ताजा अपडेट »

चौथो मिस्टर हिमालय विजेता (२०६९) : तपस्वी रामबहादुर

सोमबार, ०३ कार्तिक २०७७, २० : ००
8 Shares

ज्ञान प्राप्त गर्न वर्षौ तप गर्ने ऋषिहरूका बारेमा त हामी धेरैले सुनेका छौं तर शरीर राम्रो बनाउन भनेर वर्षौं व्यायाम रुपि कठोर तपस्या गर्ने खेलाडीहरूको बारेमा केहीलाई मात्र थाहा छ । यस्तै खेलाडी हुन्, राम बहादुर दाहाल । फूलमाया र महेन्द्रबहादुर दाहालको माइँला छोराका रुपमा २०३५ सालमा सप्तरी जिल्ला मेहुलीको मनहरापुर भन्ने ठाउँमा उनको जन्म भएको थियो ।

उनले जनचेतना माध्यमिक विद्यालयबाट कक्षा आठसम्मको औपचारिक शिक्षा लिएका छन् । उनको पहिलो जिम धरान स्थित राजभक्त प्रधानांगद्वारा सञ्चालित धरान फिजिकल फिटनेश थियो । उनको पहिलो शारीरिक सुगठन प्रतियोगिता २०५५ सालमा धरानमा NC Youth Club द्वारा आयोजित Junior Classic Bodybuilding Championship थियो । उक्त प्रतियोगितामा उनी ६० केजी तौल समूहबाट प्रथम हुँदै उपाधि कब्जा गर्न सफल भए । उतिबेला दाहाल लगातार धेरै शारीरिक सुगठन प्रतियोगिताका उपाधि विजेता बनेका छन् । जस्तैः २०५७ मा मिस्टर कोशी, २०६० मा मिष्टर हमदर्द र २०६१ मा मिस्टर सगरमाथा, ६३ सालमा मिस्टर बुढासुब्बा ।

२०५७ मा मिस्टर पूर्वाञ्चल प्रतियोगितामा ६० केजी तौल समूहमा प्रथम हुँदै फाइनलमा उपविजेता हुन उनि सफल भएका थिए । बडी विल्डिङ उपाधि जित्न थाले पछि उनी माथि प्रहरीको नजर पर्यो ।
उनलाई तत्कालीन सशस्त्र प्रहरीका आइजीपी कृष्णमोहन श्रेष्ठको आग्रहमा नेपाल प्रहरीमा जागिर दिएर खेल्न राखियो । उनले प्रहरीका तर्फबाट ६ वर्ष बडी विल्डिङ प्रतियोगितामा सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गरे । विवाह प्रश्चात घरायसी कारणले जागिर छोड्नु परेको उनी बताउँछन् ।

वि.सं. २०५८ र ०५९ सालमा नेपाल व्यायाम मन्दिरबाट आयोजित आठौं र नवौ धर्मश्री राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा दुवै पटक ५५ केजी वजन समूहमा सहभागी भई क्रमशः दोस्रो र प्रथम स्थान हुँदै Body या Year को पदवी समेत प्राप्त गर्न सफलता पाए । उनले धर्मश्री वडी विल्डिङ प्रतियोगितामा दुई पटक फष्ट रनरअपको उपाधि समेत उचालेका छन् । वि.सं. २०६२ सालमा नेपाल जिम सिद्धार्थनगरबाट आयोजित ड्युरो फ्लाक्स मिष्टर नेपाल शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तौल समूहमा रजत पदक प्राप्त गर्न सफल भए । ०६३ सालमा आयोजित मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगितामा ५५ केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गर्न सफल भए ।

वि.सं. २०६९ सालमा नेपाल शारीरिक सुगठन तथा फिटनेश सङ्घको आयोजनामा भएको चौथो मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा उनी विजेता बने । मुलुकभरबाट ७२ जना सहभागी भएको सो प्रतियोगिताको फाइनल चरणमा ३५ जनाबीच प्रतिस्पर्धा गराउँदा ५५ केजी तौल समूहबाट सुजन तामाङ, ६० केजी तौल समूहबाट सचित प्रधान, ७० केजी तौल समूहबाट श्याम श्रेष्ठ, ७५ केजी तौल समूहबाट महेश्वर महर्जन र ८० केजी तौल समूहबाट तिलकबहादुर तामाङ समूहविजेता भएका थिए । सबैलाइ पछि पार्दै रामले ६५ केजी तौलसमूहमा स्वर्ण पदक जित्दै, उपाधि उनले कब्जा गरे ।

वि.सं. २०७१ सालमा पोखरामा आयोजित प्रथम बुल्समेन शारीरिक सुगठन प्रतियोगिताको समेत उपाधि उचाले । राष्ट्रिय खेलकुद परिषदद्वारा ७२ सालमा आयोजित १५ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी तौल समूहबाट मिष्टर नेपालको पदवी प्राप्त गरे । २०७३ सालमा आयोजित प्रथम नेपाल च्याम्पियन प्रतियोगितामा उनी ६५ केजी तौल समूहबाट विजेता बन्दै Overall को उपाधि लिए । ललितपुरमा २०७६ मा आयोजित नेपाल क्लासिक प्रतियोगिताको उपाधि समेत उनले कब्जा गरेका थिए । प्रायः ६० देखि ७० केजी तौल समूहका प्रतियोगितामा भाग लिने गरेका रामले अहिलेसम्म उपाधिविहीन हुनु परेको छैन । उनी जहाँ जान्छन् कुनै न कुनै उपाधि हात पारेर मात्रै फर्किन्छन् ।

राम दाहालले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाए । सहभागिता मात्र नभई उनले देशलाई थुप्रै अन्तर्राष्ट्रिय पदक समेत दिलाएका छन् । २०६९ सालमा भारतको लुधियानामा भएको नवौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी तौल समूहमा रजत पदक प्राप्त गर्न सफल भएको उनी बताउँछन् । २०७५ सालमा काठमाडौंमा आयोजित प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा ७० केजीमा स्वर्ण पदक हासिल गरेका थिए ।त्यहीसाल चिनमा आयोजित ५३ औं एसियाली शारीरिक सुगठन प्रतियोगितामा उनी पाँचौं स्थान प्राप्त गर्न सफल भए । वि.सं. २०७६ सालमा भारतको औरंगाबादमा आयोजित डाइमन्ड कप शारीरिक सुगठन प्रतियोगितामा उनले ६० केजीमा स्वर्ण पदक प्राप्त गर्न सफल भए । हाल उनी झापाको बिर्तामोडमा बडी ग्यारेज नामक जिम सञ्चालन गरिरहेका छन् ।

खेलको माध्यमबाट देशलाई विश्व सामु चिनाउन सकिने मान्यता बोकेका राम अझै पनि जिममा पसिना बगाउदै गरेको भेटिन्छन् । वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को फाइभस्टार होटल र्याडिसनमा १० वर्षसम्म बडी विल्डिङ प्रशिक्षकका रुपमा काम गरेका रामलाइ विदेशी नागरिकले आफ्नै देशमा केही गर्न सुझाएपछि उनी अन्ततः नेपाल फर्किएका थिए । रामलाई आफ्नो शारीरिक पोजहरु मध्ये Most Muscular / Abdominal Muscle मनपर्छ ।

उनी खानामा विशेष ध्यान दिन्छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर उत्कृष्ट बनेका राम दिनहुँ २५ वटा अण्डा, एक केजी मासु र २ सय ग्राम मात्र अन्न खान्छन् । बिहान ४ बजे उठेका उनले ९ वजे १० वटा अण्डा, १२ वजे २ सय ग्राम खाना र १० वटा अण्डा सेवन गर्छन् भने साँझ ६ बजे आधाकेजी कुखुराको वोयल मासु अनि सुत्ने बेलामा आधाकेजी मासु हरियो सागपात र ५ वटा अण्डा सेवन गर्दै सुत्ने गरेको बताए । तथापी माछाको झोलसँग भात उनलाई औधी मनपर्छ ।

जीवनका अत्यन्त रमाइलो क्षणका रुप उनले दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक जित्दाको पललाई मान्दछन् । तर सोही खेल तयारीको क्रममा डाइट खान श्रीमतीको गहनाहरु समेत बिक्री गर्ने अवस्था आइ पर्यो । विगतको तीतो अनुभव बताउँदै गर्दा उनी भावुक बने । रामको विचारमा यो खेलमा खानपिनमा नै बढी खर्च हुन्छ । प्रतियोगिताको तयारीका क्रममा लाखौं रुपैयाँ खर्च हुने उनी बताउँछन् ।

शारीरिक सुगठन खेलका लागि राज्यले हेर्ने दृष्टिकोण खासै राम्रो नभएको उनको बुझाई छ । केबल क्रिकेट र फुटबल बाहेक अन्य खेलको विकासमा राज्यको खासै ध्यान पुग्न नसकेको देख्दा उनलाई दिक्क लाग्छ । २०५५ सालदेखि आजका मितिसम्म अहिर्निस रुपमा शारीरिक सुगठन खेलमा समर्पित राम दाहाल हजारौं यस खेलमा भविष्य देख्ने युवाहरुका लागि प्रेरणाका स्रोत हुन् ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार