ताजा अपडेट »

तिलोत्तमाका बाढी तथा डुबान पीडितलाई राहत दिन मापदण्ड तय

शनिबार, १७ असोज २०७७, १४ : ३५
6 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले असोज ९ गते राति आएको बाढी तथा डुबानबाट पीडित परिवारलाई राहत दिन मापदण्ड तय गरेको छ । स्थलगत अवलोकनपछि वातावरण तथा विपद् व्यवस्थापन समितिले तयार गरेको राहत वितरण मापदण्डलाई कार्यपालिका बैठकले अनुमोदन गरेको हो । मापदण्डअनुसार संकलित लगतको आधारमा केही दिनभित्रै राहत वितरण गरिने नगरपालिकाले जनाएको छ ।

असोज ९ गते राति भारी वर्षासँगै आएको बाढी तथा डुबानबाट वडा नं. ११, ८, ७, १, १२ लगायतका वडाहरु सबैभन्दा बढी प्रभावित भएका थिए । सुखौरा तथा रोहिणी नदी र सिँचाई नहर आसपासका बस्ती बाढी तथा डुबानबाट प्रभावित भएका हुन् । विपद् व्यस्थापन समितिको बैठकले कार्यपालिका सदस्य राधा शाही संयोजक, नगरसभा सदस्यद्धय नेत्र खनाल, यमबहादुर थापा तथा ईञ्जिनियर गिरीराज डुम्रे र सव–ईञ्जिनियर कमल खड्का सदस्य रहेको क्षति लगत संकलन उप–समिति गठन गरेको थियो ।

उप–समितिले बुझाएको प्रतिवेदनको आधारमा विपद् व्यवस्थापन समितिले राहत वितरण मापदण्ड कार्यपालिका बैठकमा पेश गरेको समिति संयोजक एवं नगर प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । मापदण्डअनुसार लत्ताकपडा, भाडावर्तन बगाएका पीडित परिवारलाई सात हजार, घर–गोठ आंशिक क्षति पुगेको परिवारलाई दश हजार, घर पूर्णरुपमा क्षति भएको परिवारलाई बीस हजार रुपैंयाँ राहत पाउने छन् ।

यस्तै गाईं भैसी मरेकोमा प्रतिगोटा पाँच हजार, बंगुर, बाख्रा मरेकोमा प्रतिगोटा पाँच सय रुपैंयाँ, धानबाली पूर्ण नष्ट भएकोमा प्रति विगाहा बीस हजार रुपैंयाँ राहत पाउने छन् । यसैगरी कुखुरा–हाँस ५० गोटासम्म तीन हजार, २५० गोटासम्म पाँच हजार, ५०० गोटासम्म सात हजार रुपैंयाँ राहत दिने मापदण्ड निर्धारण भएको छ ।

माछा पोखरीमा पुगेको क्षतिमा प्रतिपोखरी पाँच हजार रुपैंयाँ राहत दिनेगरी मापदण्ड निर्धारण भएको समिति संयोजक श्रीले जानकारी दिए । यसैगरी विभिन्न उद्योगधन्दामा पुगेको क्षतिमा पनि राहत दिइने उनले बताए । नदी कटान नियन्त्रण, व्यवस्थापन र अल्प तथा दीर्घकालीन रुपमा समस्या समाधानको लागि नगरपालिकाले प्रदेश तथा संघीय सरकारसँग माग गर्ने उनको भनाइ छ ।

असोज ९ गते रातिको बाढीबाट समस्यामा परेका नगरबासीको उद्धारको लागि मध्यरातमैं नगर प्रमुख बासुदेव घिमिरे लगायतका जनप्रतिनिधि, राजनीतिक दलका नेता, टोल विकास संस्थाका पदाधिकारी, समाजसेवी घटनास्थलमा खटिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।