ताजा अपडेट »

आठौं धर्मश्री विजेता (२०५८) : तेजस्वी खेलाडी हरिस श्रेष्ठ

सोमबार, २६ असोज २०७७, १९ : ३०
18 Shares
सोमबार, २६ असोज २०७७
18 Shares

‘हावाको चाप जति बढी हुन्छ उतीनै चंगा माथी उड्न सक्छ ।’ विन्स्टन चर्चिलका यि चर्चित भनाई शारीरिक सुगठनमा खेलाडी हरिस श्रेष्ठको जीवनसंग ठ्याक्कै मेल खान्छ ।

हरिसको जन्म भक्तपुर इनाचोको सामान्य वर्गको परिवारमा भएको थियो । उनको रुचि सानैदेखि खेलकुदमा थियो । २०४३ साल तिर हरिस श्रेष्ठ भक्तपुरमा विनेस जोन्छेले सञ्चालन गरिरहेको मशल बडी बिल्डिङ्ग जिमखानामा जान थाले । निकै मेहनती स्वभावका श्रेष्ठले दैनिक रुपमा ४ घण्टा भन्दा बढी समय जिममा पसिना बगाउँथे । उनले पहिलो आफ्नो शारीरिक सुगठनको प्रतियोगिता वि.सं. २०४५ सालमा मिष्टर भक्तपुर खेलेर गरे ।

वि.सं. २०४६ सालमा युवा श्री शारीरिक सुगठन प्रतियोगितामा समेत उनी सहभागी भए । पछि २०४८ साल तिर उनी नेपाल व्यायाम मन्दिर छिरे । हरिस व्यायाम गर्ने समय अत्यन्त उच्च महत्वकांक्षी रहेको उनका समकक्षीहरु बताउँछन । उनले आफुले उठाउन सक्ने भार क्षमता भन्दा निकै धेरै उठाउन कोशिस गर्दै दुई तिन जना साथीहरुसंग सपोर्ट माग्ने गर्थे । साथीहरु हरिसले अब गरुङ्गो बजन उठाउन सपोर्ट माग्छ है भन्दै भागाभाग गर्ने गर्थे । निकै मेहनती स्वभावका हिरस भक्तपुरदेखि नेपाल व्यायाम मन्दिरको ज्याठामा जिम गर्न जाँदा शरीर राम्रो बनाउने मोहमा प्रायः जसो उनी दौडेर नै आउने गरेको उनका साथीहरु सुनाउँछन् ।

राष्ट्रिय खेलकूद परिषद् वि.सं. २०४९ सालमा काठमाडौंमा नवौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ७० केजी तौल समूहबाट स्वर्ण पदक जितेर मिष्टर नेपालको उपाधि जित्न सफल भए । नृत्यका औधी सौखिन हरिश प्रतियोगिताहरुमा म्युजिकल राउण्डमा उनको नृत्यशैलीमा गर्ने प्रस्तुतीले खेल हेर्न आएका दर्शक मात्र होइन उनका प्रतिस्पर्धीहरु र निर्णायकहरु समेत दंङ्ग पर्ने गरेको अग्रज रमेश खनाल बताउँछन् । आफ्ना सपनाहरुलाई पछ्याउँदै उनी वि.सं. २०५१ सालमा धरानमा आयोजित दशौं प्रतियोगिता पनि उनी मिष्टर नेपाल भए ।

वि.सं. २०५१, ०५२ र ०५३ सालमा सम्पन्न भएको मिष्टर एभरेष्ट तीन वटा संस्कारणको विजेता भइ ह्याट्रिक गर्न उनी सफल भए । उनले वि.सं. २०५२ साल र ०५३ सालमा भएको मिष्टर काठमाडौंको उपाधि हात पारे । त्यहि साल भएको नेपाल शारीरिक सुगठन संघको अयोजनामा भएको पहिलो मिस्टर हिमालय प्रतियोगितामा उनी उपाधि उचाल्न सफल भए । वि.सं. २०५९ सालमा भएको मिस्टर सगरमाथा उपाधि हासिल गर्न सफल भए ।

वि.सं. २०५८ सालमा भएको सातौं राष्ट्रव्यापी धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि चुमे । त्यहि साल भएको मिष्टर बागमति शारीरिक सुगठन प्रतियोगितामा उनी प्रथम हुन सफल भए । यहि क्रममा उनले नेपाल प्रहरीमा जागिरे भए । वि.सं.२०५८ सालमा नै माल्दिभ्समा भएको तेश्रो दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा उनले ६० केजी तौल समुहमा स्वर्ण पदक प्राप्त गरेका थिए ।

वि.सं. २०५९ सालमा भएको मिष्टर सगरमाथाको उपाधि विजेता भए । ०५९ सालमा भएको धर्मश्री शारीरिक सुगठन प्रतियोगितामा ७० केजी तौल जसमा स्वर्ण पदक जिते । वि.सं. २०६४ सालमा भएको एघारौं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ७० केजी तौल समूहबाट स्वर्ण पदक जितेर मिष्टर नेपालको उपाधि हासिल गर्न सफल भए । हरिसलाई केही कुरा गर्न उकासी दिदाँ गरि हाल्न हठ गर्ने स्वभावका रहेको शारीरिक सुगठनका पुराना खेलाडी तथा निर्णायक प्रतापकाजी बरिया बताउँछन् ।

धरानमा आयोजित दशौं राष्ट्रिय प्रतियोगिता सकाएर फर्कने क्रममा काठमाडौंबाट गएका खेलाडी र निर्णायक टोली एउटै बसमा परे । बीचमा सबैको मनकामना दर्शन गर्न जाने सल्लाह अनुसार आबु खैरानी होटलमा बास बस्ने निधो भयो । होटलबाट परिपट्टि ठुलो न ठुलो अग्लो घुमाउरो डाँडा रहेछ । टोली मध्ये कसैले हाँसो मजाक गर्दै हरिसलाई त्यो डाँडा चड्न हौसाएर यदि त्यसो गरेमा १० हजार दिने कुरा गरेछन् । श्रेष्ठ चड्न डाँडा तयारी शुरु गर्दै हिड्न थाले । पछि उनलाई रोक्नै धेरै गाह्रो परेको प्रतापकाजी बताउँछन् ।

हरिस नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ अन्तर्गत राष्ट्रिय निर्णायक छन् । उनले खेलाडी कै रुपमा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए । हाल उनी सब इन्स्पेक्टर पदमा कार्यरत भई महेन्द्र पुलिस क्लबले सञ्चालन गर्न जिममा प्रशिक्षकका रुपमा नियमित रुपमा प्रशिक्षण दिई आफू जस्तै खेलाडी उत्पादनमा सक्रिय छन् ।

दुखेसो गर्दै उनी भन्छन्, ‘म भन्दा कनिष्ठ पदका साथीभाई बढुवा भएर उच्च पदमा पुगिसकेका छन् । देशका लागि अन्तर्राष्ट्रिय पदक जितेर विदेशी भूमिमा नेपालको राष्ट्रिय झण्डा फहराउन सफल खेलाडी म भने झन्डै डेढ दशक भन्दा बढी सब इन्स्पेक्टर पदमै बढुवाको पर्खाइमा दिन गनि रहेको छु ।’

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार