बढी उत्पादन दिन थालेको उनले बताए। गलकोटको मजुवा जिल्लामै धेरै धान फल्ने फाँट हो । गलकोटसहित कुश्मीसेरा, खरबाङ र बुर्तिबाङलगायतका भेगमा चाँडै रोपाइँ हुने भएकाले बाली पनि छिटै पाक्छ ।अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिकालगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ, धान पनि पछि पाक्छ । जिल्लाको कुल ६ हजार १ सय २२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार यहाँ प्रतिहेक्टर तीन मेट्रिक टन धान उत्पादन हुन्छ । उन्नत र वर्णसङ्कर जातको धान खेती विस्तार हुँदै गएको छ । बढी फल्ने भएपछि किसान स्थानीय रैथाने जात छाडेर वर्णसङ्करतिर आकर्षित हुन थालेका छन् । किसानले खेती प्रणालीलाई विस्तारै परिवर्तन गर्दै लगेका छन् । खेतबारी जोत्न ‘मिनिटिलर’ हलो प्रयोग गर्ने बढेका छन् । खेतको धान, पराल बोक्न पनि ट्याक्टरको प्रयोग हुन थालेको छ । किसानले गोरु पाल्न छाडेको प्रमुख सुवेदीले बताए।

ताकममा धान भित्र्याउँदै : म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा धान भित्र्याउँदै कृषक र पृष्ठिभूमिमा देखिएको गुर्जा हिमाल । तस्बिर : सन्तोष गौतम /रासस

रोपाइँदेखि, गहुँ, मकै, कोदोलगायतका बाली लगाउँदा पनि ‘मिनिटिलर’ हलोकै प्रयोग हुन थालेको उनको भनाइ छ । आधुनिक प्रविधिले पम्परागत खेती प्रणालीमा ठूलो परिवर्तन ल्याएको छ । खेती लगाउँदा लागत कम लाग्ने, झण्झट नहुने, श्रम र समयको पनि बचत हुने भएकाले किसान उन्नत प्रविधितर्फ आकर्षित भएका हुन् । गाउँघरमा खेताला, कामदार पनि पाइन छाडेका बेला आधुनिक औजार, उपकरणले किसानलाई राहत मिलेको छ । ‘मिनिटिलर’ हलोको माग बढेपछि केही किसानले आफ्नै लगानीमा हलो किनेर कृषिको यान्त्रीकरणमा टेवा पुर्याइरहेका छन् ।

पछिल्लो अपडेट