ताजा अपडेट »

विश्वविजेता महेश्वर महर्जन

विहीबार, २९ असोज २०७७, १९ : ००
10 Shares

पछिल्लो समय महेश्वर महर्जन भन्ने नाम नेपाली शारीरिक सुगठन खेलको पर्यावाची भएको छ । सुगठित बलिष्ठ शरीर बनाउँन चाहाने युवाहरुका लागि उनी रोलमोडल बनेका छन् । आज हामी तिनै रुचीलाई सपनामा ढाल्न सफल महेश्वर महर्जनका बारेमा चर्चा गर्दैछौ । महेश्वरको जन्म वि.सं. २०४० सालमा काठमाडौं– १९ ढोकाटोलमा भएको थियो । मध्यम वर्गीय किसान परिवारमा जन्मेका महेश्वर महर्जनको शारिरीक बनावट निकै पातलो थियो । ज्यान पातलो भएकै कारण विद्यालयमा साथीहरु बीच हासोको पात्र बनेको कुरा उनलाई अझै याद छ ।

उनको पसल अगाडी रहेको अरुणोदय माविको एउटा सानो कोठा स्थानीय युवाहरुले व्यायामशाला सञ्चालन गर्ने गर्थे । किशोरावस्थादेखि नै खेलकूदमा विशेष रुची राख्ने महेश्वर क्रमशः त्यही व्यायामशाला तिर आर्कषित भए । परिवारको कमजोर आर्थिक स्थिति, नकारात्मक सामाजिक बुझाई र आमाको दवाबका कारण महेश्वरलाई शारिरीक सुगठनमा लाग्न धेरै गाह्रो परेको थियो । घरायसी जोहो मिलाउन कक्षा ९ मा अध्ययनसंगै प्रिन्टङ्ग प्रेसमा काम गर्न थाले । प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण गरेपछि महर्जन नरदेवी स्थित युनिभर्सल जिम तिर लागे । व्यवस्थापन विषयमा स्नातक अध्ययन गरेका उनी वैदेशिक रोजगारीका शिलशिलामा साउदी र दुबईमा झण्डै पाँच वर्ष काम गरे ।

उनले विदेशमा रहँदा समेत उनले शारीरिक सुगठन खेलाडीले प्रतियोगिताको समयमा गर्ने तयारीहरुका बारेमा जानकारी लिने अवसर पाए । उनको बडीबिल्डङ्ग क्यारियरको शुरुवात नेपाल व्यायाम मन्दिरबाट आयोजित धर्मश्री प्रतियोगिताबाट भएको थियो । २०६२ सालमा भएको दशौं धर्म श्री राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितामा उनी ७० केजी तौल समूहमा प्रिजजिङ्ग चरण पार गर्दै पाचौं स्थान प्राप्त गर्न सफल भए । सोही प्रतियोगिता ०६९ सालमा भएको १२ औं संस्करणमा उनिले ७५ केजी तौल समूहमा प्रथम स्थान हासिल गरे । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा भएको २०६८ सालमा भएको चौथो मिष्टर हिमालय शारीरिक सुगठन प्रतियोगितामा महेश्वर ७५ केजी वजन समूहमा स्वर्ण पदक जित्न सफल भए।

वि.सं. २०७१ सालमा भएको १३ औं धर्मश्रीमा उनि ७५ केजी तौलबाट विजेता हुँदै उपाधि चुम्न सफल भएका थिए । २०७३ सालमा आयोजित सोही प्रतियोगिताको १४ औँ संस्करणमा समेत उनि ८० केजी तौल समूहमा प्रथम भए । वि.सं.२०७० सालमा राष्ट्रिय खेलकुद परिषदबाट नेपालगञ्जमा आयोजना गरिएको १४ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता र २०७२ सालमा काठमाडौंमा भएको पन्ध्रौं राष्ट्रिय प्रतियोगितामा लगातार दुई पटक सम्म ७५ केजी तौल समुहको मिष्टर नेपाल उपाधि हात पार्न सफल भए । बुल्समेन पोखराद्वारा २०७१ सालमा आयोजित प्रथम बुल्समेन प्रतियोगिताको ७५ केजी समुहमा विजेता बन्दै अन्तिम प्रतिस्पर्धामा उपविजेता बन्न सफल भए । सोही प्रतियोगिताको २०७३ भाद्रमा पोखरामा भएको दोस्रो संस्करणमा सोही बजन समूहका विजेता बन्न सफल भए।

उनले २०७२ सालमा हिमालयन किङ्गडम नेप्लिज बडीबिल्डिङ एसोसिएसनको आयोजनामा भएको प्रथम राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौल समूहबाट विजेता हँुदै उपाधि समेत कब्जा गर्न सफल भए । नेपालमा मात्र नभएर उनले अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा समेत आफ्नो उल्लेखनीय प्रदर्शन गरिसकेको महेश्वर बताउँछन् । उनी सन् २०१४ मा भारतको मुम्बईमा आयोजना भएको छैठौं विश्व बडीबिल्डङ्ग च्याम्पियनसिपमा सहभागी हुँदै सातौं स्थान प्राप्त गर्न सफल भए । सन् २०१५ मा थाइल्यान्डको बैंककमा सम्पन्न भएको सोहि प्रतियोगिताको सातौं संस्करणमा उनी ७० केजी तौल समूहबाट चौथौ स्थान प्राप्त गरे ।

उनी सन् २०१६ मा पाकिस्तानको लाहोरमा आयोजित ११ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा सहभागी भई कास्य पदक प्राप्त गर्न सफल भएका थिए । त्यस्तैगरी सन् २०१६ मा नै भूटानको थिम्पुमा भएको ५० औं एशियाली शारिरीक सुगठन प्रतियोगीताको स्वर्ण पदक जितेका थिए । उनको आफ्नो रुची प्रतिको निरन्तरताका कारण नै सन् २०१८ मा थाइल्यान्डको चिङ्गमइ शहरमा आयोजित दशौं विश्व बडीबिल्डङ्ग च्याम्पियनसिपमा उनी ७५ केजी तौल समुहबाट स्वर्ण पदक जित्दै मिष्ट्रर बल्ड बनेर ईतिहास रच्न सफल भए ।

महर्जनको झन्डै डेढ दशक भन्दा बढी शारीरिक सुगठन खेलमा समर्पित रुपमा लागि परे । करिब दुई दर्जन भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएका थिए । उनको शारीरिक सुगठनको खेल जीवनबाट लाखौं नेपाली युवाहरु उनका प्रशंसक बनेका छन् । धेरै युवा खेलाडीहरू विश्व च्याम्पियन महेश्वरको डाइट प्लानका बारेमा जानकारी लिन चाहान्छन् । डाइट प्लान मानिसको उचाई र तौलले निर्धारण गर्ने उनको भनाइ छ । शारीरिक सुगठन खेलाडीले एकैपटक धेरै खाना खानु भन्दा सन्तुलित तरिकाबाट पटक पटक खानुपर्ने उनको सुझाव छ ।

उनको यस खेल प्रति समर्पण भावको कदर गर्दै नेपाल शारीरिक सुगठन तथा फिटनेश संघ लगाएतका विभिन्न संस्थाहरु उनलाई सम्मान समेत गरिसकेका छन् । महेश्वर मलेसियामा Professional International Excellency Award 2019 बाट विभूषित भइसकेका छन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय तथा रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघबाट ५ र ५ लाख नगद राशी सहित कदर पत्रबाट उनी सम्मानित समेत भइसकेका छन् ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार