ताजा अपडेट »

चौधौं धर्मश्री विजेता (२०७३) : अर्जुन वर्णवाल

शुक्रबार, ३० असोज २०७७, १९ : ३०
4 Shares

अर्जुन वर्णवालको जन्म वि.सं. २०४० सालमा पर्सा जिल्लाको वीरगञ्ज शहरमा भएको थियो । सानैदेखि खेलकुदमा रुची लिने अर्जुनले खेलजीवनको सुरुवात जुडो खेलबाट गरे । उनी पर्सा जुडो डोजाङ्गसँग आबद्ध थिए । उनले जुडो खेलको ब्ल्याकबेल्ट सम्मको ग्रेडिङ हासिल गरेका थिए । कुशल गुरु राजेश कर्माचार्यको प्रशिक्षणमा अर्जुनले जुडो खेलको राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक समेत प्राप्त गरिसकेको उनी बताउँछन् ।

उनले यसै खेलबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागी भइसकेका छन् । जुडो खेल्ने क्रममा शारीरिक सामथ्र्य बढाउन जिम धाउने क्रममा उनलाई शारीरिक सुगठन खेल तर्फ मोह जागृत भयो । वीरगञ्जमा बिजेन्द्र शाहले खोलेको फिजिकल फिटनेस जिममा वर्णवालले बिहान सवेरै झोला लिएर पसिना बगाउन थाले । स्थानीय अग्रज मकसुद आलमको प्रेरणाले उनलाई शारीरिक सुगठन खेलमा लाग्न थप हौसला मिल्यो । उनको पहिलो शारीरिक सुगठन प्रतियोगिता वीरगञ्जमा आयोजित Mr.Brigunj थियो । जसमा उनले सहभागी भएर उपाधि समेत जित्न सफल भए । सन् २००१ मा आयोजना भएको Mr.narayani शारीरिक सुगठन प्रतियोगिताको समेत उनले उपाधि चुम्ने सफलता प्राप्त गरे ।

उनको सपना नेपालको Mr. Olympia को नामले चिनिने धर्मश्रीको उपाधि जित्नु थियो । त्यसका लागि उनले निरन्तर सातौं धर्मश्री देखि १४ औँ धर्मश्री सम्म लगातार सहभागिता जनाए । उनको सपना १४ औं संस्करणको धर्मश्रीले मात्र पुरा गर्यो । अन्तत्वगत्व उनी सालमा नेपाल व्यायाम मन्दिरबाट आयोजित भएको उक्त प्रतियोगिताको ८० केजी तौलमाथिको समूह आफ्नो समुहमा विजेता बन्दै १४ औ धर्मश्रीको उपाधि हात पार्न सफल भएका थिए । उक्त प्रतियोगितामा अर्जुनले ८० केजी तौलका बिजेता महेश्वर महर्जनलाई पछि पार्दै उपाधि जितेका थिए ।

अर्जुनले उपाधिसँगै नगद पाँच लाख सहित ट्रफी, प्रमाणपत्र र व्यानेट प्राप्त गरे । महेश्वरले दुई लाख रुपैयाँ प्राप्त गर्दा झापाका ७५ केजी तौल समूहका बिजेता उमेश राईले तेस्रो स्थान हासिल गर्दै एक लाख प्राप्त गरे । उपविजेताहरु क्रमशः रामहरि खनाल चौथो (७० केजी), रामबहादुर दाहाल पाँचौं (६५ केजी), सञ्जीवकुमार श्रेष्ठ छैटौं (६० केजी) र कमल भण्डारी सातौं (५५ केजी) स्थानमा रहे ।उनीहरूले क्रमशः ८०, ७५, ६० र ५० हजार रुपैयाँ हात पारे । त्यही वर्ष वुल्समेन क्लबको आयोजनामा पोखरामा भएको दोस्रो मिस्टर वुल्समेन राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि अर्जुन वर्णवालले जितेका थिए । उपाधिसँगै उनले नगद एक लाख ५५ हजार ५५५ र ट्रफी प्राप्त गरेका थिए । वर्णवालले शारीरिक सुगठन खेलको राष्ट्रिय प्रतियोगिता मात्र होइन अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत आफ्नो सहभागिता जनाएका छन् ।

सन् २०१६ मा नै हङकङमा आयोजित ArnoldÚs Classic शारीरिक सुगठन प्रतियोगितामा उनी सहभागी भएर आफ्नो बजन समुहमा छैठौं स्थान हासिल गरे । हाल उनी Muscle Pharma ब्राण्डको सप्लिमेन्टको वितरक तथा फिटनेश स्टुडियो नामक जिमका सञ्चालक छन् । उनी भन्छन्,“ एक सफल बडिबिल्डर बन्नका लागि उसको genetics अर्थात् आनुवांशिक गुण राम्रो हुन जरुरी हुन्छ, उसले आफ्नो मांसपेशीहरुलाई राम्रोसंग बुझ्न जरुरी हुन्छ ।

आफ्नो शरीर मांसपेशीहरुसँग कुरा गर्न जान्नु पर्दछ । व्यायाम गर्दा मष्तिकसंग मांसपेशीहरु तारतम्य हुन जरुरी हुन्छ ।" विदेशमा बडिबिल्डरहरु राम्रो देखिन थाले देखि नै प्रायोजकहरु भेटिन्छन् तर नेपालमा भने त्यसको कल्पना अझैपनि टाढा रहेको उनको भनाइ छ ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार